ताजा अपडेट »

मर्यादा पुरुषोत्तम

मंगलबार, ०८ असार २०७८, १७ : ४२
44 Shares

वैशाख ०८, २०७८ मा फेसबुकमा यस्तो पढ्नुपर्यो–
दीपक विश्वकर्मा– ‘तपस्यारत शम्बुकको शिरोच्छेदन गर्या भएर रामलाई मर्यादा पुरुषोत्तम भनियो रैच ।’
रिसानी माफ पाम् ।
प्रतिक्रिया :
१. कमला हेमचुरी– ‘होत सर ! उनले आप्mनो समाजको धर्मलाई कायम राखेको हुनाले मर्यादा पुरुषोत्तम भनिएको हो ।’
२. टिप्पणीकारको शुभ नाम टिप्न बिर्सिएको रहेछु ‘लिंग विभेद, जातीय विभेदलाई संरक्षण गर्नु उनको धर्म हो ।’
३. त्रिलोक रामदाम– ‘सीताहरणको दोषबाट अपमानित भएको र दोषबाट उन्मुक्तिका लागि शम्बुकको शिरोच्छेदन गरिएको हो । त्यसको श्रेयबापत ब्राह्मणवादीहरुले ‘पुरुषोत्तम’को सम्मान दिएका हुन् चेतना भया ।’
५. अमृता गौतम– ‘अभिषाप ।’

दीपक भाइले रामबारे यस्तो लेखेपछि अन्य मित्रहरुले टिप्पणी गर्नुभयो । म यत्तिका दिनसम्म एक्शनको रिएक्शन आउने प्रतीक्षामा बसें । बुटवला राम–मन्दिर छ । त्यहाँ वाल्मीकि रामायण पढेका पुजारी पनि हुनुहोला । यतैतिर विश्व हिन्दू महासंघ पनि छ । यस महासंघका पदाधिकारीहरुले पनि रामायण पढ्नुभएकै होला । बुटवलमा अनेक–अनेक शास्त्री उपाध्याय र आचार्यहरु पनि हुनुहुन्छ । उहाँहरुले पनि संस्कृत साहित्य पढ्नुभएकै होला । बुटवलमा संस्कृत भट्याउने कमाउनिष्ठ कर्मकाण्डी पण्डितजीहरु पनि हुनुहुन्छ, झगडा गरेजस्तै भजन गाउने भजनियाहरु पनि हुनुहुन्छ । तर, उहाँहरुमध्ये कोही पनि बोल्नुभएन, कसैले पनि लेखेन ।

कुटुम्बी दीपक विश्वकर्माले रामबारे लेखेको देखेर उहाँका चेला–चपाटीहरुले पनि उहाँलाई फुर्काउने खाले टिप्पणी लेख्नुभयो जसका लागि यो अलि–अलि लेखपढ गर्न जान्ने लाहुरे दीपकजी लगायत सबैलाई (धन्यवाद दिन चाहन्छु होइन) नगद धन्यवाद टक्राउँदछु । प्रजातन्त्रभन्दा पनि राम्रो मानिने यस लोकतन्त्रमा जसरी पनि बोल्ने अधिकार छ । मित्रहरुले आफ्नो कुरा आफ्नो भाषामा राख्नुभयो । मन लागे अब मेरा कुरा पनि पढौं–

अचेल प्रचलनमा रहेको बाल्मीकी रामायणको सातौं काण्ड, ‘उत्तराकाण्ड’ मा शम्बुकको कथा छ जो वाल्मीकिले लेखेकै थिएनन् । मूल वाल्मीकि रामायण जम्मा पाँच काण्डमा रचिएको थियो । यस रामायणको अन्तिम काण्ड, युद्धकाण्डको सर्ग १२८ को शीर्षक यसतो छ– ‘भरतका श्रीरामको राज्य लौटाना, श्रीरामको नगरयात्रा, राज्याभिषेक, वानरोंजी विदाई तथा ग्रन्थका माहात्म्य ।’ ग्रन्थको माहात्म्य भनेको समापन वा पुष्पिका हो जहाँ लेखिएको छ–‘श्रीरामको राज्य–शासनकालमा विधवाहरुको विलाप कहिल्यै सुनिँदैनथ्यो ।। श्लोक ९८।। सम्पूर्ण जगतमा चोर–लुटेराहरुको नाम पनि सुनिंदैनथ्यो । कुनैपनि मानिस अनर्थकारी काममा लाग्दैनथ्यो र बूढाहरुले बालकहरुको अंन्येष्टि संस्कार गर्नुपर्दैनथ्यो ।।९९।।’

