ताजा अपडेट »

जातिय प्रथा: सामाजिक सद्भावमा अड्चन

मंगलबार, २९ असार २०७८, १६ : २१
92 Shares

शिष्ट र सभ्य विभेदको शिकार भएकी रुपा सुनारको घटनाले सामाजिक सञ्जाल र प्रगतिशील मस्तिष्क बहिष्करणको भुमरीमा रन्थनिएको छ । रन्थनिएको बिम्ब भने नेपालको हरेक कुनाकन्दरा र संयुक्त राज्य अमेरिकाबाट पनि आक्रमक शैलिमा विरोध गरेको देखियो । यसबाट के बुझ्न सकिन्छ भने जात व्यवस्था विरुद्ध दलित र नदलित दुबै समुदाय जुरुक्क उठ्न खोजिरहेका छन् भन्ने कुरा बुझ्न कत्ती पनि गाह्रो छैन ।

शासित व्यवस्था टिकाई राख्न अवैज्ञानिक ढंगबाट बनाइएका अछुत र छुट, दानव र मानव अन्याय र न्यायको जब गम्भीर सवाल आउँछ यसै बीचमा पटकपटक उच्चारण गरिन्छ सामाजिक सद्भाव । विभेदको सरगममा सामाजिक सद्भाव बारे सामाजिक सञ्जालमा दुई धुर्वीय तर्क राखेको पाइन्छ । एकपक्ष, सामाजिक सद्भाव भनेको त्यस्तो हुनुपर्छ जोकोही सँग जुनसुकै आधारमा विभेद भए ता पनि सहेर बस्नुपर्छ यदि समाजमा सहेर नबसे समाज खलबलाउछ, हिंसा बढ्छ र अशान्त हुन्छ ।

शान्तिको खातिर पनि यो विस्तारै परिवर्तन वा हट्दै जाने भएकोले सकेसम्म यस्ता घटना बाहिर ल्याउनु हुँदैन केको निम्ति ? सामाजिक सद्भावको निम्ति । अर्कोपक्ष, सामाजिक सद्भाव भनेको त्यो हो जहाँ जात, धर्म, लिङ्ग, भुगोल, रङ्ग, भाषा, सँस्कृति, भेष, राजनीति र सङ्ख्या आदिको आधारमा विभेद नगरी सम्मानजनक, सहअस्तित्व र सहकार्यद्वारा शान्तिपूर्ण मिलेर बस्नुलाई नै सामाजिक सद्भाव भनिन्छ ।

सामान्यतया यी दुई तर्कमा सर्वमान्य तर्क उत्पीडित समुदायले भनिरहेको सामाजिक सद्भाव ठिक हो भने ता पनि यसको पक्षमा जोडतोडले किन लाग्दैन्न यस पछिको मनोवैज्ञानिक कारण के हुन ? हिन्दु समाज भित्र सामाजिक सद्भावको वैचारिकि बनावट कस्तो छ ? कुनकुन सामाजिक अपराधीहरुको पकेटबाट यस्तो भाष्य जन्म भैरहेको छ ? यी प्रश्नको उत्तरको निम्ति आजको वर्तमान समाजको अवस्था मात्रै नियालेर निचोड निकाल्न गाह्रो र अपूरो हुन्छ यसको निम्ति छ हजार वर्ष पहिलेको दक्षिण एसियाको सामाजिक संरचना केलाउनु पर्ने हुन्छ ।

पाकिस्तान र भारतको भूमिमा रहेको सिन्धुघाँटी सभ्यता हो । सिन्धुघाँटी सभ्यताका द्रविक र आस्त्रिक मुलका विभिन्न जातिले निर्माण गरेको हडप्पा र मोहेनजोदारो (ई.पू ३२५०–ई.पू २७५०) महासभ्यताको आर्यद्वारा गरिएको विनाश, लादिएको वर्ण व्यवस्था र हाल रहेको भूगोलको नेपालमा तीन दिशाबाट आर्य प्रवेश पश्चात् समाजमा विकसित भएको कथित सामाजिक सद्भावको भाष्यबारे फेरि ईतिहास उत्खनन गर्नुपर्ने हुन्छ ।

