ताजा अपडेट »

‘स्वास्थ्यकर्मीहरुलाई भत्ता उपलब्ध गराउँदा विभेद’

बुधबार, ३० असार २०७८, १७ : ५३
2 Shares

नवलपरासी । कोरोना महामारीका समयमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भत्ता उपलब्ध गराउँदा विभेद गरिएको बर्दघाट नगरपालिकाका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।

महामारीको समयमा संगै खटिएका स्वास्थ्यकर्मीहरुलाई कसैलाई भत्ता उपलब्ध गराएको र कसैलाई उपलब्ध नगराएको भन्दै महिला स्वास्थकर्मीहरुले भत्ता माग गर्दै प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यलाई पत्र बुझाएका छन् ।

महलिा स्वास्थ्यकर्मीहरुले आफुहरुलाई लैंगिक आधारमा समेत विभेद गरिएको बताएका छन् । स्वास्थय शाखा बाट आफुहहरुलाई विभेद भएको उनीहरुको भनाई छ । १५ जना महिला स्वास्थकर्मीहरुले भत्ता नपाएको बताईएको छ ।

महामारीको समयमा अन्य स्वास्थयकर्मीहरु सरह काम गरे पनि स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले आफ्नो अनुकुलमा भत्ता उपलब्ध गराएको र समन्वय नगरेको भत्ता नपाएका महिला स्वास्थ्यकर्मीहरुको आरोप छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले यस बर्षको भत्ता सवैलाई उपलब्ध गराएको र गत बर्षकोमा केहिको छुटफुट भएको हुनुसक्ने बताउनुभएको छ । यस विषयमा स्वास्थय शाखाबाट जानकारी लिएर सोही अनुसार अगाडि बढ्ने पाध्यको भनाई छ ।

स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले भने सवै स्वास्थयकर्मीहरुलाई उनीहरुको तलव स्केल अनुसार पाउनुपर्ने भत्ता उपलब्ध गराएको बताउनुभएको छ । कोही छुटेको भए उनीहरुलाई भत्ता उपलब्ध गराईने ज्ञवालीको भनाई छ ।

भत्ता नपाएको गुनासो गरेका चिसापानी अस्पताल र नगरका वडाहरुमा रहेका स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुले नगर प्रमुख धिरज शर्मा बस्याललाई समेत भेटेर गुनासो पोखेका छन् । उनीहरुले जोखिमको समयमा काम गरेबापत सरकारको तर्फबाट उपलब्ध गराईएको भत्ता खटेका सवै स्वास्थ्यकर्मीले पाउनुपर्ने माग गरेका छन् ।

यस अघि कोरोनाको खोप लगाउने क्रममा चिसापानी अस्पतालको केन्द्रमा स्वास्थ्यकर्मीमाथी दुब्यबहार भएको र खोपको रेकर्ड फाईल च्यातिए पनि घटनामा संलग्नलाई अहिले सम्म पनि कारबाहीको दायरामा नल्याएको प्रति पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गुनासो गरेका छन् ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल