July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

हराउँदैछ असारे मौलिकता र परम्परा

105

रामपुर।
‘असारलाई भनी कुटेका चिउरा चैतैमा घुन लाग्यो,
छोरीलाई सुख छ भन्थ्यौ नि बाबा मेलैमा जुन लाग्यो ।’

पाल्पा रामपुरका कृषक लक्ष्मी तिवारीलाई यसरी गीत गाएर पञ्चेबाजाको तालमा दिनभर धान रोपाइँ गरेको याद झल्झली आउने गर्छ । त्यस समयमा उहाँ रोपाइँलाई एउटा ठूलो पर्वका रुपमा पनि लिने गर्थे।

असारे भाकामा आफ्ना साथीसङ्गीहरुसँग दिनभर गीत गाएर धान रोप्दा मेलो सकेको पनि उहाँलाई पत्तो हुँदैनथ्यो । धेरै परको पनि होइन । आजभन्दा दुई दशकमात्र अघिको स्मरण गर्छन उनी । बाजे रोपाइँ (पञ्चेबाजा बजाउँदै गीत गाएर बाजाको तालमा गरिने रोपाइँ) गरेर आफ्ना साथीसँग हिलो खेलेर रमाइलो गरेको अनुभव उनीसँग ताजै छन् ।

अहिले यस्तो रोपाइँको प्रचलन त हराएको छ तर आफ्ना सन्ततिलाई ती पुराना यादहरु सुनाएरै भए पनि उनी चित्त बुझाउन्छन् । “जमाना सस्तो र सजिलो पनि आयो । अहिले सजिलै खेतीपाती गर्ने, जोत्ने आदि कामका लागि आधुनिक प्रविधिहरु भित्रिए अनि किन दुःख गर्नु रु वर्षाको रोपाइँकै लागि भनेर अब वर्षभरि हलगोरु किन पाल्नु सजिलो पाएपछि मानिसले अप्ठेरो किन गर्नु र ” उनी सुनाए ।

रोपाइँमा साथीभाइबीच मायाप्रेमका साथै ठट्यौली पाराका गीत गाउँदा एक प्रकारको रमाइलो वातावरण हुने गरेको तिवारीको अनुभव छ । पुराना असारे भाका तथा उवाली गीत गाएर धान रोपाइँलाई एउटा रमाइलो पर्वका रुपमा लिने गरे पनि अहिले भने परम्परा नै परिवर्तन भएको उनी बताउँन्छन्।

उनी भने, “दिनभर धान रोपाइँको रमाइलोले थकाइ लागेको पनि पत्तो हुन्नथ्यो तर अहिले हिजोका ती दिनहरु र त्यो वातावरण आँखामा झलझली घुमेर आउँछ, बिहान ट्र्याक्टर लगायो भने दिउँसो एकै छिनमा खेत रोपेर सकिन्छ” ।

आधुनिक प्रविधिको विकासले खेती गर्न सजिलो बनाएको त छँदैछ । यसमा उनीर अरू किसान पनि खुशी नै हुनुहुन्छ तर प्रविधिको विकासले पुराना मौलिक संस्कृति नै हराउन पुगेकामा भने कृषक तिवारीलाई चिन्ता छ ।

“महिना दिन अघिदेखि नै रोपाइँका लागि आवश्यक पर्ने सबै सामग्रीको बन्दोबस्त गरेर राखिन्थ्यो, असार लागेपछि गाउँमा पालैपालो मेलापात हुन्थ्यो, दिनभर साथीसङ्गीसँगै हिलो खेल्दै बाजाको तालमा गीत गाउँदै धान रोपेर घर फर्कंदा थकानको अनुभूति पनि हराउने गथ्र्यो । अहिले ट्र्याक्टरले हिलो बनाएपछि दुई तीन घण्टामै रोपेर सकिन्छ”, तिवारीले भने ।

‘हलगोरु झरे खेताली झरे बँेसीको रोपाइँमा,
सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’,
‘आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सि नि जानुछ,
एकै र दिन गरेको खेती वर्षदिन खानुछ ।’

यस्ता गीतमा महिलाका घर माइती गर्दाका दुःखसुख वेदनाका भाव पनि झल्किन्थ्यो । मेलापात गर्दा आफूले भोगेका कष्ट सबै साथीभाइसँग गीतमार्फत पोख्दा हल्का पनि हुने गर्दथ्यो भन्छन्, ज्येष्ठ नागरिकहरु । उनीहरुको अनुभव छ, “त्यस्तो गीतसङ्गीत न अहिले रोपाइँका बेला सुन्न पाइन्छ नत तीजकै बेलामा ।”

