ताजा अपडेट »

मेची–महाकाली बुहारीद्वारा किशोरी र महिलालाई सहयोग

शुक्रबार, २५ असार २०७८, २० : ५२
6 Shares

बुटवल । मेची–महाकाली बुहारी संयुक्त आवाज नवलपरासीले किशोरी, सुत्केरी र गर्भवती महिलाहरूलाई लक्षित गरेर स्वास्थ्य सामग्री वितरण गर्नुको साथै परामर्श तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । समूहले बाढीबाट प्रभावित बर्दघाट नगरपालिका ४ का विभिन्न परिवारका ३४ जना किशोरीलाई किशोरी किट, ९ जना सुत्केरी महिला र १० जना गर्भवती महिलाहरूलाई १६ वटा झुल,मर्यादा सामग्रीसहित प्रदान गरेको हो ।

समूहलाई उक्त सामग्री सिद्धार्थ सामाजिक विकास केन्द्र कपिबस्तु शाखाले उपलब्ध गराएको थियो । संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक पोमनारायण पौडेलले उक्त सामग्री हस्तान्तरण गरेका थिए । उद्योग वाणिज्य संघ,नवलपरासीको हलमा भएको सहयोग हस्तान्तरण तथा जनचेतना कार्यक्रम मेची–महाकाली संयुक्त आवाज नवलपरासीकी अध्यक्ष लक्ष्मी भुसालको अध्यक्षता ,मेची–महाकाली संयुक्त आवाज लुम्बिनी प्रदेशकी संयोजक लता खड्काको प्रमुख आतिथ्यता र नवलपरासी शाखाकी सचिव सिता भण्डारीको सञ्चालनमा भएको थियो ।

सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि लता खड्काले महिलाहरु संवेदनशील हुने हुँदा जुनसुकै संक्रमण र संकटमा पनि महिलालाई बढी समस्या र अप्ठ्यारो पर्ने बताउँदै कोरोना महामारी र बाढीले प्रभावित अवस्थामा आफूहरुले सहयोगको प्रयास गरेको बताइन् । साथै उनले उपस्थित किशोरी तथा महिलाहरुलाई किशोर अवस्थाका परिवर्तन, गर्भावस्थामा अप्नाउनुपर्ने सावधानी र शिशु स्याहार सम्बन्धी जानकारी र सचेतना गराएकी थिइन् । त्यसैगरी कपिलबस्तुकी अध्यक्ष चन्द्रा अर्यालले महिलाहरु सदैव एकबद्ध भई अधिकार जिम्मेवारीसँगै समस्या र अधिकारका लागि लागि रहनुपर्ने बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।