ताजा अपडेट »

झापामा वरपीपल बचाउन नर्सरी अभियान

विहीबार, ०७ साउन २०७८, १३ : ०५
14 Shares

झापा । शीतल छहारी र धेरै अक्सिजन प्रदान गर्ने वनस्पतिका रूपमा परिचित वरपीपल मासिँदै गएपछि अर्जुनधारा नगरपालिका–१० का ८३ वर्षीय पर्शुराम कटुवाल यसको बचाऊ अभियानमा लागेका छन् । वरपीपल बा’ भनेर चिनिँदै आएका उनले विगत तीन वर्षदेखि यसको बिरुवा (नर्सरी) उत्पादन गर्दै आएका छन् । निजी नर्सरीमा हुर्किएका वरपीपलका बिरुवा उनले सित्तैमा उपलब्ध गराउँछन् । तर, बिरुवा लैजानेले हुर्काउन नसकेर बिरुवा मरेको थाहा पाएमा उनले प्रतिबिरुवा रु एक हजार जरिवाना तिराउने बताए ।

विगत तीन वर्षमा उनको निजी नर्सरीमा पाँच हजारभन्दा बढी वर, पीपलका बिरुवा हुर्किसकेका छन् । बचाऊ अभियान भएको कारण बिरुवा लैजानेसँग पैसा नलिएको उनको भनाइ छ । यहाँ उत्पादित वरपीपललगायतका बिरुवा झापाका विभिन्न स्थान, ताप्लेजुङ, पाँचचर, भोजपुर, बागलुङसमेत पुगेका छन् । अन्य बिरुवाजस्तो वरपीपलको नर्सरी सञ्चालन सजिलो छैन । वरपीपलको बिजन नउम्रिने हुँदा मान्छेको घर, जङ्गलका रुख, ढुङ्गाका काप आदिबाट खोजेर ल्याइएका बिरुवालाई नर्सरीमा मेहेनतका साथ हुर्काउन पर्दछ । “वरपीपलका दाना चराले खाएर बिस्ट्याएको अप्ठ्यारो स्थानमा मात्र नयाँ बिरुवा उम्रिन्छ”, उनले भने , “मान्छेको घरको छत, रुखका काप, ढुङ्गाको कापमा उम्रिएका बिरुवा खोजेर नर्सरी बनाएको छु ।”

उनले जिल्लाभरिबाट सङ्कलन गरेर ल्याएको बिरुवा प्लाष्टिकको बट्टामा माटो, मल भरेर नर्सरी बनाउने गरेको बताए । यसरी एउटा बिरुवा हुर्काउनका लागि रु ५०० सम्म खर्च लाग्ने गरेको छ । “व्यापार र नाफा गर्ने उद्देश्यले गरेको होइन, हिन्दू धर्ममा वरपीपललाई भगवान् मानिन्छ । यसको जर्गेना गर्दा आत्मसन्तुष्टि मिल्छ”, उनको भनाइ छ । वरपीपलको नर्सरी नै स्थापना गरेर निःशुल्क वितरण गर्दै आएपछि सराहना गर्दै डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०७७/७८ मा उहाँलाई रु ५० हजार अनुदान दिएको थियो । उनले नर्सरीको सम्पूर्ण खर्च निजी स्रोतबाट व्यहोर्दै आएका छन् ।

पछिल्लो समय सडक, मठमन्दिर र सार्वजनिक स्थानमा लगाइएका वरपीपलका बोटहरु मासिँदै गएका छन् । पुर्खाले धर्मकर्मको सोचले हुर्काएका वरपीपल चौतारी मासिँदै गएका छन् । वरपीपलले पर्यावरणीय सन्तुलन कायम गर्ने, अत्यधिक अक्सिजन उत्पादन गर्ने र हरियाली कायम राख्ने हुँदा मानव स्वास्थ्यका लागि महत्वपूर्ण मानिने डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ओम भट्टराईले बताए ।

उनले जिल्लाका सामुदायिक वनहरुलाई समेत वरपीपलका बिरुवाहरु रोप्न आग्रह गरिरहेको बताए । “अन्य जातका बोट बिरुवाका तुलनामा ठूलो र हरियाली हुने हुँदा धेरै चराचुरुङ्गीको बासस्थान र खानाको स्रोत हो पनि हो”, उनले भने, “यस्तो बहुमूल्य र बहुउपयोगी बिरुवा बिजनद्वारा नउम्रिने हुँदा वनले अनुदान नै दिएर अभियन्ता कटुवाललाई प्रोत्साहन गरेका हौँ ।”

रासस
लेखकको बारेमा
रासस