ताजा अपडेट »

अब वितरण हुन लागेका कोभिड खोपबारे तपाईँले जान्नुपर्ने कुरा

बुधबार, ०६ साउन २०७८, १० : ४४
8 Shares

काठमाडौँ । कोरोनाभाइरस विरुद्धको खोप वितरणमा "बेथिति देखा परेको" गुनासो आइरहेका बेला सरकारी अधिकारीहरूले त्यसलाई व्यवस्थित गर्न "सुधारका कदमहरू चालिएको" बताएका छन्। काठमाण्डू उपत्यकासहित केही प्रदेशमा चलिरहेको खोप अभियानका क्रममा कतिपय खोप केन्द्रमा "अस्तव्यस्तता देखा परेको" गुनासोहरू आइरहेका छन्।

सोमवारदेखि ती केन्द्रहरूबाट अमेरिकी अनुदानमा प्राप्त एक मात्रा मात्र लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप पनि लगाउन सुरु गरिएको छ। अधिकारीहरूले चाहिँ "त्यस्ता गुनासालाई सम्बोधन गर्न आवश्यक कदम चालिएको" बताएका छन्।

जोन्सन एन्ड जोन्सन खोप कसले पाउँछन्?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूका अनुसार सोमवारदेखि लगाउन सुरु गरिएको जोनसन एन्ड जोनसन खोप "५० देखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध खोपको पहिलो मात्रा लगाउन बाँकी सबै नेपाली नागरिक"ले पाउनेछन्।

त्यस्तै "पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा बसोबास गर्ने शरणार्थी र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत सफाइ कर्मचारी"का लागि उक्त खोप वितरण गर्न थालिएको छ।

त्यस बाहेक जोनसन एन्ड जोनसन खोप अनिवार्य गरिएका राष्ट्रहरूमा जाने व्यक्तिहरूले पनि राहदानी र प्रवेशाज्ञाको प्रमाण देखाएर उक्त खोप लगाउन सक्ने बताइएको छ। अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत गत साता नेपाललाई १५ लाख खोप उपलब्ध गराएको थियो।

उक्त खोपले ५० देखि ५४ वर्षका १३ लाख नागरिक र अन्य तोकिएको समूहलाई खोप पुग्ने ठानिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताए। उनका अनुसार जोनसन एन्ड जोनसनको खोप लगाएपछि त्यसको 'साइड इफेक्ट' पनि देखिने भन्ने कुराहरू आएकाले "सुरुमा चिकित्सकको उपस्थिति भएको स्थानमा" मात्र लगाइएको छ।

"तर सोमवारको १९/२० हजार जनामा लगाउँदा अहिलेसम्म गम्भीर भएको रिपोर्ट आएको छैन," उनले भने। उनले अहिले प्राथमिक स्वास्थ्य केन्द्र भएका वा कोभिड अस्पतालहरू भएका नजिकका क्षेत्रहरूमा लगाइएको जानकारी दिए।

आगामी पाँच दिनभित्र चीनबाट थप ३२ लाख खोप

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार आगामी पाँच दिनभित्र चीनबाट दैनिक रूपमा गरी कुल ३२ लाख भेरोसेल खोप आउनेछ। मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, "(साउन) ६ गते नेपालबाट प्लेन गएर ७ गते, ८ गते र ९ गते हामीले खोप ल्याउँछौँ। त्यसरी तयार भएको छ। अब तत्कालै आउँदा ३२ लाख जति खोप आउँछ, लगातार दैनिक रूपमा आउँछ त्यो।" सरकारले चीनबाट ४० लाख मात्र खोप ल्याउने सम्झौता गरेको छ।

त्यो हरेक हप्तामा एक पटक गरी ल्याउने तय भएको थियो। सुरुको साता ८ लाख मात्रा खोप आए पनि त्यसपछिका हप्तामा भने खोप ल्याइएको थिएन। त्यसले गर्दा अहिले खोप अभियान चलिरहेका कतिपय जिल्लामा खोप अभाव देखा परेको गुनासो आउन थालेका छन्।

