July 27, 2021, Tuesday
१२ श्रावण २०७८, मंगलवार

निराश बन्दै कफी किसान

96

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको भूगोल तथा हावापानी कफी खेतीका लागि उपयुक्त रहेकाले किसान कफी खेतीप्रति आकर्षित कृषक अहिले निराश बनेका छन् । केही वर्षअघिसम्म पहिलो प्रशोधनपछिको (पार्चमेन्ट) कफी वार्षिक ३५ टनसम्म विदेश निर्यात गर्दै आएकामा पछिल्लो समय कफी खेतीमा रोग, कीराको प्रकोप बढेपछि उत्पादन घट्दा कृषकमा निराशा छाएको हो । कफी प्राविधिक टेकराज गिरी नेपालमै उत्कृष्ट कफी उत्पादन हुने काभ्रेका अधिकांश क्षेत्र कफी उत्पादनका दृष्टिले अब्बल रहेको बताउँछन् । कफी खेतीका लागि आवश्यक माटो, चिस्यान, मोहडालगायतका हिसाबले काभ्रेको डाँडापारि, कोसीपारिलगायतका क्षेत्र उपयुक्त रहेको कृषि प्राविधिक बताउँछन् ।

तथापि जिल्लाको डाँडापारि क्षेत्रका केही गाउँका कृषकले केही वर्षअघिसम्म व्यावसायिक उत्पादन गरे पनि अहिले यस क्षेत्रमा उत्पादन घटेको किसानको भनाइ छ । कृषकमा पूर्ण प्राविधिक ज्ञानको अभाव, बगैँचामा सिँचाइको असुविधा तथा सेतो गबारोको प्रकोप बढेपछि उत्पादन घटेको अर्का कफी प्राविधिक नवराज सापकोटाको भनाइ छ । उनका अनुसार यस क्षेत्रमा अरबिकाअन्तर्गतका विभिन्न प्रजातिका अघुलनशील कफी खेती गरी उत्पादित कफी युरोप, अमेरिका, जापान तथा दक्षिण कोरियामा निर्यात हुँदै आएको छ ।

भिरालो पाखाबारीमा कम मेहनतबाटै उत्पादन हुने भएपछि डाँडापारि क्षेत्रअन्तर्गत विशेषगरी साबिक मिल्चे तथा च्याम्राङबेँसीका कृषकले वार्षिक पाँच लाख रुपियाँसम्मको कफी उत्पादन गरेको बताउँछन् । साबिकका यी दुई गाविसबाट मात्र वार्षिक २० टनभन्दा बढी पार्चमेन्ट कफी उत्पादन हुन्थ्यो । एकै जना कृषकले वार्षिक तीन लाख रुपियाँसम्मको कफी बेच्न सफल भएका थिए । च्याम्राङबेँसीका कफी किसान श्रीमान् थिङ कम मेहनत र भिराला पाखाबारीमा गरिएको कफी खेतीबाट मनग्य आम्दानी लिन सफल भएपछि कृषकहरूमा हौसला थपिएको भए पनि पछिल्लो समय कफी बगैँचा रोग, कीराले सखाप पार्न थालेपछि उत्पादन घटेको बताउँछन् ।

चिया तथा कफी विकास बोर्डले गत वर्ष सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभरमा बागमती प्रदेशले बढी उत्पादन गर्न सकेको र जिल्लागत रूपमा काभ्रेपलाञ्चोकमा उत्पादन, कृषक सङ्ख्या र खेतीको क्षेत्रफलका आधारमा उत्कृष्ट रहेको थियो । बोर्डको तथ्याङ्कअनुसार गत वर्ष काभ्रेमा २२१ मेट्रिक टन पार्चमेन्ट कफी उत्पादन भएको थियो । जिल्लामा ९४३ जना कृषकले १०४ हेक्टर क्षेत्रफलमा कफी खेती गर्दै आएका छन् । रोग, कीराको प्रकोपका कारण बोर्डले प्रस्तुत गरेको उक्त तथ्याङ्कभन्दा उत्पादन घटेको कृषक बताउँछन् । सेतो गबारो तथा सिन्दूरे रोगको प्रकोपका कारण कृषकहरूको बगैँचा नष्ट हुने क्रम बढेको उनीहरूको भनाइ छ । ८० वर्षअघि गुल्मीका हीरा गिरीले शोखका रूपमा नेपाल भित्र्याएको कफीले लामो समयपछि व्यावसायिक रूप लिए पनि कृषकहरूले आवश्यक प्राविधिक ज्ञान तथा सिँचाइलगायतका सुविधा नपाउँदा कफीका बुटा नष्ट हुने अवस्थामा पुगेको हो ।

पछिल्लो अपडेट