ताजा अपडेट »

साउनदेखि लामो दूरीका गाडी चलाउन दिने तयारी

विहीबार, ३१ असार २०७८, ०९ : ०२
2 Shares

काठमाण्डौं । साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताउनुभयो ।

आज बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले यस विषयमा निर्णय लिने बताउनुभयो । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे पनि समीक्षा हुनेछ । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ३१ गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात लगायत विभिन्न पसलहरु खुल्न दिए पनि अन्य विभिन्न पेसा व्यवसाय सञ्चालन गर्न अझै रोक लगाइएको छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शकसहितको खेलकुद र मानिसकोहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।

यसैगरि जारी निषेधाज्ञामा खुला स्थानमा मानिसहरु भेला, जम्मा हुन, भिडभाड गर्ने सभा, जुलुस, जात्रा महोत्सव, भोजभतेर बन्देज लगाइएको छ । विवाह तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । साथै, शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न रोक लगाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।