खोपका लागि उडान तालिका

आगामी पाँच दिनभित्र हरेक दिन उडान गरेर ठूलो मात्रामा खोप ल्याउन लागिएको सरकारी अधिकारीको भनाइ छ। खोप ढुवानीका लागि पहिले चीनमा साप्ताहिक उडान तालिका बनाएको नेपाल वायुसेवा निगमले पनि खोप दिने कम्पनीसँगको छलफल पछि उडान तालिका परिवर्तन गरिसकिएको जनाएको छ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले भने, "जुन समयमा फ्याक्ट्रीले दिने भनेको थियो त्यसमा केही परिवर्तन गरेको हुँदा यता हामीले पनि उडान तालिका परिवर्तन गर्न बाध्य भयौँ।" "अहिले हाम्रो तालिका भनेको जुलाई २१ तारिखमा गएको उडान २२ मा आउँछ र २२ मा गएको २३ मा आउँछ र २४ मा गएको २५ मा आउँछ। एकैचोटी तिनवटा लगातार उडान गरेर ३२ लाख ल्याउने हो। त्यसमा पहिले छुटेको दुई लाख मात्रा पनि हामी ल्याउँछौँ।"

खोप कार्यक्रम नियमित चल्ने

आगामी पाँच दिनभित्र ३२ लाख मात्रा खोप आउने भएपछि खोप कार्यक्रम नियमित चल्ने अधिकारीहरूले बताए। सह प्रवक्ता अधिकारी भन्छन्, "सकेसम्म भण्डारण केन्द्रहरूमा भण्डारण हुने अवस्था सिर्जना नहुने गरी हामीले खोप लगाउँदै धेरैभन्दा धेरै व्यक्तिलाई खोपको अभियानभित्र समेट्न सक्ने गरी हामीले योजना बनाएका छौँ।"

"केन्द्रीय भण्डारणहरू हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा भएका भण्डारण, टेकुमा भएको भण्डारण, पथलैयामा भएको भण्डारणहरूमा हामीले ठूलो सङ्ख्यामा खोप राख्न सक्ने गरी हामीले ठाउँ बनाइसकेका छौँ।" नेपालले पहिलो चरणमा खरिद गरेको बाहेक चीनले थप सहयोगका रूपमा १६ लाख मात्रा खोप दिने घोषणा गरिसकेको छ।

गत साता नेपालस्थित चिनियाँ राजदूतले घोषणा गरेको उक्त सहयोग बापतको खोप कहिले ल्याउने भन्ने चाहिँ निश्चित नभइसकेको अधिकारीहरूको भनाइ छ।

अब आउने खोपको प्राथमकितामा को-को?

अब आउने भेरोसेल खोप ५५ वर्ष भन्दा माथिका एक मात्रा पनि नलगाएका नागरिकहरूलाई प्रदान गरिने अधिकारीहरूले बताए। त्यस्तै विश्वविद्यालयका प्राध्यापक र शिक्षक, विद्यालयका शिक्षक तथा कर्मचारीले पनि उक्त खोप पाउनेछन्।

यसैगरी सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई तथा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरूले पनि खोप दिइनेछ। यात्राका लागि खोप अनिवार्य गरिएका देशमा जानुपर्ने नेपालीले पनि उक्त खोप पाउने डा. पोख्रेलले बताए।

उनले भने,"उनीहरूलाई प्रमाणका आधारका लगाइदिने हो।" पोख्रेलका अनुसार अहिले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप लगाउने काम भइरहेको छ। थप खोप आएपछि एकैसाथ सातवटै प्रदेशमा खोप लगाउने काम गरिने पोखरेलले जानकारी दिए।

खोपलाई व्यवस्थित गर्न के गरिएको छ?

खोप कार्यक्रममा 'बेथिति देखिएको' गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न कदमहरू चालिएको अधिकारीहरूको भनाइ छ। खोप दुरुपयोग भएको भन्नेबारे आफूहरूले पनि सुनेको बताउँदै अधिकारीहरूले केही नयाँ प्रावधानहरू लागु गरिएको बताए।

त्यस्तै गुनासोको उदाहरण दिँदै डा. पोख्रेलले भने, "मैले पनि सुनेको थिएँ- एउटै स्कूलले २७५ जना जनाको लिस्ट पठायो भन्ने जबकि उनीहरूका तलबमा काम गर्ने त्यत्रो सङ्ख्यामा कर्मचारी छन् कि छैनन्?"

