ताजा अपडेट »

रुखमाथि बनेको घरमा प्रतिबन्ध

बुधबार, ०९ असार २०७८, ११ : २४
6 Shares

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । कोरोना कहर र निषेधाज्ञाको बीचमा पनि आकर्षणस्थल बनेको यस ठाउँमा केही समयका लागि सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको हो ।

सर्वसाधारणको भीड बढेपछि प्रहरीले त्यहाँ पुगेका सर्वसाधारणलाई फिर्ता पठाएको छ । केही समयका लागि सर्वसाधारणको आगमन रोक्न प्रहरीले समितिलाई अनुरोध गरेको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जनकारी दिए । “दैनिक रुपमा सर्वसाधारणको आगमन बढेपछि केही समयका लागि बन्द गर्न प्रहरीबाट अनुरोध आएको छ, त्यहाँ थप केही काम पनि बाँकी रहेकाले दश÷१५ दिन प्रवेश निषेध गरेका हौ,” उनले भने । हरियाली उद्यान सहित निर्माण गरिएको घरमा भर्याङ हाल्ने बाँकी छ । साथै उद्यानमा रेलिङको काम पनि बाँकी छ ।

रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रुखमाथि घर बनाईको छ । उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

डिभिजन वन कार्यालय तनहुँमार्फत् गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।
जिपीका चार कर्मचारीको करार सम्झौता रद्द

पिसिआर परीक्षण गर्ने भनी सर्वसाधारणसँग रकम उठाएपछि निलम्बन परेका चार कर्मचारीको करार सम्झौता रद्द गरिएको छ । शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीसँगको करार सम्झौता रद्द गरेको हो । फार्मेसिष्ट सुधन पन्त, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठलाई असार ७ को निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतका सुविधा नपाउने गरी करार सम्झौता रद्द गरिएको निमित्त कार्यकारी निर्देशक डा . रामकुमार श्रेष्ठले जानकारी दिए ।

एन्टिजेनको परीक्षण बढाइँदै

शहरी भन्दा ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि स्वास्थ्य कार्यालय तनहुँले एन्टिजेनको परीक्षण बढाएको छ । ग्रामीण भेगमा सङ्क्रमण जोखिम बढेपछि कार्यालयले एन्टिजेनको परीक्षण बढाएको हो । स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहलाई एन्टिजेन किट उपलब्ध गराउँदै आएको छ । कार्यालयमा पर्याप्त मात्रामा किट रहेकाले स्थानीय तहले मागेजति किट उपलब्ध गराइने कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “पिसिआर रिपोर्ट आउन ढिलाई हुने र एन्टिजेन पनि पिसिआर सरह नै भएकाले यसको दायरा बढाएका छौ”, उनले भने, “एन्टिजेनबाट १५/२० मिनेटमै नतिजा आउँछ ।”

नौ दिनको अवधिमा जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो छ । पछिल्लो नौ दिनको अवधिमा मात्रै जिल्लाभर चार सय ६० सङ्क्रमित थपिएका छन् । ग्रामीण भेगमा स्वास्थ्य मापदण्ड बिना हुने भोजभतेर, चियापसलका जमघट लगायतका कारण सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको स्वास्थ्यकर्मी बताउँछन् । दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट जिल्लामा ७७ जनाको मृत्यु भएको छ । गत वर्षको पहिलो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको थियो । यस अवधिमा व्यासका १७, भिमादका १२, भानुका छ, म्याग्देका चार, घिरिङका तीन, देवघाटका एक र आँबुखैरेनीका एक जनाको मृत्यु भएको छ ।

रासस
लेखकको बारेमा
रासस