ताजा अपडेट »

भोलि आउने १५ लाख डोज खोप कसले लगाउन पाउने ?

आइतबार, २७ असार २०७८, १६ : ०५
2 Shares

काठमाडौँ । अमेरिकाबाट नेपालले सोमवार प्राप्त गर्ने जोनसन एन्ड जोनसनको खोप शिक्षकसहित अग्रपङ्क्तिमा खटिने पेसाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई दिन प्रस्ताव गरिएको छ।

सरकारको कोभिडसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले चिनियाँ र अमेरिकी खोप एकैसाथ उपलब्ध हुने भएकाले श्रम गन्तव्यको मापदण्ड हेरेर वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदारहरूलाई पनि दिन प्रस्ताव गरिएको बताए। यसबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै साता अन्तिम निर्णय लिने ठानिएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, "खोपहरू हाम्रो भण्डारणमा नआईकन हामीले तिनको वितरणबारे निर्णय गर्ने गरेका छैनौँ।"

जोनसन एन्ड जोनसनको खोप कहिले आउँछ?

अमेरिकी सरकारले जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराउने शुक्रवार घोषणा गरेको हो। कोभ्याक्स अभियानमार्फत उपलब्ध गराइएको उक्त खोप औपचारिक कार्यक्रम गरेर सोमवार नेपाल सरकारलाई हस्तान्तरण गरिँदै छ।

सामाजिक सञ्जाल ट्विटरमा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई गरेको अनुरोधका आधारमा ह्वाइट हाउसले १५ लाख मात्रा खोप उपलब्ध गराएको जनाएका छन्। उनले ती खोप सोमवार बिहानसम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको पनि जनाएका छन्।

जोनसन एन्ड जोनसनको खोप कसले पाउँछन्?

सो खोप ५० वर्षमाथिको उमेर समूहलाई दिन आफूहरूले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको डा. उप्रेतीले बताए। उनले भने, "अब सोच्नुपर्ने समूह भनेको ५० देखि ५५ वर्षको उमेर समूह भनेर हामीले सुझाव दिएका छौँ। त्यसपछि सकिन्छ भने शिक्षकहरूलाई हेर्नुपर्छ।"

"बच्चाहरूमा सङ्क्रमण भए पनि उनीहरू सिकिस्त भई हाल्दैनन् तर उनीहरूले सार्न सक्छन्। त्यही भएर शिक्षकहरूलाई सुरक्षित पार्नुपर्छ।" उनले ५५ वर्षभन्दा माथिको र विगतको उमेर समूहको प्राथमिकतामा परेर पनि खोप लगाउन छुटेका सबैलाई चीनबाट ल्याइएको भेरोसेल खोप दिने निर्णय भएको बताए। त्यसो गर्दा लगभग १९ लाख जनसङ्ख्यालाई खोप दिनुपर्ने अवस्था रहेको र त्यो चीनबाट हाल खरिद् गरिएको ४० लाख खोपको मात्राले पर्याप्त हुने डा. उप्रेतीको भनाइ छ।

त्यसबाहेक वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूलाई पनि उच्च प्राथमिकतामा राखेर खोप वितरण गरिनुपर्नेबारे प्रस्ताव गरिएको उनले बताए। डा. उप्रेती भन्छन्, "रोजगारीबाट फर्किएका कति व्यक्तिहरू खोप लगाउन नपाएर जानै पाएका छैनन्। उनीहरूलाई हामीले चिनियाँ खोप भेरोसेल नै दिन खोजेका छौँ किनभने कतिपय अरब देशमा अरू खोपलाई मान्यता छैन।"

"त्यही भएर हामीले ५५ वर्षमाथिलाई दिएपछि एक-दुई लाख खोप वैदेशिक रोजगारीमा जाने, अध्ययन र उपचारमा जानेलाई दिनुपर्छ भनेका छौँ।" उनले जोनसन एन्ड जोनसन कम्पनीको खोप पनि यसअघि नेपाल भित्रिएका चीन र भारतमा उत्पादित खोपहरू जस्तै ७७ वटै जिल्लामा पठाउन सुझाव दिएको बताए।

निश्चित जनसङ्ख्यालाई खोप दिन सुझाव

समितिका सदस्य समेत रहेका इपिडिमिओलोजि तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. जीडी ठाकुरले अग्रपङ्क्तिमा खटिने जोखिममा रहेको समूहलाई अमेरिकाबाट प्राप्त हुने खोप दिनुपर्ने पक्षमा आफू रहेको बताए।

उनी भन्छन्, "एकदमै उच्च प्राथमिकतामा राखेर शिक्षक जस्तो कुनै निश्चित समूहमा जाने हो कि त्यसबारे सरकारले निर्णय गर्नुपर्छ। जो बढी खतरामा छ र बढी भिडभाडमा खटिनुपर्छ त्यसलाई हामीले खोप उपलब्ध गराउनुपर्छ।"

उनले वैदेशिक रोजगारीमा गएर मुलुकलाई विप्रेषण पठाइरहेका श्रमिकहरूलाई पनि खोप अभियानमा उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव आफूहरूले सरकारलाई दिएको बताए। उनले शक्तिमा रहेका व्यक्तिमात्रै नभई दूर दराजमा रहेको पछि परेको जनसङ्ख्यालाई पनि उत्तिकै प्राथमिकतामा राखेर खोप दिइनुपर्ने जनाए।

के दुवै खोप अभियान एकैचोटी सञ्चालन हुन्छ?

चीनबाट खरिद गरिएको भेरोसेल खोप तीन चरणमा नेपाल ल्याउने बताएको सरकारले उक्त खोप नसकिएसम्म हाल जारी खोप अभियान निरन्तर रहने बताउँदै आएको छ।

जोनसन एन्ड जोनसनको खोप वितरण गर्ने कार्यतालिकाबारे अधिकारीहरूले केही बताएका छैनन्। डा. उप्रेतीले चिनियाँ खोप वितरणको अभियान सम्पन्न गरेर मात्रै जोनसन एन्ड जोनसन खोप उपलब्ध गराउन थाल्नु उपयुक्त हुने धारणा राखे।

उनी भन्छन्, "पहिला हामी चिनियाँ खोप नै वितरण गर्छौँ होला। त्यसकारण कहिल्यै सुरु हुन्छ भन्न सकिँदैन।" "तर मेरो विचारमा दुवै खोप एकैचोटि चल्दैन होला। एउटै खोप केन्द्रमा दुइटा खोप दिने कुरा मिल्दैन। त्यसकारण ४० लाख भेरोसेल प्रयोग गरिसकेपछि हामी जोनसनमा जानुपर्छ भन्ने मलाई लाग्छ।"

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता अधिकारी पनि अलमल हुने हिसाबले खोप केन्द्रहरू नतोकिने बताउँछन्। उनका अनुसार प्राविधिक र विज्ञ टोलीहरूको राय लिएर मन्त्रालयले अब प्राप्त हुन लागेको खोप वितरण गर्ने व्यवस्था गर्नेछ।

हालसम्म नेपालमा भारतमा उत्पादित अक्सफर्ड-अस्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड र चीनमा सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको प्रयोग गरी खोप अभियानहरू चलाइएका छन्।

असार २५ गते शुक्रवारसम्मको तथ्याङ्क अनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या १० लाख १७ हजार ५९६ पुगेको छ। कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।-बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।