दक्षिण एसियामा आर्यको प्रवेश
ई.पू ३००० भन्दा अगाडि अर्थात छ हजार वर्ष पहिले इरानतिरबाट भारत प्रवेश लगत्तैयहाँको सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा हस्तक्षेप गर्न थालेको मानिन्छ । विश्वको पुरानो ग्रन्थ ऋग्वेद आर्यको ग्रन्थ हो । जनश्रुतीद्वारा पुस्तान्तरणहुँदै आउँदा इ.पू १५००–१००० बीचमा यसलाई सङ्कलित र सम्पादन गर्ने काम व्यास नाम गरेको मान्छेले गरेका हुन । तत्पश्चात ऋग्देवको दशौँ मण्डल मध्ये दशौँ मण्डलमा व्यासकालिन अवधिमा शासकको आवश्यकतामा आधारित मान्यता थपियो ।

दशौँ मण्डल हालसम्म सुन्दै आएको विराट पुरुषको मुखबाट ब्राह्मण, हाटबाट क्षत्रीय, जांघबाट वैश्य र खुट्टाबाट शुद्र जन्मिएको उल्लेख गरिएको छ । दशौँ मण्डलमा बाहेक अन्य मण्डलमा जस्तो संरचना भेटिदैन । यसलाई समाजमा स्थापित गर्ने बाटोमा आर्यहरु थिए जतिबेला नगरीय सभ्यता भएको सिन्धुघाँटीको सामाजिक र राजनीतिक प्रभुत्वको निम्ति यस सभ्यतामाथि आक्रमण सुरु गरे अन्नतः यस सभ्यतामाथि विजय हासिल गरेपछि गोरो र चुच्चो नाक भएको आर्यद्वारा सौन्दर्य दृष्टिमा विभेदजन्य विचार सिर्जना गरियो र पहेंलो कालो र रातो रङ भएको द्रविक र आस्त्रिक जातिको सुन्दरतालाई घृणा गर्न आर्य अहङ्कारको थालनी भयो ।

पराजित भएका द्रविक र आस्त्रिक जातिलाई दास बनाउने व्यवस्थाको आरम्भ भयो । दास व्यवस्थाको निरन्तरतासँगै दास र आर्यको जनसंख्या वृद्धिले राज्य खण्ड खण्ड हुने आर्य भित्र नै चल्यो । यसले फुटको स्तरमा पुर्यायो । अन्यायको विरुद्ध अनार्यले युद्ध गरे तर पराजित भई फेरि अनार्य र आर्यद्वारा पराजित आर्यहरु पनि दास भएका थिए । पराजित आर्य र नआर्यहरुलाई श्रमजन्य काम गराउन थालियो ।

ठ्याक्कै यहीँ समय अवधिमा पुरोहित्याईँ गर्ने, ज्ञान र शिक्षा आर्जन गर्ने र इश्वरको दुतको रुपमा काम गर्ने ब्राह्मण, सैनिक र प्रशासनिक काम गर्ने क्षत्रिय, पशुपालन, खेतीपाती र सेवामूखि व्यापार गर्ने वैश्य र श्रम, शिल्पी र सेवाको काम गर्ने शुद्र गरि चार वर्ण विभाजन गरियो । सुरुमा रङ्गको आधारमा स्थापित वर्ण व्यवस्था विस्तारै आर्य शासित राज्यमा वर्ण व्यवस्था शासनको सामाजिक मर्यादा र श्रमिक पहिचानको रुपमा अर्थाउन थालियो ।

श्रम विभाजनपछि र कठोर वर्ण व्यवस्था क्रुर र पाशविक तरिकाले अगाडि बढाइयो र शुद्रलाई किन्न, बेच्न, वेश्यावृत्ति र दास बनाउन थप परिस्कृत गर्दै सामाजिक चलन बनाइयो । पशुभन्दा पनि निम्न तहमा मान्छेलाई नारकीय जीवनमा बाच्न बाध्य पारियो । वर्ण व्यवस्था भित्र करिब १००० वर्षसम्म पनि छुट र अछुत व्यवस्था थिएन तर दासहरुको जनसंख्या वृद्धिले सबै शुद्रलाई दास बनाउन असम्भव भए पछि फेरि दास भित्र पनि छुट र अछुत सुनियोजित तरिकाले लादियो ।

