ताजा अपडेट »

फेरि बढ्दै कोरोना सङ्क्रमण र मृत्यु

सोमबार, २८ असार २०७८, ११ : ४९
8 Shares

बागलुङ । सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत रहेकी छन् । गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन् ।

आइसोलेशनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या बढी छ । दुई साता अघितिर अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ पुगेको छ । जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ । यसले केही दिन थामिएजस्तो देखिएको सङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गर्छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९.०१ प्रतिशत मात्र छ । 

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृत्युका घटना पुनः बढेको बताए । “होम आइसोलेशनमा बसेका सङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृत्यु बढेको हो”, उनले भने । शुक्रबार दिउँसो मृत्युवरण गरेकी तमानखोला गाउँपालिका–१ की २३ वर्षीया युवतीलाई पनि अस्पताल ल्याउन ढिलाइ भएको स्रोत व्यक्ति घिमिरेले बताए ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कतिपय कोरोनाका बिरामी अक्सिजनको तह घटेर २५/३० सम्म पुगेपछि बल्ल अस्पताल आउने गरेको सुनाए । “होम आइसोलेशनमा बस्नुभएका सङ्क्रमित अक्सिजन तह ९२ भन्दा तल हुन थाल्यो भने तुरुन्त अस्पताल आइहाल्नुपर्छ”, उनले भने । 

स्वास्थ्य गम्भीर बनेपछि मात्र अस्पताल आएकै कारण कतिपय बिरामीलाई हरप्रयास गर्दा पनि बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले बताए । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उनको भनाइ छ । “बीचमा केही कम भएको थियो, अहिले फेरि कोरोनाका सिकिस्त बिरामी बढेका छन्, यसबाट पनि समुदायस्तरमा महामारी कायमै रहेको देखिन्छ”, प्रमुख चिकित्सक पोखरेलले भने, “जोखिम बढ्दो छ, प्रत्येक व्यक्ति सतर्क र जिम्वेवार नभएसम्म सङ्क्रमण रोकथाम हुँदैन ।”

होम आइसोलेशनमा रहेकालाई आफ्नो स्वास्थ्य स्थितिबारे विशेष रुपमा चनाखो बन्न उनले सुझाव दिए  । सङ्क्रमणले च्याप्दै लगेर अन्तिम अवस्थामा अस्पताल ल्याउँदा कोरोनाको उपचार प्रभावकारी नहुने उनको भनाइ छ । 

स्वास्थ्य कार्यायलको आँकडा अनुसार बागलुङ नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका दुई, तमानखोला गाउँपालिकाका दुई र गलकोट नगरपालिकाको एक वडा कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । जिल्लाभरमा मध्यम जोखिम भएका ३६ र न्यून जोखिम भएका ३९ वडा छन् । पहिलो र दोस्रो लहरमा गरी हालसम्म २० हजार जनामा कोरोना परीक्षण गर्दा पाँच हजार बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा ६९ जनाले ज्यान गुमाइसकेका छन् । उपचारका क्रममा जिल्ला बाहिरका अस्पतालमा मृत्यु भएकाको सङ्ख्या जोड्दा त्यो अझ बढी हुन आउँछ । 

रासस
लेखकको बारेमा
रासस