कृषिमा आधुनिक प्रविधिको विकासले धान रोप्ने पुरानो मौलिक संस्कृति नै हराउन पुगेको छ । असारे भाकामा गीत गाउँदै धान रोपेर महिनादिन बिताउने कृषक अहिले भने प्रविधिमैत्री कृषि कार्य हुन थालेपछि दङ्ग पनि छन् ।

कुनै समय धान रोपाइँ गर्न खेतभर हलगोरु, खेतालाले भरिभराउ हुन्थे । गाउँमा साथीभाइ छिमेकीबीच मेलापात पालैपालो चल्थ्यो । अहिलेको अवस्थामा आइपुग्दा भने असारे संस्कृति र परम्परागत मौलिकता हराउन पुगेको छ ।

पहिला पञ्चेबाजाको तालमा धान रोप्ने, अन्न धेरै फलोस् भनी खेतको बीच भागमा भकारी राख्ने, एकअर्काबीच हिलो खेल्ने चलन रहेको पहिलेका बूढापाकाहरु बताउँन्छन् ।

पहिलाको धान रोपाइँ र अहिलेकामा धेरै परिवर्तन हुँदै गएको छ । दिनभर गोरुले जोत्ने खेतमा एक घण्टामै ट्र्याक्टरबाट काम सम्पन्न हुने हुँदा यी पुराना परम्पराहरु हराउन पुगेका हुन् भन्छन्, कृषक उदयराज अर्याल ।

“हलगोरु लिएर खेतमा जाँदा छुट्टै आनन्द लाग्थ्यो, बाजा बजाउने कोहीले रोप्ने कोहीले बीउ उखेल्ने गर्दा धान रोपाइँ पनि एउटा उत्सव जस्तै लाग्थ्यो”, उनले भने।

गाउँघरमा पालो लगाएर असार र साउन महिनामा दिनभर खेतमा धान रोपाइँ गर्ने गरिए पनि अहिले पालो लगाएर धान रोप्ने चलनमा पनि कमी आउन थालेको कृषक अर्यालको अनुभव छ ।

गाउँमा विभिन्न कृषि यान्त्रिकीकरणको प्रयोग बढ्दै जानु, खेतीयोग्य भूमि घरघडेरीमा परिणत हुनु, युवा जनशक्ति रोजगारीका क्रममा विदेश पलालयन हुनु जस्ता कारणले पुरानो मौलिक परम्परा, संस्कृति हराउन पुगेको हो ।

कृषकले पछिल्लो समय उत्पादन बढाउनेतर्फ ध्यान दिन थालेकाले पुरानो प्रविधि छाडेर नयाँनयाँ प्रविधि अङ्गाल्न पुगेका छन् । यसले गर्दा पनि परम्परागत रुपमा चलनचल्तीमा रहेका मौलिक संस्कृति हराउन पुगेको छ ।

अबका पुस्तालाई हिजोको बाजे रोपाइँ, गोरुले जोतेर धान रोप्ने कुरा एकादेशको कथा जस्तै हुन थालेको छ । समयानुसार समाजका धेरै क्षेत्रमा नयाँ चलनचल्तीको शुरुआत भइसकेको छ र यी नयाँ प्रचलनहरु समाजले स्वीकार पनि गरेको छ । समाजका पुरानो पुस्ताहरुले भने आधुनिकता र परिवर्तनका नाममा मौलिक परम्परागत संस्कृति लोप हुन लागेकामा चिन्तित छन् ।

खनजोत गर्न पावर टिलर, मिनी टिलर, ट्र्याक्टरको सुविधा गाउँगाउँमा पुगेपछि खेती गर्ने परम्परामा परिवर्तन आउन पुगेको छ । विभिन्न निकायबाट कृषि बाली उत्पादन बढाउन आधुनिकीकरण औजार कृषकलाई उपलब्ध गराउन थालेपछि कम लागत र छोटो समयमा कृषकले खेती गर्न थालेको रामपुर नगरपालिका कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउनुहुन्छए ।

“पहिला खेती धेरै मेहनत र लगानी गर्नुपथ्र्यो, अहिले कम लागतमा छोटो समयमा आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्न थालेपछि काम छिटो सम्पन्न भएको छ भने कृषकले पनि राम्रै उत्पादन लिने गरेका छन्”, उनले भने।

