ताजा अपडेट »

ओझेलमा ऐतिहासिक क्षेत्र थामागढी

मंगलबार, ०५ साउन २०७८, ११ : ५५
48 Shares

समुद्र सतहदेखि करिब (१२००) बाह्र सय मिटर उचाइमा अवस्थित गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं ३ रामकोटदेखि थोरै नजिकै पातल सामुदायिक वन संगै जोडिएको माथि सल्लेरीमा एउटा ऐतिहासिक ठाउँ छ जसलाई थामागढी भनिन्छ । चुचुरोलाई थामागढी भन्ने चलन प्राचिनकाल देखिनै हो भन्ने जनविश्वास छ । जुन ठाउँ आजपनि उत्तिकै मनमोहक र रमणीय छ। मान्छेको हातले बनाएर सिँगारे जसरी प्रकृतिले स्वयम् आफैं सिँगारेको ठाउँ जहाँ विभिन्न पुरातात्विक भौतिक बस्तुहरुदेखि प्राकृतिको सुन्दर संरचना एउटा अनुपम ठाउँ स्वर्गको एक टुक्रा नै हो ।

यो ठाउँ आफैंमा सुन्दर छ र ऐतिहासिक महत्व बोकेको ठाउँ हो नै, तर संगै जोडिएको घना जंगलले यसलाई अझ सुन्दर बनाएको छ। सोही जंगलमा विभिन्न किसिमका जडिबुटीदेखि वन्यजन्तुहरूको बासस्थान रहेको छ,यसले यहाँको पर्यावरणले मानिसलाई साँच्चै लोभ्याउँछ। विभिन्न किसिमका जंगली जनावरहरूको को बासस्थान रहेको ठाउँ । देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउन सक्ने सम्भावना बोकेको भ्रमण गर्ने योग्य उचाइमा अवस्थित थामा गढी, जहाँ बाट एका पट्टी निस्ती खोला बगिरहेको देख्न सक्छौ, भने, अर्को पट्टि छल्दी खोला बगिरहेको देख्न सक्छौ। साथै गुल्मी जिल्लाका धेरै मनोरम प्राकृतिक दृश्य र पनि यो ठाउँबाटहरू देख्न सक्छौं साथै केही बाग्लुङ र अर्घाखाँचीका ठाउँहरू पनि देख्न सकिन्छ जहाँ पुग्दा जो कोहीलाई पनि स्वार्गिय आनन्द प्राप्त भएको महसुस हुन्छ।

प्राचिन कालदेखि बाइसे चौबिसे राज्य बिस्तार हुने समयसम्म यस ठाउँमा मानव बस्ती रहेको जनविश्वास छ। बाइसे–चौबिसे राज्य मध्यको एउटा राज्य इस्मा राज्य सोही इस्मा राज्य अन्तर्गत पर्ने थामा गढी यहाँ इस्मा राज्य र राजा महाराजाहरूको सुरक्षा निमित्त सैनिकहरू बसोबास गर्न सैनिक ब्यारेक रहेको र इस्मा राज्यका राजा–रानी हरूको यहाँ पनि दरबार बनाई बसेको इतिहास छ । अहिले पनि राजा–रानीले दरबार बनाई बसेका केही भौतिक अवशेष देख्न सकिन्छ ।

राजाहरूले सिकार गर्न स्थानदेखि रानी हरूले स्नान गर्न ठाउँ लगाएत विभिन्न ऐतिहासिक ठाउँ देख्न सकिन्छ । तिनै राजाका प्रजाहरूले कृषि गर्दै आएको ठाउँ कृषि गर्नको लागि बनाएको खेती योग्य जमीन (बारी) हामी अहिले पनि देख्न सक्छौं। नजिकै रहेको धार्मिक स्थल देउरालीमा अहिले पनि चैतेदशै र वडा दशैमा नवदुर्गाको पुजा गरिन्छ वडा दशैंमा सोही ठाउँमा नौ दिनसम्म पुजेरी बसेर नवदुर्गाको पूजा गरिन्छ भने, अष्ठमीको दिन नवदुर्गालाई पशुहरूको बली दिने चलन छ,। यहाँ भक्कलको रूपमा पशुहरूको बली दिँदा मानिसहरूको मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास अहिले पनि रहेको छ।

पर्यटकीय सम्भावना बोकेको यो एतिहासिक ठाउँ को पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले आफ्ना नीति तथा कार्यक्रममा राखेर महत्वका साथ यसको विकास, र विस्तार गर्दै राष्ट्रिय करण गर्न सके यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने छ। हाम्रा धेरैजसो स्थानीय तहहरुमा यस्तै किसिमका केही न केही ऐतिहासिक महत्व बोकेका ठाउँहरू छन् । तर, धेरै जसो ओझेलमा परेको स्थिति छ,। यस्तै पर्यटन को सम्भावना बोकेका ठाउँहरूको उचित किसिमको विकास गर्न हो भने हाम्रो देशले छिट्टै नै पर्यटन प्रवद्र्धनबाट नै आर्थिक उन्नति हासिल गर्ने थियो । बिडम्बना ,हाम्रो देश चलाउने नेतृत्वहरू हिरा चिन्न नसकेर ढुङ्गाको पछि लागेर हिँडेको अवस्था छ।

