ताजा अपडेट »

लुम्बिनीमा साना उद्योगतर्फ आकर्षण, नयाँ उद्योग दर्ता करिब ६ गुणाले वृद्धि

सोमबार, २८ असार २०७८, १६ : १६
6 Shares

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा २६ हजार बढी उद्योग थपिएका छन् । लुम्बिनी प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशमा २६ हजार ३२९ वटा लघु, घरेलु तथा साना उद्योगहरु थपिएका हुन् ।

प्रदेशमा सबैभन्दा बढी साना उद्योग १३ हजार १६५ वटा दर्ता भएका छन् भने १३ हजार १५३ वटा घरेलु उद्योग दर्ता भएका छन् । यसैगरी ११ वटा लघु उद्योग दर्ता भएका छन् । विभिन्न ८ शिर्षकका उद्योगहरु मध्ये सबैभन्दा बढी कृषि तथा वन जन्य उद्योगहरुहरुमा आकर्षण बढी देखिएको छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार १६ हजार ७६२ वटा कृषि तथा वन जन्य उद्योगहरु थपिएका छन् । यसैगरी एक वर्षको अवधिमा ४ हजार ८१ वटा सेवामूलक, २ हजार ८०६ वटा उत्पादनमूलक, १ हजार ८५४ वटा पर्यटन उद्योग, ५५२ उर्जामूलक उद्योग, १७४ वटा सञ्चार तथा सूचना प्रविधि सम्बन्धि उद्योग र निर्माण सम्बन्धि सय वटा उद्योग थपिएका छन् ।

लुम्बिनी प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लघु, घरेलु तथा साना उद्योगहरुलाई प्राथमिकतामा राखिएको बताइन् । रोजगार सिर्जना, उद्यम विकास तथा आर्थिक समृद्धिका लागि साना उद्योगहरुको विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन् । सोमबर मन्त्रालयले सोमबर बुटवलमा आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेशको उद्योगको विकाससँगै वन तथा वातावरण संरक्षणका क्षेत्रमा आवश्यक सुधारसहित कार्यक्रमहरु सञ्चालन गरिने बताइन् ।

कार्यक्रममा मन्त्रालयबाट भएका प्रगति प्रतिवेदन प्रस्तु गर्दै उद्योग, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिपक ज्ञवालीले साना उद्योगहरुमा आकर्षण बढ्दै गएको बताए । पछिल्लो आर्थिक वर्ष २०७६/७७ मा लुम्बिनी प्रदेशमा ४ हजार ५७८ लघु, घरेलु तथा साना उद्योग थपिएको जानकारी गराउँदै उनले यो वर्ष उद्योग दर्ताको संख्या करिब ६ गुणाले बढी भएको तथ्याङ्क प्रस्तुत गरे । गत वर्षको तुलनामा घरेलु उद्योगतर्फ दर्ता हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ५ वटा मात्रै घरेलु उद्योग दर्ता भएका थिए । यसैगरी ४ हजार ५२८ वटा साना उद्योग र ४५ वटा लघु उद्यमहरु दर्ता भएका थिए । पछिल्लो आर्थिक वर्ष २०७५/७६ सम्मको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा ६६ हजार १६८ थिए भने गत वर्ष र यो वर्षमा थप भई ९७ हजार ७५ पुगेको छ । मन्त्रालयबाट भएका प्रगतिहरुको तथ्याङ्क प्रस्तुत गर्दै ज्ञवालीले पूँजीगत कार्यक्रमहरुतर्फ ९० दशमलव १५ प्रतिशत खर्च गर्न सफल भएको बताए । मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा चालू खर्च बाहे विनियोजन भएको १ अर्ब ९७ करोड ६ लाख मध्ये १ करोड ७७ लाख ६४ हजार ६०० खर्च गर्न सफल भएको हो ।

मन्त्रालयबाट भएका कार्यक्रमहरु बारे जानकारी गराउन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भवानी पाण्डे, प्रेस चौतारी नेपालका सचिव भरत केसी, पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल तथा पूर्व उपाध्यक्ष दिनेश पाण्डे लगायतले बोल्दै क्रियाकलापहरुलाई थप पारदर्शी बनाउन सुझाव दिएका थिए । मन्त्रालयमा भए गरेका क्रियाकलापहरु जनताले सजिलै थाहा पाउने गराउनका लागि मिडिया मैत्री हुन सुझाव दिएका थिए । सञ्चारिका समुहको संयोजनमा भएको कार्यक्रमको सञ्चालन समूहकी लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले सञ्चालन गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।