ताजा अपडेट »

कृषि तथा वन विज्ञान विश्वविद्यालयको हुन सकेन सभा

सोमबार, २८ असार २०७८, १२ : २८
32 Shares

चितवन । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यसाथ ११ वर्ष अघि स्थापना भएको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको यस आर्थिक वर्षमा विश्वविद्यालय सभा हुन सकेन ।

नीतिगत नयाँ निर्णयसँगै बजेट अनुमोदन गर्नुपर्ने महत्वपूर्ण मानिने विश्वविद्यालय सभा नहुनुलाई अर्थपूर्ण रुपमा लिने गरिन्छ। राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको विश्वविद्यालयमा लामो समयको रिक्तता पछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि वर्षभर नै विश्वविद्यालय सभा नभइ बितेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको बताए। गएको वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सरेको भन्दै उनले त्यसपछि हालसम्म हुन नसकेको बताए। कोरोना बढेर निषेधाज्ञा भएकाले पनि सभा हुन नसकेको उनको भनाइ छ ।

विश्वविद्यालय स्थापनापछि सभा हुन नसकेको यो पहिलो भएको भन्दै उनले सभाले अघिल्लो वर्षको खर्च अनुमोदन र आउदो वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने बताए। विश्वविद्यालयमा वार्षिक बजेट रु ६९ करोडको हाराहारीमा हुने गर्दछ। विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्य रेग्मीपछि सभाले स्वीकृत गर्ने गरी कार्यकारीले निर्णय गरेर बजेट खर्च गरिएको बताउने भएको छ ।

विश्वविद्यालय सभाको मुख्य जिम्मेवारी रजिष्ट्रारको हुने भए पनि उनको स्वास्थ्य र पारिवारिक कारणले केही समय रोकिएकोमा पछि कुलपतिको समय मिलाउन नसक्दा सभा हुन नसकेको रेग्मीको भनाइ छ। आउदो साउनमा सभा गरेर दुई वर्षको बजेट तथा कार्यक्रम एकै पटक स्वीकृत गर्ने उनले जानकारी दिए ।

यस विश्वविद्यालयको सभामा २५ जना सदस्य रहेका छन्। उपकुलपति र रजिष्ट्रारबीचको आन्तरिक टकरावका कारण समयमा सभा हुन नसकेको विश्वविद्यालयका अन्य पदाधिकारीको भनाइ छ। विश्वविद्यालयभित्रको राजनीतिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण सभा हुन नसकेको वन विज्ञान सङ्कायका डिन प्रा डा बलराम भट्टले बताए ।

विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेले वर्षभर नै सभा हुन नसक्नु लाजमर्दाे विषय भएको भन्दै सरकारले यस विश्वविद्यालयप्रति समयमै ध्यान दिन नसकेमा ठूलो नोक्सान हुनसक्ने बताए ।

रासस
लेखकको बारेमा
रासस