ताजा अपडेट »

‘माउन्ट एभरेष्ट फेसन रनवे’ हुँदै

सोमबार, ०४ साउन २०७८, १७ : ०२
6 Shares

काठमाडौँ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउन्ट एभरेष्ट फेसन रनवे’ को दास्रो संस्करण आयोजना हुने भएको छ । नेपाल सहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०७८ असोज गते (६ सेप्टेम्बर २०२१) मा सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ । 

के फिल्मस र एमई टू फिल्मसको सहकार्यमा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् । फेसन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउनेछन् । कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाडौंको होटल सोल्टीमा आयोजना गरिएको आयोजना गरिएको पत्रकार भेटघाटमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै  योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्यटकीय पर्यटनमा नयाँ आयाम थप्ने बताए । 

उनले विश्वसमुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्तव्यका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए । उहाँले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवर्द्धनका अन्य कामलाई निरन्तरता दिने जानकारी दिए । कार्यक्रममा ग्लोबल आइएमई बैकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए । 

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।  कम्पनीका सीओओ तथा फेसन डिजाइनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार परिमार्जन गरि प्रस्तुत गरिने बताए । कम्पनीका सीएफओ रिकेन महर्जनले दिगो पर्यटनका लागि आफूहरूले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । कोभिडका कारण नेपालमा अझै पर्यटकीय गतिविधि पूर्ण रुपमा नचलेको  सन्दर्भमा लकडाउन र स्वास्थ्य मापदण्डको पालना गरि अन्तरराष्ट्रिय सेलिब्रेटीलाई नेपाल ल्याइने गरी योजना आयोजकको छ ।  

कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् । कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने धारणा राखेकोे पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टिपी भुसालले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।