रोचक कुरा त के छ भने संसारभर श्रम विभाजन आवश्यक थियो र श्रम विभाजन गरियो तर दक्षिण एसिया अन्य मुलुक भन्दा धेरै भिन्न र अन्यायपूर्ण श्रम विभाजन थियो ।दुनियाँमा श्रम विभाजन भए पछि पेशा छनोट गर्ने स्वतन्त्रता थियो ।यदि चाइनाको माओ थर भएको मान्छे इच्छा र योग्य भए बमोजिम निज व्यक्ति व्यापारी बन्न पनि सक्छ,गुरु बन्न पनि सक्छ ,श्रमिक बन्न पनि सक्छ र प्रशासक बन्न पनि सक्छ तर दक्षिण एसियाको हिन्दु समाजको श्रम विभाजन भने अनुल्लङ्घनीय थियो।तीष्ण बुद्धि भएको शुद्रले पढ्न पाउने अधिकार थिएन ,व्यापार गर्न चाहाने ब्राह्मणले व्यापार गर्ने अधिकार थिए ।

प्रशासक हुन चाहने वैश्यलाई प्रशासक हुने अधिकार थिएन ।शिल्पी काम गर्न चाहाने क्षेत्रीलाई अधिकार थिएन यस्तो प्रतिबन्धपुर्ण श्रम विभाजन केवल दक्षिण एसियामा मात्रै थियो । हिन्दु समाजमा तोकिएको परिधिभित्र मात्रै श्रम गर्ने कानुनले विश्वमा दक्षिण एसिया आर्थिक र सामाजिक चेतनाले पिंधमा परिरहेको छ ।

यस्तो कहालिलाग्दो प्रतिकुल अवस्था देखेर बौद्ध र जैनका सामाजिक अभियान्ताले आन्दोलन गरे तर यस आन्दोलनले वर्णाश्रमी ब्राह्मणलाई खासै असर गरेन फलस्वरूप शुद्रको अवस्था उस्तै रहयो । आन्दोलनताका तिनमाथि प्रत्याक्रमणको क्रममा ब्राह्मण राजा मनुले (जन्म लकभग इ.पू २००) वर्ण व्यवस्थालाई थप छुवाछूत सहितको वर्णव्यवस्था घृणित तरिकाले कानुन नै बनाएर लागू गरे । मनुस्मृतिकाल भरि शुद्र, ढोल र नारी यातनाको भागिदार भन्ने कानुन स्थापना गरियो । वर्ण व्यवस्था र श्रम विभाजन सबैभन्दा अति नै आवश्यक कसैलाई थियो भने त्यो ब्राह्मणलाई थियो जसले श्रम लुट्न विभिन्न हथकण्डा अपनाए किनकि सदैव मालिक हुनु थियो ।

वैश्य र शुद्रकले जुनसुकै कालखण्डमा वर्ण व्यवस्था विरुद्ध आवाज उठाउन सक्छ भनथानेपछि वैश्य र शुद्रमा उपजातहरु सिर्जना गरियो त्यो पनि पेसा अनुसार जात व्यवस्था लादियो । एकअर्कामा अन्तरविरोधको बिउ उब्जाइएको थियो । यस्तो किसिमको विभक्त प्रणालीमा एउटै जात र एकै वर्ग पनि एकीकृत भएर उठ्न सक्ने कहिले भएनन् अन्नतः जातवादी ब्राह्मणधर्मिय सामन्तवादलाई चिरस्थायी बनाउन पेसालाई अनुल्लङ्घनीय र वर्ण व्यवस्थामा छुवाछूत थोपरियो ।

