ताजा अपडेट »

पुन:स्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

आइतबार, ०३ साउन २०७८, ०८ : १२
8 Shares

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ । बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापन गरेपछि आज पहिलो पटक बैठक बस्न लागेको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद् सचिवालयले जनाएको छ । आज दलका नेताहरुले पनि मन्तव्य व्यक्त गर्ने सम्भावना छ । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा छ । यस्तै, राष्ट्रिय सभा बैठक पनि आजै अपरान्ह चार बजेका लागि बोलाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।