ताजा अपडेट »

मूर्ति तोड्दैमा हाम्रो धार्मिक सहिष्णुता खलल हुँदैन:मन्त्री बास्कोटा

विहीबार, ०२ साउन २०७६, १८ : १२
6 Shares

साउन २,
बुटवल । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन् । छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनको भनाई छ ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्काटाले एक ठाउँमा बुद्धको मूर्ति तोडफोड हुँदैमा धार्मिक सहिष्णुतामा खलल नपुग्ने पनि दाबी गरे । ‘यसलाई अहिले नै धार्मिक सहिष्णुतासँग जोडेर प्रश्न उठाउन आवश्यक छैन’, उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक तथा १० वटा भन्दा बढी धर्म सम्प्रदाय नेपालमा छन् । तिनका हजारौं, चैत्य गुठी, मठमन्दिर छन् । त्यो एउटा घटनालाई लिएर त्यो कमजोर कडीमा हाम्रो सहिष्णुता खलल हुन्छ भन्ने ठान्नु हुँदैन । त्यो सम्भव छैन।’

अपराध कसले किन गर्यो भन्ने केही समयपछि खुल्दै जाने भन्दै मन्त्री बाँस्कोटाले थपे, ‘बद्मासी कसले किन गरेको भन्नेबारे सम्बन्धित निकायले छानविन गरिरहेको छ ।’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका बुद्धको मूर्तिहरु तोडफोड गरेको घटनाप्रति यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ध्यानाकर्षण जनाउँदै धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा घटना घटाइएको टिप्पणी गरेको थियो। साथै घटनाको छानविन गरी दोषीलाई यथाशिघ्र कानुनी कारवाही पनि माग गरेको छ ।


यसैबीच रुपन्देहीका विभिन्न संघ संस्थाहरुले पनि घटनाको निन्दा गरेका छन् । तिलोत्तमा नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको भ्रत्सना गरेको छ । विहिबार आकस्मिक रुपमा बसेको नगर बैठकले विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा घटना गराइएको ठहर गरेको छ । पहिलो चरणमा योगिकुटीबाट शंकरपुरसम्म २२ वटा मुर्ति राखिएकोमा यो वर्ष नगरपालिकाको सिक्सलेन अन्तिम बिन्दु कोटिहवासम्म बुद्धमुर्ति राख्ने हामीहरुको योजना छ । नवीन सोंच र पवित्र उद्देश्यका साथ सुरु गरिएको यो कार्यमा सबैको साथ–समर्थन प्राप्त भैरहँदा उत्साहित भएका हामीहरु एक्कासी गराइएको यो घटनाबाट निकै स्तब्ध भएका छौं– विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा लेखिएको छ–सार्वजनिक सम्पत्तिलाई हानी–नोक्सानी पुर्याउने, समाजमा डर–त्रास उत्पन्न गराउने, कानुन हातमा लिने, अवाञ्छित क्रियाकलाप गर्न उक्साउने अराजक प्रवृत्तिका विरुद्ध आमनगरबासी महानुभावहरुलाई सधैं सचेत रहन आह्वान गर्दछौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।