हालको नेपालमा आर्यको प्रवेश
एक दिशा :
हिन्दु ब्राह्मण नेपाल आउनु अगाडि नेपालमा मंगोल मुलका जाति जो प्रकृतिपुजक थिए । इसाको प्रथम शताब्दी किराँत राज्य स्थापना भएको थियो । इसाको दोस्रो शताब्दीको थालनी सङ्गै वर्ण व्यवस्था नभएको वाग्मती उपत्यकामा किराँत राज्यको पतनसँगै भारतबाट आएका हिन्दु ब्राह्मणको लिच्छवि वंशको शासन सुरु भयो । (लिच्छविकाल सन २०० देखि ८७९) भारतमा वर्ण व्यवस्थामा खुङखार भएका ब्राह्मणले वाग्मती उपत्यकामा चार वर्ण अठार जातको स्थिति कायम गरियो ।

यस कालखण्डको अन्ततिर सन ६०० सम्म वर्ण व्यवस्था भित्र छुवाछूत पनि भित्र्याइयो र लिच्छविकाल दिवंगत भयो । लिच्छविकाल पतनपछि हिन्दुधर्मीय मल्लकालको जयस्थिति मल्लले पनि केही उदारता देखाएनन् बरु व्यापक र कठोरपूर्ण लागू गर्न भारतबाट कट्टर ब्राह्मणहरुलाई बोलाई चार वर्ण चौसट्ठी जात व्यवस्थामा समाजलाई छिन्नभिन्न बनाइयो र छुवाछूत द्रुत गतिमा कुदाइयो ।

दोस्रो दिशा: इसापूर्व २७६–२३६ सम्म बढिमा इसाको पाचौं शताब्दीतिर कर्णालीको आसपार बस्ने खसहरु प्रकृतिपुजक, मतवाली र मस्तोपुजक थिए । ढिलोमा पाचौं शताब्दी तिर प्रवेश गरि खसले विभिन्न राज्य निर्माण गरेका थिए । बाह्रौ शताब्दीमा मुस्लिमको आक्रमणबाट लखेटिएका ब्राह्मणहरु सुरक्षित र खेतीयोग्य जमिन खोज्दै भारतको कुमाऊ, पौड–गढवालहुँदै महाकालीको पूर्वतिर बढ्यो । खस आर्यको सम्झौतापछि एकता भयो । वर्ण व्यवस्था लागू गरियो । समयक्रममा गोरखाको राजा राम शाहले (सन १६०५–१६३६ ) चार वर्ण छत्तीस जात गरेपछि यस राज्यमा पनि छुवाछूतयुक्त वर्णव्यवस्था थियो ।

तेस्रो दिशा: तराई क्षेत्रमा धेरै कुरा अनुसन्धान गर्न बाँकी रहँदासम्म पनि प्राप्त निम्नलिखित तथ्य राख्न सकिन्छ । भारतबाट फैलिदै मैथिली, अवधी लगायत भाषा बोल्ने आजको नेपालमा आइपुगेको थियो । लोकदेवताको रुपमा पुजिने सहलेस भने जातपात विरोधी थिए।तराई क्षेत्रमा अहिले पनि सहलेसलाई देवताको रुपमा पुजिन्छ । सहलेसको विरोधबाट स्पष्ट यो हुन्छ कि तराई क्षेत्रमा पनि वर्ण व्यवस्था थियो । हालमा नेपाल भनिने वाग्मती उपत्यका र खस आर्यबाट तराईमा वर्ण व्यवस्थाको विस्तार नभई भारतबाट नै आयातित हो भन्ने गरिन्छ ।