हाम्रा यस्ता धेरै ठाउँहरू छन्,जहाँ पर्यटनको सम्भावना बोकेका यस्ता ठाउँ मा आन्तरिक देखि विदेशी पर्यटक रूपमा ल्याउन सकीयो भने देखि आम नागरिक बेरोजगार भएर बस्न नपर्ने अवस्था पक्कै पनि आउने थियो। आज पनि हामी नेपालीलाई रोजगारीका अवसरहरु खोज्दै विदेशीका गल्ली गल्ली चाल्नु पर्ने एकदमै दर्दनाक कारूणिक अवस्था छ। तर, आफ्नै देशमा भएका यस्ता रोजगारीका संभावना हरूको स्तर उन्नती गर्ने तर्फपूर्ण रुपमा आजसम्म कुनै नेता र कुनै सरकार नलागेको अवस्था छ ।

देशमा जुनसुकै दल जुन व्यक्ति नेतृत्व तहमा पुगेपनि आम सर्वसाधारण नेपालीको जीवनस्तर व्यवहारिक रुपमा कुनैपनि सुधार आएको महसुस हुन सकेको छैन । मानिसका आधारभूत आवश्यकता पुरा गर्न को निमित्त मात्रै भएपनि पनि विदेशीनु पर्ने स्थिति छ। अहिलेसम्म यसलाई रोक्न सक्ने त्यस्तो कुनै पनि प्रभावकारी कदम चाल्न नसकेको अवस्था छ। यस्तै ओझेलमा परेको ऐतिहासिक पर्यटकीय क्षेत्र को विकासतर्फ लाग्ने हो भने देखि देशले आर्थिक उन्नति हासिल गर्न केही हदसम्म भएपनि सफल हुने थियो।

ऐतिहासिक ठाउँ थामागढीको आफ्नै छुट्टै महत्व र पहिचान छ, यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न निम्ति विकासका पूर्वाधारहरूको आवश्यकता झनै बढ्दो छ । पहिला जुन अवस्थामा थियो अहिले त्यो भन्दा पनि बिग्रदो हुँदा पूर्वाधारमा बढी जोड दिन आवश्यक छ । आजसम्म पनि यसको विकास प्रवर्द्धनको लागि कसैको पनि ध्यानाकर्षण नभएको स्थिति छ। यसको विकास स्तरोन्नती गर्नको लागि चाहिने पूर्वाधार हरूको उचित व्यवस्थापन हुन सकेको छैन।

थामागढी उचाईमा रहेको हुँदा त्यहाँसम्म पुग्न फराकिलो सडक नभएको स्थिति छ। हाम्रा पुर्खाहरु त्यहाँसम्म पुग्न सानो बाटो जंगलको बीच–बीचबाट थियो । अहिले त्यो पनि नभएको अवस्था छ । शुरूमा त्यहाँसम्म सजिलै पुग्न सक्ने सडक निर्माण गर्नुपर्ने हुन्छ्। बिजुली खानेपानीदेखि त्यहाँ रहेका ऐतिहासिक धार्मिक मठमन्दिर हरूको व्यवस्थापन गर्नु पर्ने हुन्छ ।

मानिसहरू भ्रमण गर्ने ठाउँ प्रशस्त भएको हुँदा विभिन्न ठाउँमा पार्टी पौवादेखि पिकनिक स्थलहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ। रमणीय ठाउँ जहाँ गैसकेपछि आनन्द प्राप्त हुन्छ त्यस अनुसार मनोरञ्जन प्राप्त गर्न सक्ने विभिन्न किसिमका मनोरञ्जन प्राप्त आयम हरूको व्यवस्थापन गर्न, धार्मिक एवम् पर्यटकीय स्थलको रूपमा यसलाई अगाडि बढाउन सकियो भने इस्मा गाउँपालिकाको अझ महत्व बढेर जाने छ ।

उक्त क्षेत्रमा आवत–जावत गर्न सहज सडक, आकर्षक निर्माण लगाएत विद्युत,खानेपानी लगाएतका पूर्वाधार निर्माण गरी प्रवद्र्धन गर्न सके इस्मा गाउँपालिका बसोबास गर्ने आम नागरिकको लागि गर्वको विषय हुनेछ। किनकी कुनै पनि स्थानको पहिचान र प्रवद्र्धनमा त्यहाँ रहेका विशेष स्थानको भूमिका विशेष हुन्छ । तसर्थ स्थानीय क्षेत्रको पहिचान,पर्यटन प्रवद्र्धनसँगै सो क्षेत्रमा मानवीय र आर्थिक् गतिविधि बढाउनका लागि स्थानीयबासी,तह लगाएत सरोकारवालाले विशेष पहल गरी कार्यान्वयन गर्न आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।