ताजा अपडेट »

विश्वविद्यालय शिक्षाको महत्व

आइतबार, ०३ साउन २०७८, २० : ५७
81 Shares


पुस्तकेषु च या विद्या परहस्तेषु यद्धनम् ।
उत्पन्नेषु च कार्येषु न सा विद्या न तद्धनम् ।।
-चाणक्य

अर्थात् , पुस्तकमा मात्र सिमित भएको ज्ञान र आफ्नो वशमा नरहेको सम्पत्तिको कुनै अर्थ हुँदैन । काम लिन सकियो भने मात्रै तिनले शक्तिको सञ्चार गराउँछन् । जनवादी भनिने शिक्षाको मर्म पनि यही हो । सिकेको ज्ञानका कारण जब वैज्ञानिक चिन्तन, कार्यकुशलता र अनावश्यक वस्तुहरुलाई छोड्दै जाने प्रवृत्तिको विकास हुन्छ, अनिमात्र हाम्रो शिक्षा प्रणालीले सहि बाटो समात्छ

विश्वविद्यालय (विश्व–विद्या–आलय) विश्वस्तरको विद्या आर्जन गर्ने थलो हो । यो शब्दावलीले नै विश्वविद्यालयहरुले विश्वस्तरमा आप्mनो प्रभाव र पहिचान दिन सक्नुपर्छ भन्ने मान्यता राख्छ । विश्वविद्यालय शिक्षाले विद्यार्थीलाई नयाँ नयाँ अनुसन्धान र प्रविधितर्फ अभिमुख गर्छ । स्वतन्त्र र सिर्जनात्मक विचार निर्माण गर्न प्रोत्साहन गर्छ भन्ने विश्व्यापी मान्यता छ।

जोह्न हेन्री कार्डिनल न्यूमेन (१८९३) ले ‘दि आईडिया अब यूनिभर्सिटी ’ किताबमा भन्छन् – ‘विश्वविद्यालय विश्वव्यापी ज्ञान सिकाउने थलो हो । यसको पहिलो अर्थ विश्वविद्यालय शिक्षाको पहिलो र प्रमुख उद्देश्य नैतिक नभएर वौद्धिक हुनुपर्छ भन्ने हो । दोस्रो हो–ज्ञानको प्रसार । यो ज्ञानको विस्तार (अनुसन्धान) मात्र होइन।’ विश्वविद्यालयहरुको भूमिका ज्ञानको भण्डार र उत्पादन हुनुपर्दछ । स्नातकहरुलाई ज्ञानले सु–सज्जित बनाउनुपर्छ ता कि उनिहरुले– आफूले चाहेको क्षेत्रमा रोजगार प्राप्त गर्न सक्षम बनुन । सार्वजनिक नीति, सामाजिक तथा आर्थिक जीवनमा समयसापेक्ष र विवेकसम्मत आलोचनामार्फत प्रभावकारी हस्तक्षेप गर्न सकुन । विश्वविद्यालय शिक्षाको उद्देश्य हो तर्क, खोजीनीति र दार्शनिक खुलापनको संरक्षण गर्ने, शुद्ध खोजीनीतिलाई मूख्य (चलनचल्तिका) सार्वजनिक धारणाबाट जोगाउने, संरक्षण गर्ने ।

विद्वान मोती निसानी आफ्नो विचारोत्तेजक निबन्ध ‘ह्वाइ गो टु यूनिभर्सिटी’ मा लेख्छन्–‘मात्र डिग्री, प्रमाणपत्र वा उपाधी हासिल गर्न विश्वविद्यालय जाने होइन, सँगसँगै विद्यार्थीले राजनीतिक, साँस्कृतिक, वौद्धिक र सामाजिक–आर्थिक चेतनाको पनि विकास गर्नुुपर्छ।’कुनै एउटा विषयविज्ञ भएतापनि र जुनसुकै क्षेत्रमा काम गरेपनि एउटा विश्वविद्यालयको स्नातक विद्यार्थी वा त्यहाँ प्राध्यापन गर्ने प्राज्ञले समाज, इतिहास, राजनीति र अर्थतन्त्रको बारेमा जानकारी राख्नुपर्छ ।

खास गरेर नेपालको विद्यमान विश्वविद्यालय शिक्षाले आलोचनात्मक चेत भएका जनशक्ती उत्पादन गर्न सकेन भन्ने आम गुनासो छ । हाम्रो विश्वविद्यालय शिक्षाले कोरा सिद्धान्त मात्र पढाइरहेको छ, ज्ञानको वितरण मात्र गरिहेको छ । त्यसैले गुणस्तरीय ज्ञान उत्पादन हुन सकिरहेको छैन।

