ताजा अपडेट »

मोटर साइकलले सडक उपभोग दस्तुर तिर्नु पर्दैन

विहीबार, ०२ साउन २०७६, २१ : ३८
20 Shares

हालसम्म सम्झौता विपरित मोटरसाइकलसँग दस्तुर अशुली

साउन २,
ग्लोबल आवाज
बुटवल । सडक दस्तुर वृद्धिभएको भन्दै विरोध भएपछि अवैध रुपमा सडक दस्तुर उठाउने काम बन्द भएको छ । वृद्धि भएको दस्तुरको विरोध र सम्झौता पत्र हेर्दा हालसम्म रुपन्देहीका मोटर साइकल र स्थानीय सार्वजनिक यातायातसँग नियमविपरित अशुली गर्दै आएको पनि खुलासा भएको छ । बुटवल नारायणगढ सडक खण्ड अन्तरगत बुटवलको रामनगरमा पोष्ट राखी सम्झौता विपरित सडक दस्तुर उठाउँदै आएको सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रा. लि. काठमाण्डौले नागरिकको दबाबपछि नियमानुसार गएको हो ।

रुपन्देहीको देवदह नगरपालिका निवासी सामाजिक अभियान्ता सिद्धिचरण भट्टराईको अगुवाईमा नागरिकहरुले सडक दस्तुर वृद्धिको विरोध गर्दै निर्णय प्रतिलिपि तथा सम्झौता सावर्जनिक गर्न दवाव दिएपछि कम्पनीको कालो कर्तुत पत्ता लागेको हो । नियमानुसार, स्थानीय (रुपन्देहीका) सार्वजनिक सवारीका साधनलाई ५० प्रतिशत छुट गरीने बुँदा नम्बर १३ को १ मा लेखिएको छ भने बुँदा नम्बर १३ को २ मा जिल्लाका मोटरसाइकललाई शुल्क नलिने उल्लेख गरिएको छ ।
वृद्धि भएको नयाँ सडक दस्तुरमा मोटर साइकलका लागि रु १० रुपैयाँ, जिप, कार भ्यान र ट्रयाक्टरका लागि ६० रुपैयाँ तथा ठूला सवारीका साधन र ढुवानीका साधनका लागि १ सय २० रुपैयाँ शुल्क निर्धाराण गरिएको छ ।

हालै कम्पनीले लिँदैआएको शुल्कमा दोब्बर वृद्धि गरेपछि सो क्षेत्रमा सवार हुने यातायात व्यवसायी तथा निजी सवारीधनीहरु (मोटरसाइकल जीप, कार भ्यान) बीच बहस नै भएको थियो । विरोध स्वरुप स्थानीय तथा सरोकारवालाहरुले चर्को आवाज उठाएपछि कम्पनी, प्रशासन र सरोकारवालाहरु बीच विहिबार भएको छलफलमा नियमानुसार मात्रै शुल्क लिने सहमती भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।