‘यो ऋषिपोक्त आदिकाव्य रामायण हो,जसलाई पूर्वकालमा महर्षी बाल्मीकीले बनाएका थिए ।।१०७।। अनि यस सर्गको श्लोक १२५ को अर्थ यस्तो छस्

‘यो काव्य आयु, आरोग्य, यश तथा भ्राह्प्रेमवर्धक हो । यो उत्तम बुद्धिप्रदाता र मंगलकारी हो । अतः समृद्धिकामी सज्जनले यो उत्साहवर्धक इतिहासलाई नियमपूर्वक सुन्नुपर्छ । वाल्मीकी रामायणमा यी सबै कुरा पढेर नै भारतका राष्ट्रकवि रामधारी सिंह ‘दिनकर’ले पनि आप्mनो विश्व विश्रुत कृति ‘संस्कृति के चार अध्याय’को पृष्ठ १०३ मा मानेका थिए कि वाल्मीकीले आदि रामायण केवल अयोध्याकाण्डदेखि युद्धकाण्डसम्म नै लेखेका थिए । बालकाण्ड र उत्तराकाण्ड पछिका कविहरुले मिसाएका हुन् ।

एक्काइसौं शदीको आरम्भताका इलाहाबाद (प्रयागराज)का मनीषी, आचार्य जयशंकर त्रिपाठीले ‘संस्कृत साहित्य–रचनाका इतिहास’ लेख्नुभएको थियो । यस पुस्तकको पृष्ठ ८६मा यस्तो बताइएको छ–
‘उत्तरकाण्ड के कथा–प्रबन्ध में महर्षि वाल्मीकिका लिखा कुछ भी नहीं है, एक श्लोक भी नहीं ।’ विरोधका लागि विरोध गर्ने कतिपय मित्रहरुले भन्नुहोला कि यी त ढाकछोप गर्ने हिन्दूहरुका लेखाइ हुन् । त्यस्ता शंकालु मित्रहरुका लागि यो पस्किएँ–

“शम्बुक की कथा काल्पनिक है ।”
यो ठम्याइ हो ख्यातनाम बौद्ध विद्धान् धर्मानन्द कोसम्बीको, उहाँको पुस्तक–‘भगवान बुद्धः जीवन और दर्शन’को पृष्ठ ५८मा । हेक्का रहोस् कि ‘वैदिकी हिंसा, हिंसा न भवति’को विरोधमा नै बौद्धधर्मको जन्म भएको थियो । तर, घोत्ल्याहाहरुले यहाँ पनि भन्न सक्नुहुन्छ कि बुद्धका पुर्खा रामप्रति बौद्धहरुको हृदयमा सप्mट कर्नर त हुन्छ नै । ठीक ! उहाँहरुको यो कुरा पनि मानौं तर, भेरी बिग् बट् (खभचथ दष्न दगत)

क्रिस्तान धर्मपुराण त हिन्दूप्रेमी होइनन् नि ! भारतका उपन्यास सम्राट मुंशी प्रेमचन्दका सुपुत्र हुनुहुन्छ अमृतराय । उहाँले ‘रामकथा’ नामक पुस्तकको ब्याक कवरमा बताउनुभएको छ:
‘…हिन्दुस्तानमा र यस हिन्दी देहमा वाल्मीकीलाई तपाईंहरुले छाडिदिए पनि गोस्वामी तुलसीदास र उहाँको मानस (रामचरितमानस) र भगवान रामचन्द्रको नाम जप्ने मानिस कति असंख्य छन् तर रामकथाको सांगोपांग अध्ययन गर्नका लागि सात समुन्द्रपरिको बेल्जियमबाट एकजना क्याथोलिक मिशनरीलाई आउनुप¥यो । जस्तो परिश्रम र अध्यवसायका साथ फादर बुल्केले रामकथाउपर यो शोध गर्नुभएको छ त्यो सबैको वशको कुरा होइन । उहाँको ग्रन्थ हिन्दीको गौरव हो ।’