एउटा विषयको विज्ञ सँगसँगै एक्काइसौं शताब्दी युग सुहाउँदो र कुनैपनि क्षेत्रमा नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्छ अबको विश्वविद्यालय शिक्षाले । विद्यार्थी हरेक विषयको जानकार हुनुपर्छ । समाजमा देखिने समस्याहरु एक अर्को विषयमा जेलिएका हुन्छन् । तसर्थ शिक्षा बहुआयामिक हुनुपर्दछ । परीक्षा पास गर्नको लागिमात्र पढाउने र पढ्ने प्रवृत्ति बिद्यमान छ । पढाई सुगारटाइ मात्र भएकाले सूचना विश्लेषण गरेर लेख्न र अरुलाई बुझाउन सक्दैनन् विद्यार्थीहरु ।

नेपालका विश्वविद्यालय र कलेजमा सिकाइ साँघुरो हुने गरेको गुनासो छ । त्यसैले उदार किसिमको बौद्धिकता उत्पादन हुन सकिरेहेको छैन । विगत दुई दशकदेखि नेपालबाट कामदारहरु मात्र विदेशिएका छैनन् , उच्च शिक्षाका लागि विद्यार्थीहरु पनि गएका छन् । अहिले कोभिड–१९ महामारीका कारण यो क्रम रोकिएको भएता पनि २०७६ असारसम्म ३ लाख भन्दा बढी नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा अध्ययन गरिहेको तथ्यांक छ ।

नेपालको विश्वविद्यालय शिक्षा संसारकै कान्छो मध्येमा पर्छ । भारतमा अङ्ग्रेजहरुले विश्वविद्यालय स्थापना गरेको सय वर्षपछि , वि. स. २०१५ सालसम्म नेपालमा विश्वविद्यालय नै थिएनन् । देशको जेठो त्रिभुवन विश्वविद्यालय वि. स. २०१६ मा स्थापना भएको हो । अहिले करिब ७५ प्रतिशत विद्यार्थी सार्वजनिक विश्वविद्यालयमा पढ्छन् । नेपालको उच्च शिक्षा प्रणालीमा हाल ११ वटा विश्वविद्यालय र ६ वटा विश्वविद्यालयस्तरका प्राज्ञिक संस्था कृयाशिल छन् । तर, समग्रमा उच्च शिक्षाको स्तर सन्तोषजनक छैन । राम्रो व्यवस्थापन गर्न सक्ने हो भने विश्वविद्यालयले देशलाई धेरै ठूलो प्रतिफल दिन्छन् । जसरी अमेरिका र यूरोपलाई दिएका छन् ।

शिक्षण र अनुसन्धानमा सुधार नगरी विश्वविद्यालयहरुले गुणात्मक फड्को मार्न सक्दैनन् । अहिले भैरहेका अनुसन्धान यान्त्रिक र कर्मकाण्डी प्रकृतिका देखिन्छन् । विश्वविद्यालयमा हुने अनुसन्धानले नेपालको आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक लगाएतका विविध क्षेत्रमा अपवाद बाहेक कुनै ठोस योगदान गर्न सकेका छैनन् । शिक्षण पद्धति थप सिर्जनात्मक र वैज्ञानिक हुनुपर्दछ । प्राध्यापक चैतन्य मिश्र भन्छन्–‘इनारभित्रबाट आकाशको सानो टुक्रा देखाएर संसार यहीं हो भन्ने हाम्रो शिक्षा प्रणालीको ठूलो कमजोरी हो । अबको शिक्षाले पहाडको टुप्पोमा पुर्याएर चील झैं हावामा कावा खाँदै समग्र पाटो हेरेर सूक्ष्म विश्लेषण गर्न सक्ने क्षमता विकास गर्न सक्नुपर्छ ।’

किन पढ्ने उच्च शिक्षा ?
दाम/पैसा कमाउन ? नाम/ख्याति कमाउन ? या ज्ञानी बन्न ? उच्च शिक्षा अध्ययन गर्दै गरेका परिपक्व विद्यार्थीलाई यि प्रश्न सोध्दा अलमलमा पर्छन् । ठोस जवाफ पाईंदैन । पढाई र आर्थिक उपार्जनलाई सँगै दाँजेर हेर्ने गरिन्छ । भनाई छ–सरस्वती र लक्ष्मी एकैठाउँ बस्दैनन् । विश्वका धनाढ्यको सूची हेर्दा अधिकांशले कलेज पढ्दापढ्दै बिचमै छोडेर अर्थोपार्जन तिर लागेको पाईंन्छ ।

