ताजा अपडेट »

पर्यटन उकास्न नयाँ रणनीति आवश्यक : राजदूतहरु

बुधबार, ०६ साउन २०७८, १० : ४४
2 Shares

काठमाडौँ । विभिन्न मुलुकका राजदूतहरुले कोभिड–१९ का कारण थलिएको नेपालको पर्यटनलाई उकास्न नयाँ रणनीतिक ‘प्रडक्ट’ र कार्यनीति आवश्यक रहेको सुझाएका छन् । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनीहरुले कोभिडको कारण थलिएको पर्यटनलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउन सुझाएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिए ।

राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भए पनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको बताए । खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उनीहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकाले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताए ।

्कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशिधर मिश्रले नेपालका लागि बङ्गलादेश ठूलो बजार रहे पनि सोहीअनुरूप काम हुन नसकेको धारणा राखे । बङ्गलादेशमा करिब डेढ करोड हिन्दू र ८० लाख बुद्धिष्ट जनसङ्ख्या भएकाले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बङ्गलादेशबाट ठूलो सङ्ख्यामा पर्यटक नेपाल लैजान सकिने बताए । यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राखे । उनले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भए पनि विश्वमा अङ्ग्रेजी नबुझ्नेको सङ्ख्या ठूलो रहेकाले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिनुभयो ।

यस्तै भारतस्थित नेपाली दूतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकाले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताए । श्रीलङ्कास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलङ्काको लागि प्रमुख आर्कषण लुम्बिनी भए पनि साहसिक पर्यटनको लागि पनि श्रीलङ्कन पर्यटकलाई नेपाल लैजान सकिने बताए ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका कामका सम्बन्धमा जानकारी गराउँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताए । उनले बोर्डले दूतावासहरुसँग सहकार्य गरी पर्यटन प्रवद्र्धनका काम गर्ने बताए ।

विभिन्न देशका राजदूतसँग निरन्तर छलफल गरिरहेको बोर्डले आज भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भर्चुअल अन्तक्र्रिया गरेको हो । बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतसँग पनि अन्तक्र्रिया सम्पन्न गरिसकेको छ । बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकीय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्य सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका बजार व्यवस्थापक ९मार्केटिङ म्यानेजर० लक्ष्मण गौतमले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस