ताजा अपडेट »

करिब ३० लाख बराबरको हरियो केराउ र खसी बरामद

बुधबार, ३० असार २०७८, ०८ : ५२
8 Shares

नवलपरासी । पश्चिम नवलपरासीको भारतीय सिमावर्ती क्षेत्रबाट प्रहरीले ठूलो परिणाममा हरियो केराउ बरामद गरेको छ । जिल्लाको सिमावर्ती बसैया, सेमरी र गेर्मीबाट १ सय ८० स्वीन्टल केराउ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी मनोज कुमार यादवले ६ वटा गाडिबाट बरामद गरीएको केराउको बजार मुल्य करिब २२ लाख बराबर रहेको बताए ।

नेपालबाट भारत केराउ निर्यात गर्न नपाईने भएपनि तस्करले सुरक्षाकर्मी र भन्सारको आँखा छलेर भारततर्फ केराउ पठाउने गरेका छन् । नेपालमा भन्दा भारतमा केराउको मुल्य महङ्गो भएकाले सिमावर्ती क्षेत्रमा यसको अवैधकारोवार हुने गरेको छ । तेस्रो मुलुकबाट आयात गरेर अवैधरुपमा केराउ भारततर्फ निकासा गर्न जिल्लामा तस्करहरु सक्रिय भएपछि निगरानी बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ४५ वटा खसीबोका बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भित्रि बाटो प्रयोग गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले खसिबोका नियन्त्रणमा लिएर महेशपुर भन्सार कार्यालयमा बुझाएको प्रहरी उपरिक्षक यादवले जानकारी दिए ।

विरगंज नाका हुँदै आउने केराउ भारत तर्फ दैनिक तस्करी हुँदै आएको छ । तस्करी रोक्न प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ । जिल्ला नयाँ आएका प्रहरी प्रमुख यादवले आफूहरु नियन्त्रणको लागि तयार भएको भएपनि बिल विजकसहित सिमावर्ती क्षेत्रमा भण्डार गर्नका लागि आउने मटर भारत तर्फ तस्करी गर्नेलाई रोक्न कठिन रहेको बताए ।

जिल्लामा खपद भन्दा कयौँ गुना बढी मटर नवलपरासीमा आईरहेकाले सरकारले नितिगत रुपमै केराउ आयातका सन्र्दभमा सुधार गर्नुपर्ने उनको भनाई छ । प्रहरीले अनुसन्धानका लागि भन्दै भन्सार पठाउने केराउ भन्सार विल विजक लिएर दाबी गर्न आउनेलाई छोड्ने गरेको प्रहरी स्रोतबाटै गुनासो आउने गरेको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल