ताजा अपडेट »

मासु पसलमा आईतबारदेखि अनुगमन, मूल्य घटाउन निर्देशन

शनिबार, ११ साउन २०७६, १४ : ३८
6 Shares

साउन १०,

काठमाण्डौं । पछिल्लो समय भारतबाट पशु र पशुजन्य वस्तुको आयात ठप्प हुँदा सबै प्रकारका मासुको मूल्य बढेको छ । चार महिनादेखि समय भारतबाट पशु र पशुजन्य वस्तुको आयात ठप्प छ । भारतबाट पशु र पशुजन्य वस्तुको आयात ठप्प हुँदा व्यापारीहरूले पशु ऐनअनुरूप क्वारेन्टिनमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न नसक्दा गत चैतदेखि खसीबोका आयात रोकिएको हो । 

माग बमोजिम आपूर्तिमा कमी हुँदा सबै प्रकारका मासुको मूल्य बढेको छ । व्यवसायीहरूले भारतबाट आउने खसीबोका र राँगाको आयात रोकेसँगै मूल्य महँगो भएको बताउँदै आएका छन । अहिले बजारमा खसीबोकाको मासु प्रतिकेजी एक हजार ३०० रूपियाँसम्म पुगेको छ । अन्य मासुको पनि यही किसिमले मूल्य बढेको छ । मासुका लागि आउने जीवित पशु भित्रयाउने अहिलेकै अवस्था रहेमा दशैमा मासु प्रतिकेजी २००० रूपियाँसम्म पुग्ने व्यवसायी बताउँछन ।

माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले राजधानीमा खपत हुने खसीबोका करिब ६० प्रतिशत भारतबाट आयात हुने गरेको बताए । उपत्यकामा खपत हुनेमा ठूलो हिस्सा भारतको रहेको भन्दै उनले आयात रोकिएपछि सरकारले स्वदेशमा उत्पादन बढाउनुपर्ने बताए ।

पशु सेवा विभाग अन्तगरतको क्वारेन्टिन इकाइका अनुसार चैतदेखि क्वारेन्टिन प्रमाणपत्र जारी नभएको पशुपन्छी वैधानिक बाटोबाट भित्रिएको छैन । विभागको क्वारेन्टिन इकाइका वरिष्ठ पशु चिकित्सक डा.मोदनाथ गौतमका अनुसार पशु ऐन २०५५ को दफा ११ मा विभिन्न देशबाट पशु वा पशुजन्य वस्तु आयात गर्दा दिनुपर्ने स्वास्थ्य परीक्षण वा क्वारेन्टिन प्रमाणपत्र दिन नसकेपछि भारतबाट मासुका लागि आउने जिउँदा पशु आयातमा रोक लगाइएको छ ।

सरकारले नयाँ केही गरेको होइन, भएको कानूनलाई कार्यान्वयन मात्रै गरेको भन्दै गौतमले कानून विपरीत आउने पशुलाई लिलाम गर्दै पनि आएको बताए । स्वस्थ मासु उपभोग गर्न पाउने आमनागरिकको अधिकारलाई पालना गर्न खोजिएको भन्दै यो कार्यले आमनागरिकको स्वास्थ्य र देशले हाल भोग्दै आएको व्यापार घाटालाई थोरै भए पनि कम गर्न सहयोग पुगे उनले बताए ।

पशु क्वारेन्टिनले कडाइ गरेपछि वैधानिक बाटो हुँदै भारतबाट नेपालमा खसीबोका तथा रागाभैसी आयात रोकिएको छ । पशुसेवा विभागले आर्थिक वर्ष २०७५/०७६ को सुरूदेखि ऐन कार्यन्वयनको अभियान सुरू गरेर फागुनमा विदेशबाट आयातित पशु स्वस्थ रहेको प्रमाणपत्र पेस नगरेसम्म आयात अनुमति नदिन सीमा क्षेत्रका क्वारेन्टाइनलाई निर्देशन दिएको थियो ।

