July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

लुम्बिनीका करिब ४० फिल्म हल चरम संकटमा

‘खण्डहर बन्दै चलचित्र घर’:करोडौं लगानी जोखिममा,सूचारु गर्न लगानी अभाव

921

बुटवल। पाल्पा जिल्लामा एकमात्रै रहेको तानसेनको सन्तोष चलचित्र मन्दीर(फिल्महल) कोरोनाको कारणले २ वर्ष चल्न नसक्दा अब प्ूर्ण रुपमा नै बन्द हुने अवस्थामा पुगेको छ। चलचित्र मन्दिरका सञ्चाल सन्तोष लिगलले कोरोनाको कारणले बन्द रहेको भएपनि अब सञ्चालन गर्ने अवस्था नरहेको बताए। उनले भने –‘अहिले कोरोनाको कारणले बन्द हो, तर अब बन्द हुन्छ भन्दा हुन्छ, यत्रो २ वर्ष फ्लिम चलेनन्, हल व्यवस्थापन, विद्युत खर्चपनि उठेन।’२०३८ सालमा स्थापना भएको हलमा लाखौँ लगानी भइसकेको बताउँदै अहिलेपनि २ जना कर्मचारीहरुले काम गर्दै आएपनि अब सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको बताए।

काठमाण्डौ लगाएत देशभरका गरि करिब ३० हलहरु बन्द हुँदा लुम्बिनी प्रदेशको यो हल पनि बन्द हुने अवस्थामा पुगेको हो। कोरोनाको महामारी संगै शुरु भएको निषेधाज्ञाको दोस्रो वर्षसम्म आइपुग्नै लाग्दा पनि फिल्महल अझैपनि खुल्न सकेका छैनन् । यो वर्षपनि लकडाउन, निषेधाज्ञा, लुज डाउन हुँदै स्मार्ट डाउनसम्म पुग्यो। अन्य क्षेत्रहरु खुलेपनी यी क्षेत्र अझै खुल्न नसक्दा यस क्षेत्रमा भएको करोडौँ लगानी जोखिममा परेको हल सञ्चालकहरु बताउँछन्।

पछिल्लो समय निर्माण भएका हलहरुमा धेरै ब्यक्तिहरुले पाएको रोजगारी पनि हल नचल्दा धरापमा परेका छन्। कोरोना महामारीबीच धेरै सर्टमूभिहरु र म्यूजिक भिडियोले डिजिटल प्लेटफर्म रोजेपपनि चलचित्रहरु रिलिज नुहँदा फिल्महरु धारशायी बनेका हुन्। लुम्बिनी प्रदेशमा मात्रै ४० बढी चलचित्र मन्दिरहरु रहेकोमा धेरैलाई सञ्चालन गर्न गार्हो भएको व्यवसायीहरुले अप्रत्यक्ष रुपमा बताउँदै आएका छन्। हल बन्द हुँदा हलको आम्दानी गुम्नुको साथै त्यहाँ काम गर्ने कर्मचारीहरुको पनि रोजगारी गुमिरहेको छ। हलहरुले हल नचलेको समयमा कर्मचारीहरु नबोलाउँदा रोजगारी गुम्ने त्रास कर्मचारीहरुमा पाइएको हो।

नेपाल चलचित्र संघ पश्चिमाञ्चल सभापति ओम जैशीले फिल्महल सबैभन्दा धेरै मारमा परेको क्षेत्र रहेको बताउँछन्। आफ्नो क्षेत्राधिकार भित्र ८० जति हलहरु रहेको बताउँदै उनले यी हलमा भएको करोडौ लगानी डुब्ने खतरा रहेको बताए । डेढ वर्षको अवधिमा हल सञ्चालनमा नआउँदा त्यसलाई व्यवस्थापन एवं मर्मतको कामको लागि पुनः रकम थप्नुपर्ने अवस्था आउने बताउँदै आम्दानी नभएको क्षेत्रमा अझै लगानी गर्नु केही हललाई निकै चूनौतिपूर्ण रहेको उल्लेख गरे।