कृषकले पछिल्लो समय उत्पादन बढाउनेतर्फ ध्यान दिन थालेकाले पुरानो प्रविधि छाडेर नयाँनयाँ प्रविधि अङ्गाल्न पुगेका छन् । यसले गर्दा पनि परम्परागत रुपमा चलनचल्तीमा रहेका मौलिक संस्कृति हराउन पुगेका छन् । नेपाल सरकारले असार १५ लाई हरेक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा मनाउन थालेको छ । पहिलेको असार १५ को जस्तो रौनक भने यो दिवसमा पनि पाइँदैन ।

एकैघरमा हलगोरु देखिनै छोड्यो

परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोप्न थालिएको छ । पाल्पामा गोरुले खेत रोप्ने पुरानो परम्परा हट्दै गएको छ । एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनी टिलर, ट्र्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हुँदा यसप्रति कृषकको आकर्षण बढेको हो ।

रामपुर नगरपालिका–५ बाङ्गेपसल बस्ने कृषक ऋषिराम रेग्मीले छोटो समयमा धेरै काम सम्पन्न हुने भएपछि गोरुको ठाउँमा पावर टिलर, मिनी टिलर, ट्र्याक्टर लगाएर धान रोपाइँ गर्न थालेको बताउनुभयो । कम लगानीमा काम छिटो सम्पन्न हुने भएपछि कृषकलाई धान रोपाइँ गर्न सजिलो भएको उनी बताए ।
गोरुले रोपाइँ गर्दा एक हप्ता दश दिनअघि देखि हल, खेतालाको बन्दोबस्त गर्नुपथ्र्यो । गोरुले जोत्दा कृषकलाई लागत पनि बढी पर्दछ भने समयमा नै हलगोरु नपाउँदा कृषकले निकै दुःख भोग्नुपथ्र्यो । यस समस्याबाट पनि कृषक अहिले मुक्त भएका छन् ।

गाउँगाउँमा ट्र्याक्टर, पावर टिलर, मिनी टिलर भित्रन थालेपछि गोरुले खेत रोप्ने चलन हट्दै गएको हो । यसकारण पनि यहाँका किसानले गोरु पाल्न झन्झट मान्ने गरेका छन् । वर्षात एवं अरू बेला जोत्नका लागि हरेक घरले वर्ष दिनभरि पाल्नुपर्ने हुँदा पनि गोरु पाल्ने, गोठाला जाने प्रचलन गाउँघरमा कमै मात्रामा छ । आधुनिक यन्त्रको सट्टामा अब हलगोरु पाल्नु भनेको महङ्गो र झन्झटिलो हुन थालेको किसान बताउँछन् ।

पहिले हुने खानेहरुले एक्लै हलगोरु पाल्ने गर्दथे भने थोरै खेती हुनेहरु मिलेर एकएक गोरु पालेर मेला पर्म गर्ने गर्दथे । अहिले एकै घरमा हलगोरु भने देखि नै छोडेको छ । अहिले खेतीपाती धेरै भएका किसान पनि हलगोरु पाल्दैनन् बरु यान्त्रिकीकरणतर्फ नै आकर्षित छन् ।

खाजा र कृषि सामग्रीमा समेत आधुनिकीकरणको प्रभाव
पहिले असारे रोपाइँका बेला खाने गरेको खाजा अहिले प्रायः पाइँदैन । अहिलेका युवाहरुका अगाडि ती खाजाहरु अब पुराना भइसके । पहिले पहिले असारे रोपाइँमा सेलरोटी, चिउरा, खट्टे, चाम्रे, दालभात, खिर, चामलको पुवा आदि खाने चलन थियो तर अहिले त्यस्तै छैन । अहिले खाजा पनि आधुनिक नै जस्तो चाउचाउ, बिस्कुट, पाउरोटी आदिको प्रचलन छ ।

पहिले त रोपाइँका लागि भनेर पहिल्यै चामल पारेर राख्ने तथा अरू गेडागुडीलगायत तरकारी र दालहरु पनि तयार गरेर राख्ने गरिन्थ्यो । अहिले भने तत्कालै जे उपलब्ध हुन्छ त्यस्तै ‘फास्टफुड’ खालको खाजा हुने गर्दछ ।

