ताजा अपडेट »

भ्यूटावर अलपत्र पार्ने ठेकेदार ‘हुन्डी कारोबार’मा, साढे चार करोडको मुद्दा दायर

विहीबार, १६ साउन २०७६, १२ : ३५
4 Shares

साउन १६,
काठमाण्डौं । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबार गरी विदेशी विनिमय अपचलन गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएकामध्ये जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवाल समेत छन्।

काठमाडौँ भ्यूटावर निर्माणको ठेक्का पाएर अलपत्र छाडेका कम्पनीका सञ्चालक भेटवालमाथि यसअघि बैंकिङ कसुरमा पनि मुद्दा दायर भएको थियो। विभागले भेटवालसहित निशा गुरुङ, राजकुमार विष्ट तथा शिव विष्टमाथि मुद्दा दायर गरेको हो। विभागले चार करोड ६० लाख ४२ हजार ८५० रुपियाँ बिगो कायम गरेको छ। विभागले गुरुङले सिंगापुरमा रहेका आफन्तमार्फत काठमाडौँ भ्यूटावर निर्माण प्रयोजनका लागि भन्दै बैंकिङ प्रणाली बाहिरबाट रकम संकलन गरेको र गैरकानुनी रुपबाटै हुन्डीका माध्यमबाट विष्टद्वयको सहयोगमा भेटवालसँग मिलेमतो गरी विभिन्न व्यक्तिलाई वितरण गरेको आरोप लगाएको छ। 

विभागका अनुसार गुरुङ सञ्चालक रहेको अमिताभ मल्टि प्रपोज प्रालिले आन्तरिक राजस्व कार्यालयमा कारोबार नभएको शून्य विवरण देखाएको तर, कम्पनीको बैंक खातामा भने व्यावसायिक कारोबारका नाममा ठूलो रकम फेला परेको छ। यस्तो रकम बारम्बार जम्मा गर्ने र निकाल्ने समेत गरिएको विभागको अनुसन्धानबाट पुष्टि भएको छ। विभागले विभिन्न समयमा गरी चार करोड ६० लाख ४२ हजार ८५० रुपियाँ हुन्डी कारोबार भएको ठहर गरेको छ। विभागले विदेशी विनिमय नियमित ऐन अनुसार तीन गुणा जरिवानाको सजाय दाबी गरेको छ। कसुरमा ठहर भएमा तीन वर्षसम्म कैद हुन सक्नेछ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।