ताजा अपडेट »

प्रधानमन्त्रीद्वारा खोप अभियान शुरुआत

सोमबार, ०४ साउन २०७८, १३ : ४१
12 Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गरेका छन् ।

उनले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज शुभारम्भ गरेका हुनु। सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए। अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई खोप लगाइने जानकारी दिए।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार केन्द्रमा अपाङ्गता भएका १८ वर्षभन्दा माथिका क र ख वर्गको परिचयपत्र हुनेलाई खोप लगाइने छ । कोही छुटेमा नगरपालिकाले सञ्चालन गरेको वडा नं ५ चामुण्डा माध्यमिक विद्यालय र वडा नं ४ को सहयोगी माध्यमिक विद्यालय केन्द्रमा गई खोप लगाउन सक्ने जनाइएको छ ।

यसैगरी आजदेखि चामुण्डा र सहयोगी मावि केन्द्रमा १८ वर्ष माथिकालाई खोप लगाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । खोप कार्यक्रमलाई भौतिक दूरी कायम गरी सुरक्षित तरिकाले सम्पन्न गर्न स्वयंसेवकसमेत परिचालन गरिएको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।