ताजा अपडेट »

रुपन्देहीको मर्चवारीमा बेथिति: चेक काटेर हाकिमको खल्तीमा

बुधबार, ०६ साउन २०७८, १२ : ४१
4 Shares

भैरहवा । मर्चवारी गाउँपालिका वडा नम्बर ४ का बुधई कुर्मि गाउँपालिकाको कार्यालय असार १७ गते देखी धाई रहेका छन् । आफ्नै गाउँमा बाटोमा माटो पाट्ने उपभोक्ता समितिको सचिव रहेका उनी काम सम्पन्न गरि सकेपछि सम्पूर्ण कागजपत्र मिलाएर भुक्तानीको लागी असार १७ गते गाउँपालिकाको कार्यालय पुगेका थिए । उधारोमा सामान ल्याई काम सम्पन्न गरे पनि उनले अहिले सम्म उक्त कामको भुक्तानी पाएका छैनन् ।

बुधई त एक सर्वसाधारण मात्र हुन । मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता समेत रहेका नारायण बहादुर यादव पनि गाउँपालिका धाएको धाई छन् तर अझै पनि उनकै वडाका कतिपय योजनाको भुक्तानी नभएको उनको गुनासो छ ।
आर्थिक वर्ष सकिएको पनि ६ दिन पुरा भएको छ । मर्चवारी गाउँपालिकाका कतिपय योजनाका उपभोक्ता समितिका पदाधिकारीले अहिलेसम्म उक्त काम गरे बापतको रकम भुक्तानी पाएका छ्रैनन् । उता गाउँपालिकाले बिनियोजन गरेका १ सय २६ वटा योजना सम्पन्न भई सकेको छन् । तर काम सम्पन्न गरि सकेको कतिपय उपभोक्ता समितिले उक्त चेक नै पाएका छैनन् ।

मर्चवारीमाई माटो ग्रेवल उपभोक्ता समितिका सचिव बुधई कुर्मिले १० लाख रुपैया बराबरको माटो पटान गर्ने काम सम्पन्न गरि गाउँपालिकाकै प्राविधिकले ९ लाख ७० हजार बराबरको कार्य सम्पादन मूल्यांकन गरेको जानकारी दिए । सबै कागजात पुरा गरि गाउँपालिकामा पेश गर्दा गाउँपालिकाले करकट्टि गरि ९ लाख ५३ हजार रुपैया भुक्तानी हुने भनि निर्णय गरेर चेक पनि बनाएको खबर उनले पाए । तर गाउँपालिका धाएको यतिका दिन भई सक्दा पनि अहिले सम्म पनि उक्त चेक उनको हातमा पर्न सकेको छैन । चेक र फाईल कार्यालयबाट नै गायब भएको उनको गुनासो छ ।

मर्चवारी गाउँपालिकामा सबै भन्दा समस्या अनुगमनकै रहेको सरोकारवालाहरुको भनाई छ । कर्मचारी र जनप्रतिनिधिको स्वार्थ बाझिदा गाउँपालिकाका सेवाग्राहीले पाउनु सम्म दुख पाएका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहेका गाउँपालिका प्रवक्ताले नै अनुगमन समितिको स्वार्थ बाझिएको आरोप लगाएका छन् । “प्राविधिक शाखाले काम सम्पन्न भई सकेको भनि प्रतिवेदन दिई सकेको छ, अब के कारणले अनुगमन समितिले सहि गर्दैनन्, त्यसको पछाडी के लुकेको छ ? हामी त्यही बुझ्न सकिरहेको छैनौ ।” यादवले दुखेसो पोखे ।

गाउँपालिका उपाध्याक्ष सुनिता कलवारको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत, सम्बन्धित वडाको वडा अध्यक्ष, योजना शाखा प्रमुख, ईन्जिनियर लगायत सदस्य रहेको अनुगमन समिति गठन गरिए पनि सबै जना आ–आफ्नै तरिकाले अलग अलग र पटक पटक गरि अनुगमन गर्दा उपभोक्ताहरु मारमा परेका छन् । गाउँपालिका उपाध्यक्षले अनुगमन बारे आफुलाई जानकारी नै नदिने र कर्मचारीहरु आफुखुशी अनुगमन गरेको र कर्मचारीले उपाध्यक्षले अनुगमनको लागी समय नदिएको आरोप लगाउने गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष कलवारले आफुले अनुगमन गरेको योजनाहरुको फेहरिस्त देखाउदै आफुलाई दबावमा पारी सहि गर्ने गरेको गुनासो गरिन । ९० वटा योजनाको अनुगमनमा सहि गरे पनि अहिले सम्म ४–५ वटा योजना मात्र प्रत्यक्ष रुपमा अनुगमन गरेको उनको भनाई छ । प्राविधिक शाखामा अनुगमनका लागी आउने निवेदनहरु नै लुकाउने गरेको उनको आरोप छ । “प्राविधिक शाखामा आउने निवेदन म कहाँ आउदै आउन्न अनि कसरी गर्ने अनुगमन ?” उपाध्यक्ष कलवारले गुनासो गरिन “साउन महिनामा कर्मचारीले अनुगमनका फाईल ल्याएर चाङ लगाईदिए, सहि नगर्ने हो भने उपभोक्ता समितिको भुक्तानी रोकिने भएकोले आँखा चिम्म गरेर अनुगमनमा सहि गरि दिए ।”

उपभोक्ताहरुले आर्थिक प्रलोभनमा परेर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले चेक नदिएको आरोप लगाई रहदा मर्चवारी गाउँपालिकाका प्रमुख अधिकृत लक्ष्मण अर्यालले भने काम नै सम्पन्न नभएको कारण चेक रोकेको बताएका छन् । उनले अधिकांश योजना सम्पन्न भई सकेकोले चेक प्रदान गरि सकेको भए पनि केही योजनाहरु विवादीत र काम सम्पन्न नभएकोले चेक रोकिएको स्विकार गरे ।

गत असारकै मितिमा चेक काटिए पनि कतिपय चेकहरु अझै पनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतकै कब्जामा रहेको छ । काम नै सम्पन्न नभई कुन आधारमा कार्यसम्पादन मूल्यांकन भयो वा के आधारमा चेक तयार पारियो र तयार भई सकेको चेक के कति कारणले आफैसंग राख्न मिल्छ भन्ने प्रश्नमा भने प्रमुख प्रशासकिय अधिकृतले टालटुले जवाफ फर्काएका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा