ताजा अपडेट »

मौसमका कारण ७० प्रतिशत उडान रद्द, भिजिविलिटी ६ सय मात्रै

बुधबार, ०८ साउन २०७६, १५ : ३२
10 Shares

साउन ८,
काठमाण्डौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बुधबार हुनुपर्ने ७० प्रतिशत आन्तरिक उडान रद्द भएका छन्।

त्रिभुवन विमानस्थलमा उडान-अवतरणमा कुनै समस्या नभए पनि मुलुकभरका अन्य आन्तरिक विमानस्थलमा खराब मौसम भएका कारण उक्त परिमाणबराबरका उडान रद्द भएका हुन्। ‘बिहानैदेखि परेको अविरल वर्षाले काठमाडौं बाहिरका तीनवटाबाहेक सबै विमानस्थलमा आज कुनै पनि उडान हुन सकेको छैन,’ त्रिभुवन विमानस्थलमा महाप्रबन्धक राजकुमार क्षेत्रीले बुधबार भने, ‘यहाँबाट बिहान केही माउन्टेन फ्लाइट भए अनि भैरहवा, नेपालगन्ज र धनगढी जाने उडान हुनसके पनि अन्त कतै उडान हुनसकेनन्।’

उनका अनुसार आन्तरिक उडान-अवतरण गर्न धावनमार्गको ‘भिजिबिलिटी’ पाँच किलोमिटर हुनैपर्छ। नत्र जहाज उडान-अवतरण गर्न पाउँदैनन्। तर, अविरल वर्षाका कारण अधिकांश विमानस्थल धावनमार्गको भिजिबिलिटी एकैचोटि ६ सय मिटरमा झरेपछि ७० प्रतिशत उडान रद्द भएका हुन्। जहाजको ककपिटबाट पाइलटले सिधा अगाडि पाँच किलोमिटरसम्म प्रष्ट देख्न सक्यो भनेमात्र आन्तरिक उडान-अवतरण गर्न पाउने नियम छ। यसरी पाइलटले हेर्ने तरिकालाई उड्डयन भाषामा भिजिबिलिटी (दृश्यांश) भनिन्छ। त्रिभुवन विमानस्थलका अनुसार आज भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा भने सामान्य दिनमा झैं उडान भइरहेका छन्। यहाँ पनि केही संख्यामा माउन्टेन फ्लाइट भएका छन्।

ती तीन विमानस्थलमा सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगम तथा निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्। ‘पहाडी भेगका सबै विमानस्थलमा एउटा पनि उडान हुन सकेको छैन,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने, ‘तराईभेगका तीनवटा बाहेक अन्यमा पनि उडान हुन सकेको छैन।’ विमानस्थलका अनुसार काठमाडौंपछि मुलुकको दोस्रो ठूलो पर्यटन गन्तव्य पोखरातर्फ पनि आज उडान हुन सकेको छैन। त्यसैगरी भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, राजविराज, भरतपुर, सुर्खेत, दाङलगायत विमानस्थलमा पनि उडान भएका छैनन्। दुर्गम भेगतर्फका लुक्ला, भोजपुर, डोल्पा, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, रारा, रामेछाप, खोटाङलगायत विमानस्थल पूर्णरूपमा बन्द छन्।

गतमा सोलुखुम्बुको लुक्लाका लागि काठमाडौंबाट उडान गर्ने गरिए पनि पछिल्लो केही समयदेखि रामेछापबाट उडान हुँदै आएको छ। तर, मौसम खराबीका कारण आज उडान भएको छैन। ‘वर्षाका कारण पर्याप्त भिजिबिलिटी नहुने समस्या त छँदैछ तर काठमाडौंबाट जहाज उडेपछि जुन गन्तव्य पुग्नुपर्ने हो त्यहाँ पुग्नुअघि बीचको भाग (इनरुट) मौसम पनि खराब भएको छ,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘यति भएपछि उडान नहुनु स्वाभाविक हो।’

विभिन्न आन्तरिक गन्तव्य पुग्न त्रिभुवन विमानस्थल पुगेको सयौं यात्रु ७० प्रतिशतहाराहारी आन्तरिक उडान रद्द भएका कारण विमानस्थलमै रोकिएका छन्। काठमाडौं आउन उतैका विमानस्थल पुगेका यात्रु पनि अड्किएका छन्। बुद्ध एयरले त्रिभुवन विमानस्थलबाट दैनिक करिब पाँच दर्जन, यती एयरलाइन्सले करिब चार दर्जन, श्री एयरलाइन्सले करिब डेढ दर्जन आन्तरिक उडान गर्दै आएका छन्। त्यसबाहेक तारा एयरले दुई दर्जनजति, सीता एयर, समिट (गोमा) एयरलगायतले पनि दर्जनहाराहारी उडान गर्दै आएका छन्। त्रिभुवन विमानस्थलबाट मौसमका कारण पछिल्लो अवधिमा दैनिक २ सयजति आन्तरिक उडान-अवतरण हुँदै आएका छन्। अन्य सामान्य अवस्थामा भने ३ सयहाराहारी आन्तरिक उडान हुने गर्छन्। -सुशील भट्टराई / नेपाल न्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।