पछिल्लो पुस्ताका विद्यार्थीहरुमा पनि पढाइलाई आर्थिक उपलब्धि र सम्पन्नता सँग जोडेर हेर्ने गरेको पाईंन्छ । विद्यार्थीहरुमा आखिर पैसा कमाउने न हो जसरी कमाएपनि हुन्छ भन्ने मनोविज्ञान देखिन्छ । वास्तविक अर्थमा उच्च शिक्षाको काम प्रबोधन (इनलाइटनमेण्ट) हो । शिक्षाले जगाउने, सचेत गराउने, बिउँझाउने काम हो । ज्ञानआर्जनमा भन्दा अन्य गतिविधिमा उनीहरुको आकर्षण देखिन्छ । विश्वविद्यालयको पढाई केवल जाँच/परीक्षा पास गरि डिग्री हासिल गर्ने कर्मकाण्डमा सिमित हुँदै गएको महशुस हुन्छ । उच्च अंक वा ग्रेड सहितको आकर्षक प्रमाणपत्र हातमा त हुन्छ तर व्यवहारिक ज्ञान, सीप, मूल्यमा कमजोर ।

केहि दिन पहिले विश्व प्रख्यात हावर्ड विश्वविद्यालयका प्रोफेसर कोर्नेल वेस्टले केहि दिन अगि यस्तै कुरामा असन्तुसष्टी जनाउँदै दिएको राजिनामाको व्यापक चर्चा देखिन्छ सामाजिक सञ्जालमा । उनले राजिनामा दिनुको कारण यस्तो रहेछ–‘हावर्ड विश्वविद्यालय राम्रो भएन । बजारमुखी भयो । विद्यार्थीलाई चाहिने कुरा दिन सकेन । उनले संसारभरीको शिक्षा दिने संस्थाहरुमा विद्यार्थीलाई के दिई रहेका छौं ? एकपटक आँखा चिम्लेर सोचिदिनुहोस् भन्ने आग्रह गर्दै प्रश्न गरेका छन्– डिग्री मात्रै दिएर जीवन र मानविय आत्मा दिन बिर्सेका त छैनौं ?

स्नातक तहमा अध्ययन गर्दै गरेका हरेक ब्याचका विद्यार्थीलाई मैले सोध्ने साझा प्रश्न हो–‘अबको ५ वर्षमा तपाईं आफूलाई कहाँ देख्न चाहनुहुन्छ ?’ प्रश्न सुनेर धेरै विद्यार्थी अलमलमा पर्छन् । खास गरेर व्यवस्थापनका सिद्धान्त पढाउँदा हामी मिशन, भिजन, लक्ष्यबारे चर्चा गर्छौं । व्यवसायिक संगठनको दृष्टिकोणबाट यहीं प्रसङ्ग हाम्रो जीवनमा जोड्दा विद्यार्थी अलमलिन्छन् । यहीं हो हाम्रो समकालिन शिक्षा पद्धतिमा रहेको ठूलो खाडल । ज्ञान निर्माण र त्यसको व्यवहारिक प्रयोग बीचमा असाध्यै ठूलो अन्तर छ ।

यो अन्तर (ग्याप) कम गर्न शिक्षण पद्धतिलाई समयानुकुल परिमार्जन र व्यवहारिक र जीवनोपयोगी बनाउँनु वर्तमानको चुनौती हो । जानकारी हासिल गर्नु । सु–सूचित रहनुमात्र पर्याप्त हुँदै , ज्ञानी बन्नलाई । यद्यपी सूचना, जानकारी , तथ्यांक नै ज्ञान निर्माणका आधारभूत श्रोत हुन् । तीनलाई आफ्नो मस्तिष्कले विश्लेषण गरि संज्ञान निर्माण गर्नु नै वास्तविक अर्थमा ज्ञानी हुनु हो ।

हाम्रो लुम्बिनी प्रदेशमा स्थापना हुने प्रदेश विश्वविद्यालय स्थापना गर्न बनाइएको विधेयक प्रदेश सभाबाट पारित हुनेक्रममा छ । देशकै उत्कृष्ट नमूना सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस ‘मानित विश्वविद्यालय’ बन्ने क्रममा छ । अब हामी बौद्धिकहरुको टीम जुटेर कस्तो विश्वविद्यालय बनाउँने भन्ने छलफल गरि अवधारणा बनाउनुपर्छ । हामी पूर्वाधार निर्माण र आर्थिक पक्षमा बढी ध्यान केन्द्रित हुन्छौं । हाम्रो शिक्षा प्रणाली विसंगत छ । यसको विकल्प खोजिनुपर्छ । संघीय व्यवस्थाभित्र राजनीतिक, प्रशासनिक अभ्यास सँगै शिक्षा क्षेत्रमा पनि हामी प्रदेशस्तरमा उत्कृष्ट विश्वविद्यालय स्थापना गरि नमूना बन्न सक्छौं । -(लेखकः लुम्बिनी वाणिज्य क्याम्पस,बुटवलका प्राध्यापक हुन् )

https://www.globalaawaj.com/archives/121128
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।