फादर कामिल बुल्के (Camifll\e Bulke)ले ‘रामकथा’ नामक शोध–प्रबन्ध डी. फिल. का लागि लेख्नुभएको थियो । यस पुस्तकको पृष्ठ ९५ मा यस्तो बताइएको छ–

‘रामायण प्रायः सबै समालोचक उत्तरकाण्डलाई प्रक्षिप्त मान्दछन् र यसका लागि विभिन्न तर्क प्रस्तुत गर्दछन् । सबैभन्दा महत्वपूर्ण प्रमाण यस प्रकार छन्:
‘बाल्मीकीकृत रामायणका तीन प्रचलित पाठहरुको तुलना गर्दा प्रष्ट हुन्छ कि उत्तरकाण्डको रचना अन्य काण्डहरुभन्दा पछि भएको थियो ।’
‘युद्धकाण्डको अन्त्यमा जे फलश्रुति पाइन्छ, त्यसबाट यो प्रमाणित हुन्छ कि यसका रचनाकालसम्म रामायणको परिसमाप्ति यहीं मानिन्थ्यो ।’
‘बालकाण्डको प्रथम सर्गमा एउटा अनुक्रमणिका पाइन्छ जसमा केवल अयोध्याकाण्डदेखि युद्धकाण्डसम्मका विषयहरुको उल्लेख गरिएको छ …।’

यतिका कुरा पढिसकेपछि पूर्वाग्रहग्रस्त मनोरोगीहरु बहेक अरुले मान्नुहोला कि बाल्मीकी रामायणमा पछि जोडिएको शम्बूकबधको कथा काल्पनिक हो । तथाकथित शूद्र शम्बूकको कथा, वाल्मीकि रामायणमा किन जोडियो भन्ने कुरा जान्नका लागि लाहुरेको ‘इति ह आस’ (अर्थात् यस्तो भएको थियो) नामक पुस्तक पढ्नुपर्ला छापिएपछि ।

मर्यादा पुरुषोत्तमबारे केही कुरा–
राम युवराज पदमा अभिषिक्त हुने कुरा सुनेर विमाता कैकेयीले तिनलाई चौध वर्ष वनवास गराउने षडयन्त्र गरिन् । पिता दुखी थिए । तब रामले कैकेयीसँग भनेका थिए–‘यद्यपि पिताले स्वयं नभनेको भए तापनि म तपाईंको चाहनाअनुसार नै चौध वर्षसम्म यस भूतलको निर्जन वनमा निवास गर्नेछु ।। (अयोध्याकाण्ड, सर्ग १९, श्लोक २३)।। कैकेयी ! तपाईंको ममाथि पूरा अधिकार छ । म तपाईंको प्रत्येक आज्ञाको पालन गर्न सक्छु । तैपनि तपाईंले वन जाने कुरा स्वयम् नभनी पितालाई किन कष्ट दिनुभयो ।।२४।।’

…महातेजस्वी राम, त्यस बखत अचेत भएका पिता दशरथ र अनार्या कैकेयीको पनि चरणमा प्रणाम गरेर त्यस भवनबाट निस्किए ।।२८।।

अनि सर्ग ३२, श्लोक ३० मा रामले भनेका थिए–

‘लक्ष्मण ! मेरो राज्याभिषेकमा जो विघ्न आएको छ त्यसको कारण सानी आमा हुन् भन्ने कुरा सोँच्नु हुँदैन किनभने तिनी दैवको अधीन थिइन् ।’ युवराजपदको साटो वनवास दिने पिता र विमाताका चरणमा प्रणाम !

