ताजा अपडेट »

बहिरा नागरिकको सञ्चारको लागि सांकेतिक भाषाका दोभासेलाई तालिम

आइतबार, ०३ साउन २०७८, १५ : ४७
10 Shares

भैरहवा । रुपन्देही कोरोनाको चरम प्रभावमा परिरहेको समयमै लुम्बिनीमा देशका बिभिन्न जिल्लाबाट आएका २० जना सहभागीहरुले ३ महिने तालिम लिई रहेका थिए । महिलवारमा रहेको होटल सुरम्मामा सञ्चालन भई रहेको उक्त तालिम कोरोनाको चरम प्रभावमा परे पनि रोकिएन । तालिममा सहभागी २० जना मध्ये ८ जनाले तालीम छोडेर गए पनि बाँकी रहेको १२ जनाबाट नै उक्त तालिम अगाडी बढाईएको थियो ।

कोरोनाको त्रासको बिच पनि अगाडी बढाईएको उक्त ३ महिने तालिम थियो “सांकेतिक भाषा सम्बन्धि दोभासे तालिम” । बिशेष गरि बहिरा नागरिकहरुलाई सञ्चारमा सहज पुगोस भन्ने उद्देश्यले आयोजित उक्त तालिम कार्यक्रममा सहभागी सबै साङ्ग नै थिए । त्यस कारण तालीमको महत्व बुझेर नै तालीम नछोडेको सहभागीहरुको भनाई थियो ।

आफ्नो जिल्लामा रहेका बहिरा साथी र नागरिकहरुको हकहितमा काम गर्ने उद्देश्य सहित तालिममा सहभागी भएको महोत्तरीका युवा प्रमोद बाबुको भनाई थियो । गाउँघरमा बहिरा साथीहरुलाई भाषाकै कारण अहिले पनि दुव्र्यवहार हुने गरेकोले जिल्ला फर्केपछि उनिहरुको विकासमा लाग्ने उनको भनाई थियो ।

सहभागीहरु साङ्ग भए पनि उनिहरुलाई प्रशिक्षण दिने मूख्य प्रशिक्षक कृष्ण गजुरेल भने बोल्न र सुन्न नसक्ने थिए । त्यसले पनि सहभागीहरुलाई एक प्रकारको उर्जा प्रदान गरेको थियो । नेपालमा बिरलै पाइने यो तालिम राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भाषा आयोग र अष्ट्रेलियन राजदूतावासको सहकार्यमा भएको थियो ।

बहिरा नागरिकहरुको सञ्चारको मूख्य साधन नै सांकेतिक भाषा रहेको हुदा उनिहरुको विकासको लागी अन्य भाषा जस्तै सांकेतिक भाषालाई पनि महत्व दिनु पर्ने तालीममा सहभागीहरुको भनाई थियो । कार्यक्रमका प्रशिक्षक कृष्ण गजुरेलले बहिरा नागरिकहरुको कुरा घरमै बुझाउन पनि सांकेतिक भाषा पर्न सक्ने भएकोले राज्यले नै यस्ता भाषा सम्बन्धि दोभासेहरुमा लगानी बढाउन आग्रह गरे ।

नेपालका बिभिन्न जिल्लाका सहभागीहरुलाइ उनिहरु सम्बन्धित स्थानियतह संग समन्वय गरि रोजगारीको ब्यवस्था मिलाईने आयोजकको भनाई छ । अहिले पनि दक्ष दोभासेहरु नभएकोले सहभागीलाई रोजगारको अवसर रहेको छ । स्थानिय तह संगै, बिद्यालय, तालीम, गोष्ठीहरुमा सहभागी हुने बहिरा नागरिक र सामान्य नागरिक बिच सञ्चारको काम गर्न सकिने आयोजकको भनाई थियो ।

राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बहिराहरुको मूख्य समस्या भनेकै सञ्चार रहेको र बहिरा नागरिकलाई समाजमा समावेशीकरण गर्नका लागी तालीमले महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले अन्य भाषाको तुलनामा वहिरा समुदायको भाषाका लागि लगानी नगरेको दुखेसो गर्दे बहिराहरुको मनोभावलाई आम मानिस सम्म ल्याउन आबश्यक पर्ने दोभाषे उत्पादन गर्न पनि लगानी गर्नुपर्ने बताए । उनले यस्ता दोभासेहरुको तालीमको ब्यवस्था र उनिहरुको प्रमाणीकरणमा समस्या रहेको गुनासो गरे ।

तालिम समापन कार्यक्रममा राष्ट्रिय भाषा आयोग मातृभाषा शिक्षा शाखाका प्रमुख डाक्टर लोकबहादुर लोप्चनले भाषा आयोग र महिला तथा बालबालिका मन्त्रालयले बिशेष नितिका साथ यस सम्बन्धि कार्यक्रमहरु ल्याई रहेको दावी गर्छन । उनले सांकेतिक भाषा र ब्रेल लिपिलाई स्थानिय तह सम्म र अड्डा अदालतमा काम गर्न जनशक्ति विकासको आवश्यकता रहेको र सोही जनशक्ति विकास गर्ने क्रममा यो तालीमको आयोजना गरिएको उनको भनाई थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा