ताजा अपडेट »

पहिलो सोमबार : मन्दिर परिसरमै पूजाआराधना

सोमबार, ०४ साउन २०७८, १४ : ४०
4 Shares

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाउँदैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । यो महिना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको जोखिम कायमै रहेकाले मूल ढोकामै तालाबन्दी छ । मूल मन्दिर बन्द गरिए पनि बाहिर भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए । पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधना गर्न नपाए पनि भक्तजन पशुपति क्षेत्रका शिवालयमा पूजाआराधना एवं दर्शन गरेर फर्किएका छन् ।

राजधानीका अन्य शिवालयमा भने रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन ४, ११, १८, २५ र ३२ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

गोकर्णेश्वर मन्दिर पनि बन्द

यसैगरी राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसमरमा भक्तजनको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना महामारीको जोखिम कायम रहेकाले बन्द गरिएको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजाआराधना गर्ने प्राचीन कालेदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ । यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिर बन्द हुँदा गोकर्णेश्वरमा भक्तजनको भीड बढ्नसक्ने भएकोले मन्दिर बन्द गरिएको हो । सूचना प्रकाशन गरेर मन्दिर बन्द गरी नित्य पूजामात्र गर्ने व्यवस्था मिाइएको गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले राससलाई जानकारी दिए ।

वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्ने गरेकामा कोरोनाका कारण बन्द गरिएको छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाउने परम्परा छ । यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा ‘बोल बम’ उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा कोरोनाका कारण गतवर्ष र यसवर्ष पनि प्रभावित भएको छ ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ । यसवर्ष साउन महिनामा १८ दिन रुद्री जुरेको समितिले जनाएको छ ।

भक्तजनलाई बाहिरबाट दर्शनको व्यवस्था

यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिर बन्द गरिए पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी मास्क, स्यानिटाइजर वितरण गरी दूरी कायम गरेर बाहिरबाट दर्शनको व्यवस्था मिलाइएकोे नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिए । कोरोनाअघि मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गर्दथ्यो । यस महिनाको सोमबार पारेर मन्दिरमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए यसबाटसमेत राहत मिल्ने धार्मिक विश्वास छ ।

रासस
लेखकको बारेमा
रासस