सनातन संस्कृतिका अनुगामी रामले ‘मातृदेवो भव, पितृदेवो भव’ को मर्म अनुसार नै व्यवहार देखाएका थिए । यसै कारण म रामलाई मर्यादा पुरुषोत्तम मान्दछु । वनतिर लागेका राम, एक दिन पुगे श्रृगवेरपुर । त्यहाँका राजा थिए, निषादहरुका राजा गुह ।

निषाद जाति, वर्ण व्यवस्था बाहिरको जाति हो, अर्थात् महाशूद्र वा अचेलको भाषामा महादलित, बिहारका पूर्व मुख्यमंत्री जीवनराम माझी जस्तै ।

राम र गुहबारे वाल्मीकि रामायण, अयोध्याकाण्ड, सर्ग ४९ मा यसो भनिएको छ–
”श्रृंगवेरपुरमा गुह नामक राजा राज गर्दथे । तिनी रामका प्राणप्रिय मित्र थिए । तिनले रामलाई छातीमा टाँसेर भने– ‘हे राम ! तपाईंका लागि जसरी अयोध्याको राज्य छ, त्यसैगरी यो राज्य पनि हो । भन्नुहोस् ! म के सेवा गरुँ ? तपाईजस्ता प्रिय अतिथि कसलाई सुलभ होला ?’
‘…त्यसपछि रामले आप्mना बाटुला बाहुले गुहलाई आप्mनो आलिंगनमा कस्दै भने–‘सौभाग्यवश म आजै तपाईंलाई आप्mना बन्धुबान्धवहरुका साथ स्वस्थ र सानन्द देख्दै छु । तपाईंको राज्यमा सब सकुशल त छन् ?’

यहाँ क्षत्रिय राजकुमारले तथाकथित महादलितलाई अंकमाल गरेका छन् । रामका लागि कोही अस्पृश्य छैन । यसैकारण मेरा लेखा राम मर्यादा पुरुषोत्तम हुन् ।

सीतालाई रावणले हरण गरेर लैजान लागेको देखेर अनार्य (वनवासी) जटायुले विरोध गरे, त्योसँग लडे । लड्दा–लड्दै दुवै हात काटिएपछि तिनी ढले । राम–लक्ष्मणले तिनलाई भेटाए । जटायुले सीता–हरणको कुरा बताए र सदाका लागि शान्त भए । त्यसपछि रामले भने–‘जसरी महायशस्वी राजा दशरथ मेरा लेखा माननीय र पूजनीय हुनुहुन्थ्यो, त्यस्तै गरी जटायु पनि हुनुहुन्छ ।’ (अरण्यकाण्ड, सर्ग ६८, श्लोक २६) ।

रामका लागि आर्य–अनार्य, सब बराबर थिए । यसैकारण म तिनलाई मर्यादा पुरुषोत्तम मान्दछ । पम्पा सरोवर तटमा तपस्विनी शबरीको आश्रम थियो । वरिपरि लटरम्म फलेका फलवृक्ष थिए । राम–लक्ष्मण त्यहाँ पुग्दा शबरीले तिनीहरुको स्वागत अघ्र्य, पाद्य, आचमनीम आदिले गरिन् । (अरण्यकाण्ड, सर्ग ७, श्लोक ७) । ऐतरेय व्राह्मणमा शबर जातिबारे बताइएको छ । तिनीहरु चण्डाल (महाशूद्र)मा परिगणित हुन्छन् । त्यस जातिको शबरीले दिएको फल र पानी खाएकै कारण म रामलाई मर्यादा पुरुषोत्तम मान्दछु । रामले शबरीलाई सादर ‘तपोधने’ भनेका थिए ।

अन्ततोगत्वा राम–रामण युद्ध भयो । रावण मारिए । तब रामले विभिषणसँग यसो भनेका थिए–“विभीषण ! शत्रुता जीवनकालसम्म नै रहन्छ । मरेपछि त्यस वैरको अन्त्य हुन्छ । अब मेरो प्रयोजन सिद्ध भइसक्यो । यसकारण अब तपाईंले यिनको अन्तिम संस्कार गर्नुहोस । यस बखत यिनी जसरी तपाईंको स्नेहका पात्र हुन्, त्यस्तै गरी मेरा पनि स्नेहभाजन हुन् ।” (युद्धकाण्ड, सर्ग १०९, श्लोक २५) ।

