ताजा अपडेट »

२० वर्षमा पनि ग्राभेल भएन बाटो, पहिरो हटाउन गाउँले जुटे

विहीबार, ०२ साउन २०७६, १७ : २१
6 Shares

साउन २,
ग्लोबल आवाज
बुटवल । लगातार वर्षाका कारण बाटो हिलाम्य र ठाउँ–ठाउँमा पहिरो झरेपछि पाल्पाको तिनाउ गाउँपालिका–वडा नम्बर १ का स्थानिय बाटो सफाइमा जुटेका छन् । महेन्द्र राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिका –१ रानीबगीयादेखि ९ किलोमिटर उत्तरमा पर्ने झिंगामारा तथा सो ठाउँबाट ठूली उदाङ जोड्ने ६ किलोमिटर कच्ची सडकमा पहिरोका कारण बाटो अवरुद्ध भएपछि स्थानीयहरुले श्रमदान तथा आर्थिक संकलन गरी मोटरबाटो सफाइमा लागेका हुन् ।


श्रमदान तथा स्थानीयबासिन्दाबाट उठाइएको २ लाख बढी आर्थिक रकमबाट बाटो सफाइको काम गरिएको हो । पैदल हिड्न समेत समस्या हुने गरी बाटो हिलाम्य भएको तथा २ दर्जनबढी ठाउँमा पहिरोले बाटो पुरीएपछि स्थानीयकै सक्रियतामा बाटो सफाई गर्न लागिएको वडा नम्बर १ का सदस्य अम्मर बहादुर तरामुले बताए । मोटरबाटो खोलिएको २० वर्ष पुगिसक्दा पनि ग्राभेलसम्म हुन नसक्दा वर्षेनी यहाँका जनताले सास्ती खेप्नुपरेको उनले बताए । हिउँदको समयमा धुलाम्य र बर्खाको समयमा पहिरो खस्ने तथा बाटो हिलाम्य हुँदा २ सय बढी घर परिवार प्रभावित हुने गरेका छन् ।

गत आर्थिक वर्षमा प्रदेश सरकारबाट रानीबगीया झिंगामारा मोटरबाटोका लागि ४० लाख रुपैया विनियोजन गरिएको भएपनि विभिन्न कारण देखाउँदै २० लाख रुपैयाँको मात्रै टेन्डर आह्वान गरी मर्मतको काम गरिएको थियो । ठेकेदारद्वारा मर्मतको काम गरिएको भएपनि सरकारी निकायबाट प्रभावकारी अनुगमन नहुँदा काम गुणस्तरीय नभएको स्थानीयहरु बताउँछन् । बाटो मर्मतको काम गुणस्तरीय नहुँदा विगतका वर्षहरुमा भन्दा यो वर्ष बढी पहिरो खस्ने तथा बाटो हिलाम्य भएको उनीहरुको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।