ताजा अपडेट »

हेलम्बुका बाढी प्रभावितलाई जस्तापाता सहयोग

सोमबार, ०४ साउन २०७८, ११ : ३५
2 Shares

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका बाढी प्रभावितलाई ८० बण्डल जस्ता सहयोग गरिएको छ । गत असार १ गते आएको मेलम्ची खोलाको बाढीबाट प्रभावित १६ घरधुरीलाई पाँच बण्डलका दरले अस्थायी बसोबासका लागि उक्त जस्ता पालिकालाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हात नेपालको साझेदारीमा उक्त सामग्री प्रदान गरिएको हो । आइतबार संस्थाका कार्यक्रम व्यवस्थापक लोकबहादुर चौधरी र प्रशासन तथा वित्तीय व्यवस्थापक अरुण देवानले उक्त सामग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरे ।

जस्तापाता प्रभावित घरधुरीलाई अस्थायी बसोबासका लागि तत्कालै वितरण गरिने सिग्देलले बताए । संस्थाले पालिकालाई पहिलो चरणको कोरोनादेखि हालसम्म खाद्यान्न, स्वास्थ्य सामग्री, रोजगारी सिर्जना, जस्तापाता गरेर रु २७ लाख ५० हजार सहयोग गरेको अनुगमन तथा मूल्याङ्कन अधिकृत अरुण सेञ्चुरीले जानकारी दिए । संस्थाले पालिकासँगको समन्वयमा लैङ्गिक तथा परिवार सबलीकरण परियोजनामार्फत वडा नं ३ र ७ का १३० घरधुरीलाई आर्थिक सशक्तीकरण र पालिकाभर लैङ्गिक हिंसाविरुद्ध जनचेतना र सहजीकरणको काम गरिरहेको छ ।

याङ्ग्रीका घरपरिवारलाई स्वच्छता सामग्री वितरण

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ याङ्ग्रीका ९० घरपरिवारलाई स्वच्छता सामग्री वितरण गरको छ । असार १ मा याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावित परिवारलाई आइतबार स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिकासँगको सहकार्यमा उक्त समुदायमा विपद्को समयमा स्वास्थ्यसम्बन्धी कुरालाई ध्यानमा राख्न अभिमुखीकरणसहित सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए । समुदायमा धेरै खाद्यान्न उपलब्ध भएको तर महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको यो पहिलो सामग्री भएको स्थानीयवासी फूलमती तामाङले बताए ।

विपद्को समयमा महिला तथा किशोरीका लागि यो धेरै उपयोगी हुने उनको भनाइ छ । स्टार्ट फण्डको सहयोग, केयर नेपाल, पिपुल इन निड र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहकार्यमा बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रमअन्तर्गत उक्त समुदायलाई स्वच्छतासम्बन्धी मञ्जन, साबुन, मास्क, सेनिटरी प्याड, तौलिया, स्यानिटाइजर, काइँयोलगायत सामग्री उपलब्ध गराइएको थियो ।

रासस
लेखकको बारेमा
रासस