ताजा अपडेट »

गुल्मी पहिरो अपडेट : हेलिकप्टरद्वारा राहत लाने तयारी, निरन्तर वर्षाले उद्धारमा कठिनाई

बुधबार, ०८ साउन २०७६, १२ : १७
6 Shares

साउन ८,
ग्लोबल आवाज
बुटवल । सोमबार राति अविरल वर्षातसँगै गुल्मीको सत्यवती गाउँपालिकाको २ वटा वडामा गएको पहिरो प्रभावित क्षेत्रका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या परेको छ । पहिरोले बढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अवरुद्ध बनेको छ । उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । राहत बोकेर हिडेका गाडीहरु शाहाघाटमै रोकिएका छन् । ठूलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् ।


विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएका छन् । वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि दुई गाउँका करिब ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । लुम्पेककै अन्य बस्ति पनि पहिरोको खतरामा रहेकाले करिब ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको हो । वडा नं ४ लिम्घामा पनि २ सय घर परिवारलाई सरस्वती माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरो गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर सुरक्षित ठाउँमा पुगेका छन् ।

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि उद्धार राहतमा समस्या देखिएकाले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । मन्त्रीहरुसँग समन्वय गरेर हेलिकप्टर मार्फत राहत पुर्याउने तयारी भइरहेको पौडेलले बताए ।
जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खानपानमा समस्या हुने तर्फ आफुहरु सचेत भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । वर्षा नरोकिएको कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए । पहिरोमा पुरिएर अहिलेसम्म दुई स्थानमा ९ जनाको सव बाहिर निकालिएको छ भने लिम्घामा ७ बर्षीय तारा विक र डेढ बर्षीय सुमन विकको सव अझै फेला परेको छैन ।

वडा नं ३ ठूलोलुम्पेकमा माया र बवि विक पहिरोमा हराइरहेको सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए । उनले रातभर पानी परिरहेकाले उद्धार गर्ने कुनै उपाय नभएको बताए । २ जना घाइते भएका छन् । मँगलबार पहिरो प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली हेलिकप्टर मार्फत राहत सहित पुगेका थिए । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डाक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेर फर्किएका हुन् । उनले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुकासाथै राहत सामाग्री हस्तातरण गरेका छन् । तत्कालको लागि केहि राहतका सामाग्री बितरण गर्न भन्दै सत्यवति गाउँपालिका उपप्रमुखलाई हस्तातरण गरेको मन्त्रीका प्रेससल्लाहाकार सुदन ज्ञवालीले बताए ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा अविरल वर्षासगैं गएको पहिरोमा परी मृत्यु भएकाहरु प्रति दुख व्यक्त गरेका छन् । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट ३ वटा सुरक्षा निकाय, रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका तथा अन्य राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् । प्रभावित क्षेत्रमा ३ सय वढि पशु चौपाएहरु मरेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । पहिरो गएका स्थानमा बाटोहरु बन्दहुनु्का साथै २ दर्जन वढि अरु सानातिना पहिरो खसेको ढकालको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।