ताजा अपडेट »

प्राचीन खेल डोरी तान देशभरि विस्तार

मंगलबार, २९ असार २०७८, ११ : ४२
26 Shares

भक्तपुर । जुनसुकै उमेर समूह तथा लिङ्गका व्यक्तिबाट रमाइलो गर्दै खेलिने प्राचीन डोरी तान खेललाई देशव्यापीरूपमा विस्तार गरिने भएको छ । परम्परादेखि नै चल्दै आए पनि पछिल्लो समयमा यी खेल ओझेलमा पर्दै गएपछि डोरी तान्ने नेपालको पुरानो खेललाई जोगाउन नेपाल डोरी तान सङ्घले यो खेललाई देशव्यापीरूपमा विस्तार गर्ने भएको हो ।

यसै क्रममा डोरी तान सङ्घ (नेपाल टग अफ वार)वाग्मती प्रदेशका अध्यक्षमा सुन्दरकुमार शाक्य (भक्तपुर) चयन भएका छन् । उपाध्यक्षमा आशिष श्रेष्ठ (ललितपुर), सचिवमा निरोज महर्जन (ललितपुर), कोषाध्यक्षमा जमुना महर्जन (मकवानपुर) र सहसचिवमा मुरारीप्रकाश सञ्जेल (काठमाडौंँ) चयन भएका सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी प्रदेश सदस्यमा कर्मावाङ्गेल लामा (सिन्धुपाल्चोक), ओम प्रधान (सिन्धुली), रमेश श्रेष्ठ (धादिङ), प्रल्हाद खनाल (काठमाडौँ), नारायणप्रसाद श्रेष्ठ (रामेछाप), जानकी गुरुङ (काठमाडौँ), हीरा शर्मा नेपाल (काभ्रे) र श्रीराम दाहाल (काठमाडौँ) चयन भएका छन् । जिल्ला शिक्षा अधिकारी हुँदै शिक्षा मन्त्रालय एवं मातहतका कार्यालयमा सेवा गर्दै हाल अवकाशप्राप्त अध्यक्ष शाक्यले खेललाई विद्यालयस्तरमा विस्तार गर्दै लगिने बताए ।

नेपाल टग अफ वारका केन्द्रीय अध्यक्ष भवानी पौडेलले कार्यक्रममा सङ्घका भावी योजना, कार्ययोजना, विगतमा भएका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेशका संयोजक श्रेष्ठले चयन भएका समितिको नामावली घोषणा गर्दै सङ्घलाई बाँकी दुई प्रदेश र जिल्ला हुँदै देशभरि विस्तार गरिने बताए । कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष सूर्य भण्डारीले स्कूल र कलेजमार्फत डोरीतान खेललाई विस्तार गरिँदै लगेको बताए । अन्तरराष्ट्रिय डोरी तान महासङ्घको नियमानुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाइन्छ ।

रासस
लेखकको बारेमा
रासस