ताजा अपडेट »

‘एक गाउँ एक उत्पादन’ कार्यक्रम

विहीबार, ३१ असार २०७८, ११ : २९
6 Shares

ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ गर्नेगरी आगामी वर्षको नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाको समृद्धि कृषि र पशुपालनबाट मात्र हुने सम्भव भएपछि गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ गर्ने नीति बनाएको हो । गाउँपालिकाले वडा नं। ४ प्युटार र वडा नं। ६ आश्राङलाई आलु पकेट तथा वडा नं। १ घुसेल, २ को माल्टा, प्युटार र गिम्दीलाई बाख्रापालन र घुसेललाई सुन्तला जोनका रूपमा विकास गर्ने नीति बनाएको छ । त्यस्तै घुसेल, भट्टेडाँडा र इकुडोललाई भैँसीपालन क्षेत्रका रूपमा प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ । वडा नं। २, ४, ६ र ७ मा लसुन, प्याज मिसन कार्यक्रम सञ्चालन गरी लसुन र प्याजको उत्पादन वृद्धि गर्ने नीति गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं। ३ मा कृषि तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ कृषकलाई उत्पादनमा आधारित प्रतिलिटर दूधमा ५० पैसा अनुदान दिने नीति गाउँपालिकाले बनाएको हो । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, बागमती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई सार्थकता प्रदान गर्नेगरी गाउँपालिकाले किवी, ड्रागन फ्रुट, सुन्तला, कागती, केरालगायत फलफूल खेतीलाई प्रोत्साहन गर्ने नीति बनाएको बताए ।

उनले गाउँपालिकाको भूगोल तथा हावापानीअनुसारका फलफूल उत्पादन गरी सोबाट गाउँवासीलाई आत्मनिर्भर बनाउँदै जानेगरी कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गरेको बताए । पालिकाले पहिरो गएका ठाउँमा र सडक किनारमा बाँस, अम्रिसोलगायत अन्य प्रजातिको रुखबिरुवा रोप्ने योजना बनाएको छ ।

कृषिलाई आयमूलक, आधुनिक र मर्यादित पेसा र उत्पादनशील व्यवसायका रूपमा काम गर्दै भूमि, पुँजी र प्रविधिको संयोजनमार्फत कृषियोग्य भूमिको सदुपयोग गरी कृषि व्यावसायिक उत्पादन बढाउने, भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गर्दै सहकारी, सामूहिक र समुदायको समन्वयमा एकै प्रकारका बाली लगाउन किसानलाई उत्प्रेरित गर्ने नीति गाउँपालिकाले बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।