ताजा अपडेट »

आयोजना प्रभावितलाई छ करोड क्षतिपूर्ति

आइतबार, १२ साउन २०७६, ११ : ४४
4 Shares

साउन १२,

कावासोती । हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब  छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ ।

प्रसारण लाइन आयोजनाको चितवन-बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई  पाँच करोड ८२ लाख ६४ हजार १७८ प्रदान गर्न लागिएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले बताए । क्षतिपूर्ति निर्धारण समितिले क्षतिपूर्ति दिने सो रकम निर्धारण गरेको हो ।

नवलपुरको गैँडाकोट, देवचुली, कावसोती, मध्यविन्दु र विनयी त्रिवेणीका ४७ घर, टहरा तथा ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिस्वरुप रकम प्रदान गर्न लागिएको हो । जसअन्तर्गत ४७ घर, टहराको क्षतिपूर्तिवापत रु पाँच करोड ७१ लाख ६२ हजार ५०० र ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिवापत  ११ लाख एक हजार ६७८ रकम प्रदान गर्न लागिएको आयोजना प्रमुख जैसवालले बताए । हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणको क्रममा प्रसारण लाइनको क्षेत्रभित्र परेका घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्ति प्रदान गर्न लागिएको हो ।

नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिकाअन्तर्गत १६ घर, देवचुली नगरपालिकाअन्तर्गत तीन घर, कावासोती नगरपालिकाअन्तर्गत १८ घर प्रसारण लाइनको क्षेत्रभित्र परेका छन् । यस्तै मध्यविन्दु नगरपालिकामा छ र विनयी त्रिवेणी गाउँपालिकामा चार घर प्रसारण लाइनको क्षेत्रभित्र परेकाले सम्बन्धित घरधनीलाई क्षतिपूर्ति रकम प्रदान गर्न लागिएको प्रमुख जैसवालले बताए । क्षतिपूर्ति निर्धारण समितिले उपलब्ध गराउनुपर्ने घरधनी, रुख बिरुवा पर्ने व्यक्तिको नाम र रकम निर्धारण गरिसकेकाले आयोजनाबाट रकम निकासा भएपछि चाँडै नै आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।