क्वारेन्टाइन ऐन कार्यान्वयनमा ल्याएपछि आयातकर्ताले सम्बन्धित मुलुकबाट आयात हुने पशु स्वस्थ भएको प्रमाण पेस गर्नुपर्छ । पछिल्लो चार महिनादेखि नेपालमा भारतबाट जीवित पशु आयात रोकिए पनि मासु अभाव नहुँदा नेपाल मासुमा आत्मनिर्भर भएको प्रमाणित भएको पनि गौतमले बताए ।

माछा मासु व्यवसायी संघका अध्यक्ष रमेश खडगीले भारतबाट आयात हुने खसीबोका तथा राँगामा क्वारेन्टिनमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रका व्यवसायीले भने चोरी पैठारी गरी ल्याएको बताउँछन् । उनका अनुसार विभिन्न नाकाबाट चोरी पैठारी भएर खसीबोका, राँगा आयात भइरहेको छ  

एक अध्ययन अनुसार नेपालमा वार्षिक ४० लाख हाराहारी खसीबोका खपत हुन्छन र भारतबाट वार्षिक चार लाखवटा राँगा तथा खसीबोका आयात हुने गरेको छ । स्वस्थ्य प्रमाणपत्र लिन दिल्ली र कोलकाता जानुपर्ने भएकाले सहज रुपमा ल्याउन नसकिने भन्दै उनले स्वस्थ्य प्रमाणपत्र लिन टाढा जानुपर्ने भएकाले आयात गर्न नसकिएको र सरकारले तयारी नगरी नयाँ व्यवस्था लागू गरेको बताए ।

सरकारले भने विभिन्न बहानामा बृद्घि भएको मासुको मूल्य घटाउन निर्देशन दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार माछा मासु व्यवसायीलाई बोलाएर मूल्य घटाउन निर्देशन दिएको हो । क्वारेन्टाइन प्रमाणपत्र विना विदेशी मासु नभित्राउने सरकारको नीति राम्रो भए पनि तत्कालका लागि यो व्यवहारिक नभएको उनको भनाई छ । तत्काल नेपाल मासुका आत्मनिर्भर हुन नसकेको अवस्थामा भारतबाट आउने तरकारी जस्तै खसीबोको पनि नाकामै नेपालमै चेकजाँच गर्ने व्यवस्था मिलाउनु पर्छ अध्यक्ष खड्गीको भनाई छ ।

पशुचिकित्सक गौतमले भने नेपाल मासु आयातको अवस्था ठूलो अपुगको समस्या नभएको भन्दै थोरै उत्पादन बढाउन सके विदेशबाट आयात गर्न नपर्ने बाताए । काठमाडौं र पोखरामा विदेशबाट आयात भएको खसीबोका प्रयोग गरे पनि अन्य बजारमा स्वदेशी उत्पादनले माग धानेको उनले बताए ।

स्वदेशी उत्पादनले धान्न नसकेर विदेशबाट वार्षिक करिब आठ अर्ब बराबरको खसीबोका आयात भइरहेको छ । विगत वर्षको तुलनामा यो वर्ष करिब साढे ७७ करोड रुपियाँको पशुजन्य वस्तुको उत्पादन बढेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार दूध, अण्डा, माछा, मासुको उत्पादन बढेपछि यो वर्ष ७७ करोड ७४ लाख ६५ हजार रुपियाँ मूल्यका पशुवस्तुको आयात प्रतिस्थापन भएको छ ।

वाणिव्य, आर्पूति तथा उपभोक्ता हित संरक्षण विभागले मासु मँहँगो हुनुको कारण आइतबारदेखि अनुगमन गर्ने भएको छ । विभागका बजार निरीक्षक अधिकृत दीपक पोखरेलका अनसुार पछिल्ला दिनमा मासु महँगो भएकाले यसको अर्थात अवस्था बुझ्न अनुगमन गरिन लागेको हो । मासु बजारको अनुगमन गरिने र कैफियत भेटिए नयाँ उपभोक्ता ऐन अनुसार कारबाही गरिने भएको छ ।-आर्थिक न्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।