ताजा अपडेट »

सर्वोच्चको फैसलाको जसपा लुम्बिनी प्रदेश समितिद्वारा स्वागत

सोमबार, २८ असार २०७८, १५ : ४०
2 Shares

बुटवल । जनता समाजवादी पार्टी नेपाल, (जसपा) लुम्बिनी प्रदेश समितिले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २४ घण्टाभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको फैसलाको स्वागत गरेको छ ।

पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले मुलुकमा संविधानवादको जित भएको र सर्वोच्च अदालतप्रति जनताको विश्वास बढाएको उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानलाई कुल्चेर स्वेच्छाचारी र निरंकुश ढंगले अघि बढ्दै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभालाई पटक पटक विघटन गरेर मुलुकलाई अन्योलता अंध्यारो सुरुङभित्र धकेल्ने दुस्प्रयास सर्वोच्चको फैसलाले असफल गराइदिएको र यसले संविधानमा आस्था राख्ने आम नेपाली जनताको जित भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी सबैभन्दा पहिला अग्रमोर्चामा उभिएर आन्दोलनमा होमिएको स्मरण गर्दै अब नयां परिस्थितिमा प्रतिगमनविरोधी सबै लोकतान्त्रिक शक्तिहरु एकतावद्ध भई मुलुकलाई सही निमास दिनुपर्ने विज्ञप्तिमा आग्रह गरिएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्ने न्यायमूर्तिहरुप्रति जसपा लुम्बिनी प्रदेश समितिले विज्ञप्तिमार्फत उच्च सम्मान प्रकट गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।