छ कहीं यस्तो अर्को निसाल ?
यसकारण म रामलाई मर्यादा पुरुषोत्तम मान्दछु ।
‘दिनकर’ कृत ‘संस्कृति के चार अध्याय’ को पृष्ठ ९१ म यस्तो छापिएको छ–
‘नेयं स्वर्णपुरी लंका रोचते मन लक्ष्मणः ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।’

(बाल्मीकी रामायण)
त्यहाँ यस्तो श्लोक देखेपछि मैले गीताप्रेसवाला वाल्मीकि रामायणमा खोज्ने प्रयास गरें । मेरा कमजोर आँखाले भेटाएनन् । तर, एलिजा कुकको कविता ‘ट्राइ अगेन्’ मा स्कोट्लैण्डका राजा राबर्ट ब्रूस र माकुराको कहानी पढेको म लाहुरेको मन भने मानेन । के गरुँ–के गरुँ भइरहेको समयमा मैले झल्याँस्स सम्भेंm पंचायतकालमा बारम्बार सुनिने श्लोकको यो गद्यांश–

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।”
यस वाक्यलाई त पंचायतकालमा नेपालको आदर्श वाक्य (मोटो) मानिने रहेछ र यस श्लोकको पूर्वाध रहेछ–
“अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।”
यसरी नेपालको पूरा राष्ट्रीय वाक्य रहेछ–
“अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।”
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।”
“सुनको लंका पनि मन पर्दैन, लक्ष्मण” भन्ने को होलान् त ?

रावण–विजयी रामबाहेक अरु को ? तिनले–‘परद्रव्येषु लोष्ठवत्” (अर्काको धन मेरालेखा माटो बराबर) मानेर त यसो भनेका थिए । धनका लागि आप्mनो छोरालाई पनि काट्न तयार हुने युगमा रामलाई सुनको लंका पनि मन परेन किन भने त्यो अर्काको सम्पत्ति थियो । जितेको सम्पत्तिलाई त्यसरी मर्यादा पुरुषोत्तम रामले नै त्याग्न सक्छन् ।

मेरा हितैषी मित्र प्राज्ञ विष्णु प्रभातले फेसबुकमा सोध्नुभएको थियो– ‘कहाँ भने ?
रामको यो भनाई–‘हिन्दी प्रचार प्रेस, मद्रास सन् १९३० मा छापेको रामायणमा विद्यमान् छ ।

यति लेखिसकेपछि मेरो छट–पटाहट अलि कम भयो । आस्थाको कुरा हो मित्रहरु । प्रजातन्त्रभन्दा पनि राम्रो यस लोकतन्त्रमा जसले जे भने पनि मलाई आपत्ति छैन । इतिहासले हत्यारा भनिसकेका व्यक्तिहरुलाई पनि कतिपय महानुभाव हत्यारा मान्दैनन्, रुसी लेखक एलेक्जाण्डर सोल्झेनित्सिनको किताब ‘गूलग आर्किपेलागो’ मा वर्णित हत्याराहरु पनि हत्यारा होइनन् तर, राम भने हत्यारा ?

अनि अमृता गौतमले रामलाई नै ‘अभिषाप’ भन्नुभएको हो किनभने वषौंसम्म नजरबन्दी (हाउस अरेस्ट) मा परेकी उहाँकै पुर्खिनी अहल्या गौतमीको उद्धार रामले जो गरेका थिए ! कक्षा आठमा मलाई संस्कृत पढाउने गुरुले गुन मान्ने र नमान्ने वा बिर्सने (अह्मानमन्द र अहसान फरामोश) व्यक्तिका लागि दुई शब्द, यथाकृतज्ञ र कृतघ्न बताउनुभएको थियो । ती त अक्षर ब्रह्म हुन् । अस्तु ।
भवतु सर्व मंगलम् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।