ताजा अपडेट »

एमाले बैठक आज पनि, फ्लोरक्रस गर्ने सांसदलाई किन पठाइएन स्पष्टीकरण पत्र ?

बुधबार, ०६ साउन २०७८, ०८ : ५५
4 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटीको बैठक बुधबार दिउँसो ३ बजे बस्नेछ ।

सोमबार देखि जारी बैठकले पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका सांसदहरुलाई कारवाहीबारे कुनै पनि निर्णय गरेकाे छैन । देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे पनि हालसम्म सांसदहरूलाई पत्र भने पठाइएको छैन। स्राेतका अनुसार आन्तरिक छलफल तथा कारबाहीपछि पार्टीभित्र पर्ने असरको समीक्षापछि मात्र पत्र पठाइने र कारबाही गरिने तयारी भएकाे छ ।

मंगलबारको बैठकमा पार्टीको विवाद समस्या समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले गत असार २७ मा भएको १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनका चरणबारे ब्रिफिङ गरेका थिए । उक्त सहमतिलाई सोमबारको बैठकले अनुमोदन गरिसकेको छ । बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए । वरिष्ठ नेता नेपाल पक्ष भने बैठकमा सहभागी छैन।

बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।