भैरहवामा रहेको काशी सिनेप्लेक्स हलका सञ्चालक समेत रहेको जैशीले जनशक्ति व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताउँछन्। दाङको मनकाशी सिनेप्लेक्स समेत सञ्चालन गर्दै आएका उनले दुईवटा हलमा करोडौ लगानी भएपनि त्यसबाट पछिल्लो २ वर्षमा आम्दानी नभएको गुनासो गरे। भैरहवाको हल निर्माणमा मात्रै साढे २ करोड लगानी लागेको बताउँदै दाङको हल निर्माणमा सवा ३ करोड बढिको लगानी लागेको बताए। यी दुई हलबाट अहिले आम्दानी नभएपनि प्रतिमहिना १ लाखदेखि डेढलाख खर्च भईरहेको उनले भने –‘फिल्म हल चल्नको लागि फिल्म बजारमा आउनु पर्छ, अवस्था सहज हुनुपर्याे। अहिले हामी एकदमै गाह्रो अवस्थामा आएका छौँ । मासिक रुपमा आम्दानीको साटो खर्च भइरहेको छ।’

करोडौ लगानी गरेका सामग्रीहरु व्यवस्थापनमा कर्मचारीहरुलाई समयानुकुल बोलाउने र मापरिश्रमीक दिने गरेको बताउँदै उनले आफ्नो नामबाट ऋण लिएर खर्च चलाइरहेको बताए। उनले अघिल्लो पटक ३ महिना हल खोल्न दिएपनि फ्लिम नआएकोले अझै समस्या भएको बताए। अहिले मासिक रुपमा भैरहवाको व्यवस्थापनमा १ लाख बढी खर्च भइरहेको बताउँदै दाङमा अहिले पनि मासिक ८० हजार खर्च भईरहेको बताए।

हल चलेको समयमा १२ घण्टा कामगरेका कर्मचारीलाई अहिले न्युनतम पारिश्रमिक दिएर काम गराइरहेको भएपनि सरकारले कुनैपनि रहातका कार्यक्रम नदिएको उनको गुनासो छ। उनले बजेट भाषणका क्रममा विद्युत डिमाण्ड शुल्क छुट गर्ने भनेपनि अहिले त्यो कार्यान्वयन नगरेको बताउँदै हलहरुलाई जोगाउन थोरै भएपनि राहत स्वरुप दिइएको डिमाण्ड शुल्क छुटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

यता चलचित्रकर्मी प्रदीप उदय अन्य क्षेत्र खुलेकोले चलचित्रहरु निर्माण र प्रशारणको व्यवस्था मिलाउनुपर्ने बताउँछन्। उनी भन्छन् –‘अहिले प्रायः सबै क्षेत्र खुलिसकेका छन् । त्यसैले फिल्म क्षेत्र पनि खोल्नु पर्छ ,अहिलेकै अवस्थामा फिल्म क्षेत्र पहिले झै गतिशील हुन सक्दैन । तर, सञ्चालन गरेमा चलाएमा हुन्छ । यसले सबैलाई फाइदा हुन्छ।’ बुटवलमा रहेको द्ववारीका हलका सञ्चालक समेत रहेका उदयले फिल्म प्रदर्शक, निर्माता र वितरक बसेर घाटा न्यूनिकरणलाई केन्द्रबिन्दु बनाएर प्रदर्शनको वातावरण बनाउनु पर्ने बताउँछन् । उनले जबसम्म चलचित्र प्रदर्शनमा आउँदैन, तबसम्म फिल्म क्षेत्र गतिशिल हुन नसक्ने तर्क गर्छन्।

सञ्चालन गर्दापनि घाटा लाग्छ भन्ने सोँच भएपनि त्यसमा उनको फरक तर्क छ। उनी भन्छन् –‘ मैले हल सञ्चालनमा नल्याउँदा ६ लाख घाटा ब्यहोर्छु भने सञ्चालनमा ल्याउँदा ३ लाखमात्र घाटा भयो भने पनि त्यो आम्दानी भएको रकम त मेरो फाइदामा गयो नि। त्यसलाई भनिन्छ घाटा न्यूनीकरण । घाटा न्यूनिकरणको सिद्धान्त अनुरुप निर्माताको लगानीको केही प्रतिशत सुरक्षित गर्दिएर फिल्म प्रदर्शन गर्ने वातावरण मिलाउन सकिन्छ ।’

