ताजा अपडेट »

श्रावण : हरियो चुरा,पहेँलो पोते र मेहन्दी

विहीबार, ०२ साउन २०७६, १२ : १८
2 Shares

साउन २ ,

काठमाडौंँ । साउन लागेपछि हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको छ । यो संस्कृतिले नेपाली किशोरी, युवती हुन् या वयस्क; सबै उमेर समूहलाई छोएको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्मसंस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी र चुरा अचेल सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ । साउन लाग्नेबित्तिकै रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गरेको पाइन्छ । न्युरोडमा मेहन्दी लगाउँदै गर्नुभएका समिता बाँस्तोला भन्नुहुन्छ, “हरेक संस्कृतिमा महिला सौन्दर्यको कुरा गरिएको पाइन्छ । यो सौन्दर्य कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो । ”


“म पनि सुन्दर हुन नै हरियो चुरा र मेहन्दीमा सजिएकी हुँ । यो सबै मैले मेरो श्रीमान्को आयु वृद्धिका लागि गरेको हुँ”, उहाँ थप्नुहुन्छ, “अहिले मेरो श्रीमान् विदेशमा हुनुहुन्छ । उहाँको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै व्रत पनि बसेको छु । ” बाँस्तोला अहिले युवतीमा यस्तो फेसनको रूपमा विकास भएको बताउनुहुन्छ । यसलाई संस्कृतिको रूपमा लग्न सकेको खण्डमा राम्रो हुने पनि उहाँको भनाइ छ । यस्तै इन्द्रचोकमा हरियो चुरा खरिद गरिरहनुभएका सजना श्रेष्ठलाई पनि साउनको फेसनले छोएको छ । उहाँले थप्नुभयो, “सबै महिला दिदीबहिनीका हातमा चुरा र मेहन्दी सजिएको छ । आफ्नो हातमा नहुँदा खल्लो हुन्छ । ”


हरेक वर्ष आफ्ना साथी तथा आफन्तलाई चुरा दिनुहुने श्रेष्ठ साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेको बताउनुहुन्छ । उहाँले पनि आफ्ना प्रेमीका लागि चुरा र मेहन्दी लगाएको बताउनुभयो । यो समय किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउने ‘लोकप्रिय संस्कृति’का रूपमा परिचित भएको छ । पहिले गाउँघरमा मेहन्दी पाइँदैनथ्यो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । अचेल तिउरेको ठाउँ मेहन्दीले लिएको छ । मेहन्दी र चुरापोतेको काम गर्ने व्यवसायीलाई भ्याइनभ्याइ छ ।


यो संस्कृतिमा हत्केलामा लगाएको मेहन्दीको रङ गाढा बसेमा औधी माया गर्ने भावी पति पाइन्छ भन्ने विश्वास पनि गरिन्छ । अन्य किशोरीझैँ हरियो चुरा र मेहन्दीमा सजिनुभएकी इपिसा कँडेलको पनि यस्तै विश्वास छ । “आमा दिदीहरूले पनि त्यसै भन्दै आएका छन्”, उहाँले थप्नुभयो, “आफ्नो हातमा लगाएको मेहेन्दी निकै गाढा लागेकाले होला, भविष्यमा माया गर्ने पति पाउँछु भन्ने विश्वास मनमा पलाएको छ । ” उहाँले आफ्नो नाडीमा दुई दर्जन हरिया काँचका चुरा पनि सजाउनुभएको छ । उहाँले बितेका पाँच वर्षदेखि साउन महिनामा नियमित हरियो काँचका चुरा र मेहन्दी लगाउँदै आएको बताउनुभयो । - यलु जोशी /गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।