आधुनिक नेपालमा वर्ण व्यवस्थामा अझ कठोर
–शुद्र र वैश्यको कठोरपूर्ण र पिडादायक शृङ्खलासँगै असली हिन्दुस्थान बनाउने अभिलाषाले पहाडीया हिन्दु उच्च जातका पृथ्वीनारायण शाहले राज्य विस्तारसँगै वर्ण व्यवस्था पछिपछि लागू गरे फलस्वरूप हिन्दुधर्मीय वर्ण व्यवस्था सिङ्गै नेपालको शासकको जातीय धर्म बन्न पुग्यो । समाज भित्र एउटा ब्राह्मण वा क्षेत्रीले भाउजूसँग यौन सम्बन्ध राखे जेलमा राखिन्थ्यो तर शुद्रलाई काटिन्थ्यो । अनौठो कुरा के छ भने अलग्गै आफ्नो पहिचान भएको र जात व्यवस्था नभएको जनजाति माथि साँस्कृतिक अतिक्रमण गरियो । वर्ण व्यवस्था लादियो । विस्तारै जनजातिको मौलिक परम्परा लोपोन्मुख अवस्थामा पुगे । खस आर्यलाई श्रेष्ठता वैधानिक प्रदान गर्न वर्ण व्यवस्था सबै समुदायमा घुसाइयो । भीमसेन थापाले (१८६२–१८९६)पनि वर्ण व्यवस्था बलियो बनाउन मद्दत गरे ।

लिखित मुलुकी ऐन
बेलायतको बफादार कुकुर भनेर कुख्यात जंग बहादुर राणाले १९१० सालमा लिखित मुुलुकी ऐन मार्फत सबै अछुतलाई पानि नचल्ने बनाए । महिलालाई बजारको सामान जस्तो गराए । ल्याईते, ब्याईते, कोठे र भित्रिनि पट्टीका चार भागमा महिलालाई श्रेणिबद्ध गरि दरबारमा यौन धन्धा चलाए । जंग बहादुरको करिब चालिस श्रीमती थिए भन्ने अनुमान गरिन्छ । शुद्रलाई पशु स्तरमा राखियो । वैश्य भित्र एकता कायम नहोस् भन्ने नियतले वैश्य मतवालीलाई मासिन्या र नमासिन्या बनाए । राज्यको सहयोगी मगर, गुरुङ, राई र लिम्बू लगायतलाई नमासिन्या वा काट्न नमिल्ने र तामाङ लगायत अन्य जातलाई मासिन्या वा काट्न मिल्ने । लिखित कानुन बनाई जनजाति भित्र सामाजिक, आर्थिक र राजनीतिक गहिरो खाडल खने ।

२००७ सालको वरपर विपि लगायत अन्य वामपन्थी नेताहरुको उदय भयो । नव उदयमान नेताहरुले गुणात्मक राजनीति परिवर्तन गरे तर सामाजिक परिवर्तन भने गर्न सकेनन् । २०१७ सालको कु पश्चात् निरंकुश शासक महेन्द्रले विःस २०२० सालमा विभेद गर्न पाइदैन त भने तर घुमाउरो पारामा सनातन संस्कार चलि आएको परम्परामा कानुनले छुने छैन भन्दै उत्पीडित समुदायमा अन्याय गरे । जालझेल गरे । २५० वर्षसम्मको सामाजिक अपराधको परिणामस्वरूप आज शाह वंशको अस्तु नागअर्जुनमा सेलाइएको थियो ।

उज्यालो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भित्रको दक्षिणपन्थी समुहको सामाजिक सद्भावको बनावट र मनोवैज्ञानिक भाष्यको स्रोत भनेको नै भारतका छ हजार पहिलेका आर्य, महाकाली प्रवेश गरेका आर्य, वाग्मती उपत्यकामा आएका लिच्छवि आर्य, तराईमा आएका आर्य, गोरखाका राम शाह, पृथ्वीनारायण शाह, जंग बहादुर राणा र महेन्द्रबाट सम्पादन भएका विचारबाट प्रेरित सामाजिक सद्भाव हुन ।

आज भनिएको सामाजिक सद्भावको उत्पत्ति उल्लेखित समुह वा व्यक्तिको फोटोकपी नै हो । दक्षिणपन्थीको सामाजिक सद्भावको जग भनेको नै असमानता र विभेद हो । यसलाई (जात व्यवस्थाः सामाजिक सद्भाव) ध्वस्त पारे मात्रै सर्वमान्य सामाजिक सद्भावको विचारले समाजमा प्रभाव जमाउने छ र संविधान प्रदत्त नेपाल समाजवाद उन्मुख यात्रामा हिड्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।