४ करोड लगानीमा रहेको हल सञ्चालनमा आउन नसक्दा १२ जना कर्मचारी व्यवस्थापन गर्न गाह्रो भएको बताउँदै उनले अहिले पनि प्रतिमहिना करिब १ लाख खर्च भईरहेको बताए। २ वर्ष हल नचल्दा अत्यावश्यक पर्नेकुराहरुलाई मर्मत एवम् निर्मलीकरण गर्दा न्युननतम पनि २० लाख लाग्ने भएकोले तुरुन्दै सञ्चालनको अवस्था नभएपनि त्यसलाई व्यवस्थापन गर्न सरकारले ध्यान दिए व्यवसायीहरुलाई सहज हुने बताए । फ्लिम हलहरु फ्लिम नबन्दा र नचल्दा सम्म बजारमा नआउँदा सम्म चल्न नसक्ने भएकोले बनेका चलचित्र निर्मातालाई सरकारले केही भएपनि राहत प्रदान गर्नुपर्ने बताए।

बाँकेको नेपालगंजमा रहेको क्यूएफएक्स बागेश्वरीका सञ्चालक राजेश श्रेष्ठले ८ करोड लगानी गरेपनि २ वर्षपुग्नै लाग्दापनि बन्द अवस्थामा बस्नु परेको बताउँछन्। बिद्युत तथा केही कर्मचारीहरुलाई समय अनुकुल मिलाएर प्रशासनिक कार्यहरु गरेपनि मासिक डेढलाखको हाराहारीमा खर्च भईरहेको बताउँदै सञ्चालनमा ल्याउनको लागि पनि १५–२० लाख खर्चगर्नुपर्ने बताए । ४० जना कर्मचारीहरुले बिभिन्न सिफ्टमा काम गरिरहेको भएपनि अहिले केही आवश्यक कर्मचारीहरुलाई मात्रै बोलाउनु पर्ने बाध्यता रहेको बताए।

उनीपनि सरकारले अन्य क्षेत्रलाई केही भएपनि राहतको अनुभुति दिएपनि यो क्षेत्रमा सरकारले दया नदेखाएको बताए। उनले डिमाण्ड शुल्क छुट भनेपनि कार्यान्वयन नभएको बताउँदै राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले बैंक ब्याजको क्षेत्रमा केही भएपनि राहत महशुस हुने अपेक्षा गरेको बताए। उनले चलचित्र निर्मातालाई केही भएपनि राहत दिएर फ्लिम बजारमा ल्याउने व्यवस्था भएमा हलहरु चलाएमान हुन सक्ने उल्लेख गदै अन्यथा यसको लागानी डुब्ने अवस्थामा पुग्ने बताए।

बुटवलको सिंह कम्प्लेक्समा रहेको भ्यू सिनेमा पनि कोरोनाको कारणले बन्द रहेको छ । लाखौ लगानी रहेको हल अहिले प्रयोगहिन छ। भ्यू सिनेमाका सञ्चालक प्रेम प्रकाश श्रष्ेठले ५ करोड लगानी गरेको हल बन्द रहेको बताउँछन् । उनले अहिले पनि डेढलाख प्रतिमहिना भाडा तिर्नुपरेको बताउँदै भाडा समन्वय भएएमा पनि केही सहज हुने बताए। १८ महिना देखी हल बन्द रहेको पीडा सुनाउँदै उनले भने –‘लकडाउन भएर बन्द भएसँगै सबै कर्मचारीलाई बिदामा राखेका छौँ, तर खुल्दासाथ बोलाउँछौँ, बन्दको समयमा पारिश्रमीक केही भएपनि दिनुपर्छ ।’

ठूला लगानीमा बनेका हलसँगै साना लगानीमा निर्माण भएका पुराना हलहरुको अवस्था पनि उस्तै छ। बुटवलको कालिका चलचित्र मन्दिर पनि २ वर्षदेखि नै बन्द हुँदा अब के गर्ने भन्ने अवस्थामा पुगेको छ । बुटवलकै अर्को पुरानो हल मिलन चलचित्र मन्दिर पनि सञ्चालन नहुँदा समस्या परेको सञ्चालकहरु बताउँछन्। बुटवल क्षेत्रमा मात्रै ५ वटा हलहरु रहेका छन् भने केही निर्माणधिन रहेका छन्। यी सबै हलहरु कोरोना यता बन्द रहेका छन्।

पछिल्लो अपडेट