ताजा अपडेट »

गाँजालाई खुल्ला गर्न माग

मंगलबार, २९ असार २०७८, ०७ : ३७
4 Shares

दाङ । दाङको तुलसीपुरमा आइपुगेको नेपाल गाँजा वैधानिक महाअभियानले गाँजालाई प्रतिबन्ध गर्न नहुने बताएको छ । तुलसीपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अभियानका राजीव काफ्लेले लागू पदार्थ नियन्त्रण ऐन २०३३ लाई संशोधन गर्नुपर्ने बताए । बहुउपयोगी गाँजाको विश्व बजार बुझ्न नसकेर नेपालमा गाँजालाई प्रतिबन्ध लगाइएको भन्दै उनले यो तत्कालीन अवस्थामा विदेशीको प्रभावमा परि बनाइएको कानूनले बर्जित गरिएको बताए । उनले भने,‘ गाँजा प्रतिबन्ध गर्न हुँदैन, नियमन गर्नुपर्ने हो । विश्व बजारमा ठुलो माग भएको नेपालको गाँजालाई बजारीकरण गर्न सके आर्थिक रुपमा बलियो हुन्छ ।’ गाँजा सम्बन्धी विद्येयक निर्माणका लागि संसद् सम्म पुगेको भएता पनि अझै बिजनेश पाउन नसकेको उनको भनाई छ ।

उनले गाँजाको स्वाद नै थाह नै नपाएकाले विद्येयक राम्रो बनाउन सक्लान् भन्ने आशंका आफूहरूलाई रहेको बताए । महाअभियानका केन्द्रिय संयोजक जोसेफ मदन कोइरालाले गाँजालाई नियमन गर्ने कानूनको माग गरे । उनले सरकारले प्रतिबन्ध लगाउँदा यसको मारमा किसान परेको बताए । उनले किसानबाट १५-१६ हजारमा खरिद गरेर बिचौलियाले भारतीय बजारमा ३-४ लाख प्रतिकेजी सम्म बिक्री गर्ने गरेको समेत बताए । त्यस्तै महाअभियानका केन्द्रिय सदस्य रबिन बिक्रम डाँगीले गाँजाको महत्व र उपयोगिताका बारेमा शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । उनले भने,‘ गाजा राम्रो होइन, यसलाई खाने काम नलाग्ने मान्छे हुन भन्ने भ्रमको अन्त्य गरिनु पर्छ । ’ त्यस्तै नेपाल सरकारका पूर्व सचिव एवं नेपाल गाँजा वैधानिक महाअभियानका भीम उपाध्यायले भर्चुअल मार्फत गाँजाको महत्वका बारेमा चर्चा गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकार सुशील बस्नेत र खेमराज रिजालले कानूनलाई बर्जित गरिएको गाँजालाई नागरिकका बिचमा उत्पादनमा प्रोत्साहन गर्दा झनै अन्योल हुने बताए । उनीहरूले बहुउपयोगी आयुर्वेद औषधिको रुपमा केहीले बुझेको भएपनि नेपालको कानूनले वैधानिकता नदिएकाले अभियानलाई कानून निर्माण पक्षसँग पुर्‍याउन सुझाब दिए । त्यस्तै कार्यक्रममा सहभागीहरूले गाँजा उत्पादन गरेरमात्र नहुने, यसको बजारीकरण र वैधानिकताको विषयमा आम नेपाली स्पष्ट हुनुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।