ताजा अपडेट »

यस्ता छन् रुपन्देहीका स्थानीय सिंहदरबार

मंगलबार, ०५ साउन २०७८, २० : १७
64 Shares

बुटवल । ‘गाउँ–गाउँमा सिंहदरबार, संघीय गणतान्त्रिक नेपालको उपहार’ बनेको छ । जनआन्दोलन ०६२/६३ बाट प्राप्त गणतन्त्र पश्चात् लागू भएको संघीय प्रणाली अनुसार मुलुक ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजित रहेको छ । संघीयता कार्यान्वयनको यात्रामा वि.सं.२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनबाट जनप्रतिनिधिसहित स्थानीय तहको कार्यान्वयन भएको हो ।

मुलुकमै पहिलो प्रणाली र अभ्यासमा अगाडि बढाउने क्रममा केहि तह बाहेक धेरैका प्रशासनिक संरचना थिएनन् । र, अझैपनि केहि तहहरु भाडाका भवनबाट सेवा दिइरहेका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीका अधिकांश स्थानीय तहले भने आफ्नै भवनबाट सेवा दिइरहेका छन् । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा ६ नगरपालिका १० गाउँपालिका रहेका छन् । ती मध्ये बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका पुरानै स्थानीय तह हुन् । बुटवल उपमहानगर र सिद्धार्थनगर नगरपालिकाका भवन पहिल्यै निर्माण भएका हुन् ।बुटवल उपमहानगरले अर्को नयाँ आधुनिक भवन पनि बनाउँदै छ।

सैनामैना, तिलोत्तमा र देवदह नगरपालिकाले भने हालै आफ्ना प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् । र, ती भवनबाट सेवा दिइरहेका छन् । त्यसैगरी ओमसतिया,गैडहवा ,कोटहीमाई, सम्मरीमाई, कञ्चन, मायादेवी, शुद्धोधन र सियारी गाउँपालिकाले आफ्नै भवन निर्माण गरिसकेका छन् भने लुम्बिनी साँस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र मर्चवारी गाउँपालिकाले भने भाडाका भवनबाट सेवा दिइरहेका छन् । ओमसतिया र गैडहवा गाउँपालिकाले भने सामान्य अस्थायी भवन निर्माण गरी सेवा दिइरहेका छन्।

बुटवल उपमहानगरको निर्माणाधिन नयाँ भवन

मुलुकमा संघीयता कार्यानवयनमा आएसँगै स्थानीय स्तरमा भएका स्थानीय तहबाट विभिन्न सेवाहरु लिँदै आएका जनताले स्थानीय तहमा सिंहदरबारको अभुभूति पनि गर्न लागेका छन् । आफ्नै सेरोफेरोमा आधुनिक, नयाँ ठूला प्रशासनिक भवन देख्दा र ती भवनबाट सेवा लिन पाउँदा जनताले आफ्नै गाउँमा सिंहदरबार भएको महसुस गर्न लागेका छन् । लाखौं, करोडौंमा बनेका ती भवनहरुमा प्रसस्त क्षेत्रफलसँगै, पार्किङ लगाएतका सुविधाहरु रहेका छन् ।

रुपन्देहीको एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका मध्ये ८ सँगै ती पालिकाका करिब आधा वडाहरुले पनि आफ्ना प्रशासनिक भवन बनाइसकेका छन् भने भाडामा चल्दै आएकाले बनाउने तयारी गरिरहेका छन् । वडाका भवनहरु पनि आधुनिक र ठूला बनेका छन् । यसरी एउटै जिल्लाका १६ वटा तह र तीनका १५५ वडामा स्थानीय सरकारका भवन र ती भवनबाट सेवा लिँदा जनताले गाउँ–गाउँमा मात्रै होइन टोल-टोलमै सिंह दरबारको महसुस गर्न थालेका छन् ।

कञ्चन गाउँपालिकाको प्रशासनिक भवन ।
गैडहवा गाउँपालिकाकाे अस्थाइ भवन
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।