ताजा अपडेट »

नमोबुद्धका कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण

बुधबार, ०९ असार २०७८, १२ : २१
6 Shares

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताए । चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले ५६ वटा मौरीसहितको घार हस्तान्तरण गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण गरिएको बताए । आगामी वर्ष पनि सो कार्यलाई निरन्तरता दिने उनले बताए । उनले यसै वर्षदेखि अनुदानमा भैँसी तथा बाख्रा वितरण अभियानको शुरुआत गरिसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने बताए ।

कार्यक्रममा वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले नमोबुद्ध नगरलाई अग्र्यानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको उल्लेख गर्र्दै त्यसमा कृषकको साथ र सहयोग आवश्यक रहेको बताए । कृषिमा नै आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीको घार वितरण थालिएको उनको भनाइ छ ।

कृषक रामप्रसाद घिमरेले नगरपालिकाले मौरीको घारसहित तालिमसमेत दिएर व्यवस्थित एवं व्यावसायिकरूपमा मौरीपालन अघि बढाउन हौसला मिलेको बताए । नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ । त्यसरी वितरण गरेको कृषकले पालन गरेको मौरीबाट उत्पादन भएको महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने योजना तय भएको जनाएको छ ।

नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १५५ वडा भैँसीको पाडी वितरण गरिसकेको । चालु आवमा नै बाख्रा वितरण गर्ने तयारीमा नगरपालिका रहेको छ । त्यससँगै किसानलाई कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर), ५० प्रतिशत अनुदानमा मिनीटिलर, इलेक्ट्रिक पम्प र फलफूलको बिरुवा वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस