ताजा अपडेट »

आइसीसी टी-२०, मलेसिया र कतार बाहिरीए

शुक्रबार, १० साउन २०७६, १५ : ०४
6 Shares

साउन १०,
काठमाण्डौं । सिंगापुरमा भइरहेको आइसीसी टी-२० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत शुक्रवार नेपालको खेल थिएन। तर सबै नेपाली क्रिकेट समर्थकको नजर भने इन्डियन एसोसिएसन ग्राउण्डमा भएको दुई खेलमा थियो। संयोगबस दुवै खेलको नतिजा पनि नेपालको लागि फाइदाजनक बन्यो।

आजको खेलमा पराजित भएपछि कतार र मलेसिया दुई टिम उपाधि होडबाट बाहिरिएका छन्। यस्तै आज जितेका टोलीहरु सिंगापुर र कुवेतसँगै नेपाल पनि अब उपाधि होडमा छ। आजको पहिलो खेलमा कुवेतले कतारलाई १० रनले हराउदै पहिलो जित हात पारेको थियो। यस्तै दोस्रो खेलमा घरेलु टोली सिंगापुरले मलेसियालाई ८ विकेटले हरायो। सिंगापुरसँग हारेपछि दुई हार बेहोरेको मलेसिया पनि शीर्ष स्थाको होडबाट बाहिरिसकेको छ। ३-३ खेल खेलेका कतार मलेसियाको समान २ अंक छ। दुवैले एक खेल जित्दा दुई खेल हारेका हुन्। घरेलु टोली सिंगापुर भने अपराजित रहँदै ५ अंकसहित शीर्ष स्थानमा कायम छ।

यस्तै २ खेलमा १ जित र १ हारको नतिजा निकालेको नेपालको २ अंक छ। नेपालले आफ्नो तेस्रो खेल शनिवार कुवेतसँग खेल्नेछ। पहिलो जितपछि कुवेत ३ अंकसहित दोस्रो स्थानमा छ। अब यस क्वालिफायरबाट विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने होडमा सिंगापुर, कुवेत र नेपाल छन्। सिंगापुर र नेपालको सम्भावना भने अली बढी छ। सिंगापुर र कुवेत दुवैले अब नेपालसँग मात्र खेल्न बाँकी छ।

नेपालले अब बाँकी दुई खेल जितेमा शीर्ष स्थानमा रहेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ। दुई मध्ये एक खेल हारेमा भने नेपालको यात्रा सकिनेछ। यस्तै सिंगापुरले अन्तिम खेलमा नेपाललाई पराजित गर्न सके सिंगापुर विजेता बन्नेछ। कुवेतको हकमा भने कुवेतले नेपाललाई हराउनुपर्नेछ भने नेपालले पनि सिंगापुरलाई राम्रो रनरेटमा पराजित गर्नुपर्नेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।