ताजा अपडेट »

बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने

बुधबार, ३० असार २०७८, ११ : ३५
4 Shares

ढाका । बङ्लादेशमा लागू हुदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ । इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो । यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल अजहा बङ्लादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ ।

लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्णय छ । पसलहरू, सपिङ मललगायतका ठाउँमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।


बङ्लादेशमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ७६८ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरूले जनाएका छन् ।
यो नै अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । बङ्लादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९५७ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा २२० जनाको मृत्यु भएको छ । योसँगै बङ्लादेशमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या १६ हजार ६३९ पुगेको पुगेको छ ।

रासस
लेखकको बारेमा
रासस