ताजा अपडेट »

‘बर्दघाट क्षेत्रलाई लुम्बिनीका पर्यटन क्षेत्र अन्तर्गत प्राथमिकता दिनुपर्ने’

आइतबार, २० असार २०७८, ०९ : ३६
8 Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाटलाई शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल बृहत्तर लुम्विनी पर्यटन क्षेत्र अन्तर्गत प्राथमिकतामा राख्दै प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ‘लुम्बिनीको वृहत्तर पर्यटन प्रवद्र्धनमा संचारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधि एवम् पर्यटनसँग सरोकार राख्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख मायादेवी पौडेलले लुम्बिनी प्रदेश आफैंमा पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको प्रदेश भएको बताइन्। । उनले बृहत लुम्विनी पर्यटन अन्तरगत पर्यटकीय रुपमा चिनिएका र नयाँ पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै गरेका क्षेत्रलाई पनि समेट्नुपर्ने र बर्दघाट नगरपालिकाले पर्यटकिय क्षेत्रको विकासका लागि लगानी गरिरहेको बताइन्। । नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरु कञ्चनगढी, बुद्धमंगल ताल, बर्दघाट शिवालय मन्दिर, पुरानो रामजानकी मन्दि, बाउन्नघोला सिमसार क्षेत्र लगाएत थुप्रै पर्यटकिय स्थल रहेको पौडेलले जानकारी दिएकी थिइन्। संसारकोटमा भ्यूटावर, बर्दघाटमा घण्टाघर निर्माण कार्य भैरहेकोले यसको निर्माण सम्पन्न भएपछि यसले पनि पर्यटकहरुलाई आकर्षित गर्ने उनको भनाई रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बृहत लुम्बिनी पर्यटन सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै बुद्धसंग सम्बनधीत विषयको खोज तथा अध्ययन गरिरहेका युवराज कंडेलले स्थानीय स्तरमै पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुन नसके यसले बाहिरी पर्यटक आकर्षण गर्न नसक्ने बताए ।
बुद्धसँग सम्बन्धीत धार्मिक एवम् ऐतिहासिक हिसाबले जोडिएका कतिपय ठाउँहरु अहिलेको बृहत लुम्बिनी पर्यटन अन्तरगत समावेस हुन नसकेको भन्दै त्यस्ता ठाउँहरुलाई समेटेर योजना बनाउन सक्नुपर्ने कंडेलको धारणा रहेको थियो । उनले पश्चिम नवलपरासीमा रहेका रामग्राम स्तुप, पण्डितपुर लगायतका अन्य ठाउँहरुकै उचित विकास हुन नसकेको र प्रचारप्रशारमा कमी रहेको बताएकाथिए । पुरातत्व विभागको टोलीले पण्डितपुरमा उत्खनन गरेर बुद्धको मावली भएको धेरै प्रमाण जुटेको बताए पनि अहिले सम्म त्यसको प्रतिवेदन सार्वजनिक हुन नसकेको र पण्डितपुर देवदहको छाँयामा परेको कंडेलले बताए।

सहयोगी संस्था उद्योग बाणिज्य तथा उपभोक्ता हित आफ्ना भनाई रराखेका थिए । कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो । नेपाल पर्यटन पत्रकार महासंघ लुम्विनी प्रदेश समितिको आयोजना र उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रम पर्यटन पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका अध्यक्ष भुवन कार्कीको अध्यक्षता,बर्दघाट नगरपालिका उपप्रमुख मायादेवी पौडेल र बरिष्ठ उपाध्यक्ष बेनीमाधव बस्यालको संचालनमा भएको थियो ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल