ताजा अपडेट »

पुष्पलालको सम्झनामा सैनामैनामा वृक्षारोपण

विहीबार, ०७ साउन २०७८, २० : ३३
6 Shares

सैनामैना । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालकोे ४३ औं स्मृति दिवसको अवसरमा बिहीबार रुपन्देहीको सैनामैनामा वृक्षारोपण गरिएको छ । सो अवसरमा नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले कम्यूनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्याउन स्वर्गीय पुष्पलाल श्रेष्ठले अगाडि सारेका विचार अहिलेपनि सान्दर्भिक रहेको बताएका छन् । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

‘पुष्पलालका विचार, सिद्धान्त र आदर्श जीवनशैली अहिलेको पुस्ताले अनुसरण गर्न आवश्यक रहेकोमा जोड दिए । पुष्पलालले जुन विचार र उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो, सोही अनुरुप अहिलेका कम्यूनिष्ट पार्टीहरु अघि बढ्नसकेका छैनन् ।’उनले चिन्ता व्यक्त गरे ।ढकालले मुलकमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्न पुष्पलाल र वीपीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै अहिले पनि दलबीचको एकताबाट नै मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिने धारणा राखे।

स्वर्गीय पुष्पलाल र बि.पी.ले जुन राजनैतिक आदर्श र विचार स्थापित गरेको बताउँदै त्यो अहिलेपनि सान्दर्भिक रहेको तर, अहिलेका राजनैतिक दलहरुमा त्यो संस्कार क्रमशः अन्त्य हुँदै गएको बताए । उनले नेपालका सवै राजनैतिक दलहरुवीच एकता जरुरी रहेपनि दलहरुबीच झनै मतभेद, विवाद र असमझदारी बढ्दै गएको बताए ।

प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको यात्रामा संगै हिँडेका दलहरु अहिले भने सत्ताको दौडमा लागेको भन्दै सचेतक ढकालले अहिले फेरी दलहरुवीच एकता, सहमति र सहकार्य हुनुपर्ने धारणा राखे । सैनामैना नगरपालिकाले एक दिनको फरकमा पर्ने नेपालका दुई ठूला नेताको स्मृति दिवसमा बृक्षारोपण गरेर उच्च राजनीतिक संस्कार र भावना प्रदर्शन गरेकोमा प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रवहादुर कार्कीले पुष्पलाल र वीपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उनीहरुको स्मृतिमा वृक्षारोपण गरिएको बताए । उनले चुरे क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिदैँ वृक्षारोपणले बन संरक्षणमा लाग्न सवैलाई प्रेरणा मिल्ने विश्वास ब्यक्त गरे । पुष्पलालको आदर्श र सिद्धान्तलाई सबैले अनुसरण गर्नुपर्नेमा कार्कीको जोड छ । सो अवसरमा सैनामैना ५ बड्कापत्थरमा आँप र लिचीको एक हजार विरुवा रोपिएको थियो ।

बुधबार सैनामैना १० पानबारीमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा पनि अमला र कपुर लगायत गरी एक हजार विरुवा रोपिएको थियो । नगरपालिकाले साउन ६ र ७ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक वि.पी. कोइराला र कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मरणमा वृक्षारोपण गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।