ताजा अपडेट »

उद्योग नविकरण सुचारु गर्न रुपन्देही उद्योग संघको माग

बुधबार, ०९ असार २०७८, १५ : ५२

बुटवल । लामो समयको कोभिडको प्रभाव र विभिन्न कारण नविकरण रोकिएका रोकिएका उद्योगहरुलाई तत्काल नविकरण गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै रुपन्देही उद्योग संघले लुम्बिनी प्रदेशका उ्रद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

उद्योग नविकरण गर्न नपाउँदा उद्योगीहरुले बैंक कर्जा नविकरण, सिफारिस, उत्पादन वितरण लगायतका विभिन्न खालका समस्याहरु झेल्नु परेको र उद्योगहरु संचालनमा समेत कठिनाई श्रृजना भएको भन्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको पदाधिकारी टोलीले ज्ञापन पत्र बुझाएको हो ।

संघले विगत लामो समयदेखि उद्योग नविकरण सुचारु गर्न पटकपटक आग्रह गर्दा समेत मागको सम्वोधन हुन नसक्दा उद्योगीहरु निराश बनेको बताउँदै तत्काल उद्योग नविरण गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको हो । सोही क्रममा अध्यक्ष बोहोराले हाल उद्योग क्षेत्रका गतिविधिहरु सम्बन्धमा समेत जानकारी गराएका थिए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री कल्पना पाण्डेले उद्योगहरु नविकरण गर्न पाउने गरी कानूनी व्यवस्था मिलाउन प्रदेश सरकारले ऐन संशोधन गर्ने तयारीमा रहेको र उद्योगहरुको माग जायज भएका कारण तत्काल सम्बोधन हुने गरी कानूनी व्यवस्था मिलाउन गम्भिर रुपमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरिन । उनले प्रदेशको औद्योगिक विकास, उत्पादन वृद्धि, रोजगारी श्रृजना र स्वरोजगारी अभिवृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने समेत बताईन् ।

डेलिगेसन टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।