ताजा अपडेट »

इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली युरोकप च्याम्पियन

सोमबार, २८ असार २०७८, ०७ : ३७
2 Shares

काठमाडौँ । इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा  घरेलु टोली इंग्ल्यान्डलाई  पेनाल्टी सुटआउटमा ३२ले पराजित गर्दै इटाली युरोकप च्याम्पियन बनेको हो । 

निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको दोस्रो मिनेटमा नै किएरन ट्रिपिएरको क्रसमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर, ६७ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै इटालीलाई बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा  गएको खेलमा इटालीले बाजी मार्न सफल भयो । 

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, बोनुची र फेडेरिको बेर्नाडेस्चीले गोल गर्न सफल भए तर, आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

यस्तै, इंग्ल्यान्डका लागि इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा बाधक बने । इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले गोल गरे भने मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर बाहिरियो । तर, जाडोन सान्चो र साका बाकुयोको प्रहार भने डोनारुम्माले रोके । 

त्यसपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो । यस उपाधिसँगै चारपटकको विश्व विजेतासमेत रहेको इटालीले दोस्रो पटक युरोकपको उपाधि उचालेको छ । यसअघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो । तर, लामो समयपछि पहिलो पटक फाइनलमा पुगेको इंग्ल्यान्ड भने घरेलु मैदानमै उपाधि जित्नबाट वञ्चित बन्यो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।