ताजा अपडेट »

दुई ओटा मात्र कुर्सी राखेर व्यवसाय गर्न उपमहानगरको आदेश

शुक्रबार, १० साउन २०७६, १० : ०४
6 Shares


साउन १०,
ग्लोबल आवाज
बुटवल । पाँच नं. प्रदेशको राजधानी बुटवलमा राती अबेलासम्म बजार खुल्नुपर्ने माग भइरहेको बेला ट्राफिक चोकका लस्सी/कफी व्यवसायी भने विस्थापित हुने अवस्थामा पुगेको भन्दै गुनासो गरेका छन् । वर्षौदेखि साँझको समयमा लस्सी,कफी,मम,सेकुवा व्यापार गर्दै आएका बुटवल –६ ट्राफिक चोकको ठेला व्यवसायीहरु अहिले चिन्तित बनेका छन् ।

विभिन्न आरोप र गुनासो आएको भन्दै एक साता अघि वडाले व्यवसायीले दुई ओटा मात्र कुर्सी राख्न पाउने व्यस्था गरेपछि व्यवसायी मर्कामा परेको गुनासो गरेका छन् । सोही स्थानका ठेला व्यवसायीहरुको संगठन नेपाल श्रमिक स्वरोजगार व्यापार संघका अध्यक्ष विष्णु पाण्डेले बढी हल्ला र विकृति भएको भन्दै वडाले व्यवसायीलाई बोलाएर सर्त मान्न वा बन्द गर्न भनेपछि आफूहरुले दुई ओटा कुर्सी मात्र राखेर व्यवसाय गर्न लागेको बताए ।


उनले भने ‘माथीको (उपमहानगर)को आदेश भन्दै वडाध्यक्षले हामीलाई बोलाएर कि शर्त अनुसार व्यवसाय गर्नुहोस् कि हामी अरु उपाए लगाउँछौं भन्नुभयो । सोही अनुसार २ वटा मात्र कुर्ची राखेर व्यवसाय गरेका छौं । यसरी व्यवसाय गर्दा हामीलाई मर्का परेको छ । ’ उनका अनुसार वडाले तीन सर्त १.साँझ ६ बजेदेखि मात्र व्यवसाय सुरु गरी १० बजे बन्द गर्नुपर्ने २.सो क्षेत्रको सर–सफाई गर्नुपर्ने र ३. एक व्यवसायीले २ वटा मात्र कुर्सी राख्नुपर्ने सर्त राखेको छ । तर,व्यसायीले भने २ वटा सर्त (१ र २) पहिल्यैदेखि मान्दै आएको उनले बताए ।


बुउनपा वार्ड नं.६का अध्यक्ष जगदीश आचार्यले सोही स्थानका भवनमा रहेका व्यवसायीहरुले बढी कुुर्सी राख्दा आफूलाई समस्या परेको गुनासो आएको हुँदा व्यवसायीकै सहमतिमा २ ओटा कुर्सी राख्ने सर्त भएको बताए । उनले भने ‘उहाँहरुले धेरै कुर्सी राखेर व्यवसाय गर्दा भवनमा रहेका व्यवसायीलाई मर्का परको गुनासो आयो उहाँहरुलाई बोलाएर हामीले सहजीकरण मात्र गरेका हौं । यसलाई आगामी दिनमा थप व्यवस्थित बनाउने छौं । वार्ड नं. ६ भित्र नै हामीले रात्रीकालिन बजार चलाउने योजना पनि बनाएका छौं । यस विषयमा होटल व्यवसायी,प्रसाशन लगाएत सबैसँग छलफल भएको छ ।’


संगठनका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार विगत २२ वर्षदेखि सोही स्थानमा लस्सी बेच्दै आएका बाबुराम पोखरेलले उपमहानगरको तेस्रो सर्तले व्यवसायीलाई मात्र नभई साँझको समयमा लस्सी/कफी पिउन आउने पारखीलाई असर परेको बताए । उनले भने ‘विगत २२ वर्षदेखि यही ठाउँमा व्यवसाय गरेको छु । द्वन्दकालमा पनि राती १२ बजेसम्म लस्सी बेचे । तर, अहिले विस्थापित नै भइन्छ कि जस्तो लाग्छ । हामीले आफैं सरसफाई गरेका छौं ,साँझ आएर १० बजेसम्म ४ घण्टा मात्र व्वसाय गर्ने हो तर, अहिले यस्तो व्यवस्थाले मर्का पर्यो ।’

त्यसैगरी विगत १० वर्षदेखि मम,लेगपिस लगाएत चिकन परिकार बेच्दै आएका विष्णु ढेंगाले पनि दुई ओटा मात्र कुर्ची राख्ने सर्तले व्यवसायी र ग्राहकलाई असर परेको बताए । विगत १२ वर्षदेखि लस्सी बेच्दै आएका आफ्ना श्रीमानलाई सघाउँदै आएकी कमला भण्डारीले हालसम्म व्यवसायबाट राम्रो आम्दानी हुँदै आएपनि दुई ओटा मात्र कुर्ची मात्र राख्दा भने असर परेको बताइन् । व्यवसायीका अनुसार वडाले रातीको समयमा भीड र होहल्ला भएको भन्दै नियन्त्रणका लागि सर्त राखेको बताएका छन् । वर्षौदेखि साँझको समयमा ट्राफिक चोकमा लस्सी, कफी लगाएतका पसल सञ्चालन हुँदै आएका छन् ।

कुकर कफीदेखि आधुनिक मेशिनबाट बन्ने कफीसम्म आउँदा यहाँको कफी र लस्सी देशमै परिचित छ । ट्राफिक चोकमा नियमित लस्सी÷कफी, ममका लागि आउने रतन कंडेलले सुुरक्षा व्यवस्था , उचित व्यवस्थापन गरेर सञ्चालन गर्नुका सट्टा स्थानीय सरकारले नियन्त्रण गर्न खोज्नुु राम्रो नभएको बताए । उनले भने ‘साँझको बेला यहाँ रमाइलो हुन्छ । यदि हो हल्ला भए सुरक्षा व्यवस्था मिलाउनु,नियमन गर्नु तर, बन्द नै गर्न खोज्नुु त मलाई ठिक लागेन ।’

१८ जना व्यवसायी रहेको उक्त स्थानमा लस्सी,कफी,चिकन परिकार,सेकुवा, परौंठा लगाएतका परिकारहरु उपलब्ध रहेका छन् । नियमित सोही स्थानमा जाने गरेका सञ्चारकर्मी सुमन श्रेष्ठ भन्छन्,‘बुटवलकै चर्चित र रमाइलो मात्र नभई सस्तोमा साँझको समयमा फ्रेस भई आनन्द लिने ठाउँ र यहाँको यो विशेष्ता देशभर चर्चित छ । यसलाई नियन्त्रण गर्नु खोज्नुु स्थानीय तहको राम्रो आदेश होइन।’ पहिले ग्राहकको भिड लग्ने उक्त स्थानमा अहिले भने सुनसान हुने गरेको छ । कुर्सीकै कारण व्यवसायमा असर परेको व्यवसायीको गुनासो । उनीहरुले सरसफाईका लागि भन्दै उपमहानगरलाई प्रति व्यवसायी मासिक ३ सय बुझाउने गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।