त्यस्तै पहिले विशेषगरी वर्षातको समयमा र रोपाइँमा प्रयोग गरिने स्याखुहरु अहिले देख्न पाइँदैन । त्यसको सट्टा अहिले रेनकोट, प्लास्टिकमात्र प्रयोगमा छन् । चैत÷वैशाखको गर्मीयाम अर्थात् फुर्सदका बेलामा रोपाइँलाई आवश्यक पर्छ भनेर स्याखुलगायत आवश्यक सामग्रीहरु बनाएर राख्ने गरिन्थ्यो । अहिलेको पुस्तालाई त स्याखु भनेको कस्तो हुन्छ भन्ने विषयमा समेत चित्र बनाएर देखाई दिनुपर्ने अवस्था आएको छ । स्याखुको प्रचलन लगभग हराई नै सकेको छ ।

यान्त्रिकीकरणको प्रयोगले मजदूर पनि विस्थापित

जिल्लामा बढ्दो यान्त्रिकीकरणको विकास र प्रयोगले काम गरेर खाने श्रमिक, मजदूरहरु विस्थापित हुन पुगेका छन् । कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रिकीकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक, मजदूरको आम्दानीको स्रोत नै गुमेको छ ।

परम्परागत कृषि औजारको सट्टा खनजोत गर्ने हाते ट्र्याक्टर, पावर टिलर, बीउ रोप्ने मेसिन, धान काट्ने मेसिन, गहुँ ठटाउने, धान झाँट्ने मेसिनको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आबद्ध कृषि मजदूर विस्थापित हुन पुगेका हुन् ।

कम लगानीमा छोटो समयमा धेरै काम लिन जिल्लाको माडी, अर्गली, कचल, सर्देवा, हुँगी, दोभान, रामपुर फाँटहरुमा कृषि यान्त्रिकीकरणको प्रयोग हुन थालेपछि यस क्षेत्रका सयौँ कृषि मजदूरहरु विस्थापित हुन पुगेका छन् ।

घरमा गोरु पालेर अरूको खेतबारी जोतेर वर्षमा रु ५० हजारभन्दा बढी आम्दानी गर्न सफल हनुभएका रामपुर नगरपालिका–५ बहखोला बस्ने धनबहादुर श्रेष्ठ गोरुको विकल्पमा गाउँमा ट्र्याक्टर आएपछि आम्दानीको स्रोत नै गुमेको बताए ।

ट्र्याक्टर गाउँमा नभित्रिँदासम्म उहाँलाई वर्षायाम शुरु भएपछि खेतमा धान रोपाइँ गर्न भ्याइनभ्याई हुन्थ्यो । एक दशकयता भने आफूले गोरुले जोत्दै आइरहेको खेतमा ट्र्याक्टरबाट रोपाइँ हुन थालेपछि आम्दानी गर्ने बाटो नै बन्द भएको उनको भनाइ छ ।

“बर्खामा खेत जोतेर गरेको आम्दानीले दशैँसम्म खर्च सजिलो गरी चल्दथ्यो, हिजोआज यान्त्रिकीकरणको विकास भएसँगै हलोको सट्टा हाते ट्र्याक्टर, पावर टिलर तथा ठूला ट्र्याक्टर गाउँमा भित्रिएपछि हलो जोतेर खाने हलीहरुको पेशा चौपट भएको छ”, उनले गुनासो गरे ।

कृषि यान्त्रिकीकरणको विकासका कारण जिल्लाभित्र एक हजारभन्दा बढी श्रमिक तथा मजदूर विस्थापित भएका छन् । साबिक जिल्ला कृषि विकास कार्यालयले अनुदानका रुपमा कृषकलाई विभिन्न कृषि यन्त्र वितरण गरेपछि हलियाहरुको पेशा गुमेको हो ।

कृषि क्षेत्रमा मात्र नभई निर्माण क्षेत्रमा समेत यान्त्रिकीकरणका कारण निर्माण सम्बद्ध मजदूरहरु पनि आफ्नो गाउँठाउँको रोजगारी गुमेको बताउँछन् ।

नयाँ सडकका ट्र्याक खोल्ने क्रममा होस् वा ट्र्याक खुलेका सडकका स्तरोन्नति, मर्मत, सुधारका क्रममा यतिखेर मानवीय श्रमको विकल्पमा डोजरको प्रयोग गर्दा कम आयस्रोत भएका मजदूरको रोजगारी नै गुमेको छ ।

पछिल्लो अपडेट