"जथाभाबी स्कूलले सूची प्रदान गरेको हुँदा अब नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाबाट प्रमाणित भएको सूचीको आधारमा अथवा कर्मचारीले तलब भुक्तानी गरेको प्रमाणित कागजात पेस गर्नुपर्छ। त्यसको आधारमा मात्र पाइन्छ।" त्यस्तै सवारीसाधनका चालक र सहचालकका हकमा पनि प्रमाणित हुने कागजात र स्थानीय प्रशासन वा स्थानीय तहबाट प्रमाणित भएको हुनुपर्ने व्यवस्था गरिएको उनले बताए।

"अहिले हामीले तोकेको समूहभन्दा तल्लो उमेर समूहका धेरै मानिसहरू आउने र उमेर समूहकाले नपाउने अवस्था हुने भएकाले यस्तो व्यवस्था गरिएको हो," उनले भने। स्वास्थ्य मन्त्रालयले आइतवार र सोमवार स्थानीय प्रशासन र प्रदेश तथा स्थानीय तहका अधिकारीहरूसँग छलफल गरेरै नयाँ प्रावधानहरू लागु गर्न निर्देशन दिइसकेको उनको भनाइ छ।

अधिकारीहरूसँगको छलफलमा स्वास्थ्य सचिवले दिएको निर्देशनलाई उद्धृत गर्दै डा. पोखरेलले भने, "नेपाल सरकारले गरेको निर्णयको आधारमा नै हुनुपर्छ। चुहावट हुनुहुँदैन। अन्यथा घरघरमा लगेर खोप लगाउने प्रवृत्ति देखिएको छ भने त्यसलाई निस्तेज गर्नुपर्छ र कहीँ लाभको व्यवहार कसैले गरेको छ भने कडा कारबाही हुन्छ भनेर भनिएको छ।"

अहिलेसम्म कतिले खोप लगाए?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमवारसम्ममा करिब साढे ३० लाख जनाले विभिन्न खाले पहिलो मात्रा खोप लगाइसकेका छन्। नेपालमा हाल कोभिशील्ड, भेरोसेल र जोनसन एन्ड जोनसन गरी तीन खाले खोप उपलब्ध छ।

तर सोमवारसम्मको विवरणमा सोमवारैदेखि लगाउन सुरु गरिएको जोनसन एन्ड जोनसनको विवरण समेटिएको छैन। नेपालमा हालसम्म १८ लाख २८ हजारले कोभिशील्ड र १२ लाख ३८ हजारले भेरोसेलको पहिलो मात्रा लगाइसकेका छन्।

कोभिशील्डको दुवै मात्रा लगाउनेको सङ्ख्या ४ लाख ६० हजारभन्दा बढी छ भने भेरोसेल दुवै मात्रा लगाउनेको सङ्ख्या ६ लाख ७३ हजारभन्दा बढी पुगेका छन्।

पहिलो मात्रा कोभिशील्ड खोप लगाएकाले कहिले पाउँछन्?

अधिकारीहरूका अनुसार पहिलो मात्रा कोभिशील्ड खोप लगाएका ६५ वर्ष माथिका नेपाली नागरिकहरूले पनि अब "केही साताभित्रै" उक्त खोपको दोस्रो मात्रा पाउने सम्भावना रहेको छ।

डा. पोख्रेलले भने, "…आस्ट्राजेनेका आउन एक/दुई हप्ता लाग्छ भन्ने कुरा आइरहेको छ- जापानबाट। सम्माननीय प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीबीच कुरा हुँदा कोभिशील्डका लागि पनि सहज वातावरण बन्छ भन्ने कुरा छ।"

जापान वा भारतबाट जुन पहिला आउँछ त्यो खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइदिने उनले जानकारी दिए। जापानले नेपाललाई १६ लाख मात्रा आस्ट्राजेनेका खोप दिने घोषणा गरिसकेको छ। उक्त खोप ढिलोमा भदौ पहिलो सातासम्म नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्।

त्यस्तै भारतसँग नेपालले किनेको तर उत्पादकले आपूर्ति गर्न नसकेको १० लाख मात्रा खोप पनि आउन सकेको छैन। सोमवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी हुँदा मोदीले "शीघ्र खोप आपूर्ति गर्ने" आश्वासन दिएको देउवाले ट्वीट गरेर जानकारी दिएका थिए।

उक्त १० लाख मात्राका साथ भारतबाट अरु केही लाख मात्रा थप खोप सहयोग प्राप्त हुनसक्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ। नेपालमा करिब १४ लाख मानिस कोभिशील्डको पहिलो मात्रा खोप लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका छन्।-बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।