ताजा अपडेट »

३८ अर्ब बजेट आउने रुपन्देहीबाट १ सय ३७ अर्ब राजश्व

बुधबार, ०६ साउन २०७८, ११ : ४४
6 Shares

भैरहवा । आर्थिक बर्ष २०७७र०७८ मा रुपन्देहीमा रहेका संघिय कार्यालयहरुमा कुल विनियोजित बजेटको ९२ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा कुल ३८ अर्ब ७५ करोड ३७ लाख ५६ हजार २ सय १६ रुपैया बजेट तोकिएकोमा त्यस मध्ये चालु र पुजिगत गरि ९२ प्रतिशत अर्थात ३५ अर्ब ६६ करोड ५५ लाख ४२ हजार ५ सय ९३ रुपैया मात्र निकासा भएको छ ।

प्रमुख कोष नियन्त्रक शशिन्द्र खातीका अनुसार रुपन्देहीमा चालु खर्च तर्फ ३२ अर्ब ७२ करोड ४५ लाख २४ हजार ५ सय ५३ रुपैया बिनियोजन भएकोमा कार्यालयबाट ९५ प्रतिशत अर्थात ३१ अर्ब १८ करोड ५३ लाख ८५ हजार ७ सय ४७ रुपैया निकासा भएको छ । यस्तै पूंजिगत तर्फ ६ अर्ब २ करोड ९२ लाख ३१ हजार ६ सय ६३ रुपैया बिनियोजन भएकोमा त्यसको ७४ प्रतिशत अर्थात ४ अर्ब ४८ करोड १ लाख ५६ हजार ८ सय ४५ रुपैया निकासा भएको छ ।

गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाका सुरक्षा निकायले पूंजिगत खर्च तर्फ करिब सत प्रतिशत खर्च गरेका छन् । यस्तै बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन ईकाई बुटवलले पूंजिगत तर्फ बिनियोजित बजेट ६३ करोड ४० लाख रुपैया मध्ये ९९ दशमलव ९१ प्रतिशत अर्थात ६३ करोड ३४ लाख ७८ हजार ५ सय ६८ रुपैया खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीको तथ्यांकबाट देखिन्छ । यस्तै सडक डिभिजन बुटवलले पूंजिगत तर्फ बिनियोजित बजेट १ अर्व ९२ करोड ८५ लाख २९ हजार रुपैया मध्ये १ अर्ब ५६ करोड ८७ लाख ८२ हजार ६ सय २८ रुपैया अर्थात ८१ दशमलव ३५ प्रतिशत मात्र खर्च गर्न सकेको थियो ।

यस्तै शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले पूंजिगत तर्फ बिनियोजित बजेट ८ करोड ७२ लाख रुपैया मध्ये ३ दशमलव ६६ प्रतिशत अर्थात ३२ लाख रुपैया मात्र खर्च गर्न सकेको तथ्यांकबाट देखिन्छ । भैरहवामा निर्माणाधिन अवश्थामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा रहेको भन्सार कार्यालयको चालु खर्चको लागी ३६ लाख ८२ हजार रुपैया र पूंजिगत खर्चको लागी ३५ लाख रुपैया बिनियोजन भए पनि समयमै बिमानस्थल सुरु नभएको कारण उक्त बिनियोजित रकम खर्च नै हुन सकेन ।जिल्लामा पूंजिगत तर्फ केही कम खर्च भएको देखिए पनि राष्ट्रिय परिदृश्यमा भने यो सन्तोषजनक नै मान्न सकिने अवश्थामा रहेको कार्यालय प्रमुख शशिन्द्र खातीको भनाई छ ।

संघिय प्रतिनिधित्व गर्ने जिल्ला स्थित कार्यालयहरुमा पूजिगत तर्फ ७४ प्रतिशत मात्र खर्च भई रहदा लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ मा ९९ दशमलव ४२ प्रतिशत पूंजिगत खर्च गरेको दावी गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारले ईतिहास रचेको दावी गरेका छन् ।

अधिराज्य भरि नै लुम्बिनी प्रदेश सरकारले पूंजिगत खर्च तर्फ करिब सत प्रतिशत खर्च गर्न सफल भएको चौधरीको दावी रहेको छ । प्रदेश सरकारले चालु खर्चतर्फ ७७ दशमलव ५६ प्रतिशत र ९९ दशमलव ४२ प्रतिशत पूंजिगत खर्च गरि औषतमा ८८ दशमलव ७६ प्रतिशत बजेट तथा कार्यान्वयनमा गरि ईतिहास रचेको उनको भनाई थियो ।

उनले सडक, सिंचाई, पुल जस्ता पूर्वाधार निर्माण, कोभिड–१९ को नियन्त्रण र उपचार, प्रदेशको आवधिक योजना निर्माण र कार्यान्वयनमा उल्लेखनिय उपलब्धि हासिल भएको समेत बताए । यसको साथै महत्वपूर्ण कानूनहरुको निर्माण र कार्यान्वयन, २० बर्षे दिर्घकालीन योजना निर्माणको प्रक्रिया प्रारम्भ, लगानी सम्मेलनको बृहत तयारी, एक घर एक धारा जस्ता महत्वपूर्ण कार्यक्रमहरु गरिएको छ ।

खर्च गर्नलाई ३८ अर्ब ७५ करोड ३७ लाख ५६ हजार २ सय १६ रुपैया पाएको रुपन्देही जिल्लाले केन्द्रलाई १ खर्व ३७ अर्व भन्दा बढी राजस्व उठाएर पठाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले उपलब्ध गराएको तथ्यांक अनुसार रुपन्देहीबाट मात्र १ खर्ब ३७ अर्ब १ करोड १२ लाख ३३ हजार ७ सय ६४ रुपैया राजस्व असुल भएको छ ।

रुपन्देहीबाट सबै भन्दा बढी भैरहवा भन्सार कार्यालयले १ खर्ब १२ अर्ब ५५ करोड ४ लाख ९७ हजार २ सय ५८ रुपैया राजस्व असुल गरेको छ । यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्व ५१ करोड ८ लाख २९ हजार ३ सय १६ रुपैया र आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब १० करोड ८ लाख ४० हजार ९ सय २९ रुपैया राजस्व असुल गरेको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले १ अर्ब ३८ करोड ८६ लाख १ हजार १ सय ५ रुपैया, जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले ५ करोड ७१ लाख ४० हजार राजस्व उठाएको थियो । गत आर्थिक बर्षमा सबै भन्दा कम राजस्व जिल्ला कारागार भैरहवाले २५ रुपैया असुल गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा